२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बल्झियो ‘फोरलेन’ सडक

सुर्खेत — वीरेन्द्रनगर नगरपालिकाको ‘सुस्तता’ ले फोरलेन सडक निर्माणकार्य बल्झिएको छ  । नगरपालिकाले मंगलगढीदेखि लाटीकोइलीसम्मको ढल निर्माण नगर्दा मंगलगढी खण्डको काम अलपत्र अवस्थामा छ  ।

बल्झियो ‘फोरलेन’ सडक

ठेकेदार कम्पनीले २०७३ साउनदेखि फोरलेन सडकअन्तर्गत दोस्रो प्याकेजको काम सुरु गरेको थियो । तर, मंगलगढी खण्डमा आइपुग्दा काम रोकियो । ढल निकास नगरी सडक बनाउँदा तल्लो बस्ती (लाटीकोइली) डुबानमा पर्ने भन्दै त्यहाँका स्थानीयले अवरोध गरेपछि निर्माण कम्पनीले काम अघि बढाउन सकेको छैन ।

लाटीकोइली क्षेत्र (वडा नं. ९) का वडाध्यक्ष सुरेश मानन्धर ढल र फोरलेन सडक सँगसँगै बनाउनुपर्ने बताउँछन् । ‘फोरलेन सडकको यस्तो बिजोग हुनु राम्रो होइन, तर ढल निकास नगरी सडक बनाउँदा बजारको ढलले लाटीकोइली पूरै डुब्छ,’ उनले भने, ‘त्यसैले हामीले ढल निकासको काम सुरु गरेर मात्र सडक बनाउन भनेका हौं ।’

फोरलेन निर्माणको सुरुआतीमै स्थानीयले यो समस्या उठाएका थिए । तर, ढल निकासको जिम्मेवार निकाय नगरपालिकाले समयमै यसको लागि कदम चालेन । वडाध्यक्ष मानन्धरका अनुसार वीरेन्द्रनगर बजार क्षेत्रबाट आउने ढल निकासको लागि मंगलगढीचोकदेखि लाटीकोइलीको गोरेखागलखोलासम्म दुई किलोमिटर लामो ढल निर्माण गर्नुपर्छ ।

२५ मिटर चौडा सडकसहित ढल निर्माणका लागि करिब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यही बजेट नहुँदा नगरपालिकाले काम अघि बढाउन सकिरहेको छैन । ‘बजेट अभाव हाम्रो प्रमुख समस्या हो, यसले गर्दा ढल निर्माणको काम गर्न सकिएको छैन,’ वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले भने, ‘प्रदेश सरकारसँग समन्वय भइरहेको छ, संघीय सरकार मार्फत दातृ निकाय पनि खोजिरहेका छौं ।’

मंगलगढी खण्डअन्तर्गत वीरेन्द्रनगर बजारबाट आउने ढल मंगलगढीचोकबाट र इत्राम (कुइनेपानी) बाट आउने ढल बसपार्कको पूर्वतिरबाट निकास गर्नुपर्छ । नगरपालिकाले बसपार्कतिर ढल निकासको काम सुरु गरिसकेको छ । त्यहाँको ढल बुलबुले खोलामा मिसाउने गरी ढल निर्माणको काम भएको मेयर सुवेदी बताउँछन् ।

सुर्खेत उपत्यकाको बीच भएर जाने फोरलेन निर्माणको जिम्मा सडक विभागले लिए पनि ढल निर्माण भने नगरपालिकाको दायित्वमा पर्छ । फोरलेनअन्तर्गत बल्झिएको खण्ड सञ्चयकोष (पीपलबोट प्याकेज–२) को निर्माण जिम्मा स्वच्छन्द–श्याम एण्ड शंकरले लिएको छ ।

कम्पनीका प्रोप्राइटर पदम खडा नगरपालिका र स्थानीयले मान्छन् भने अहिल्यै काम सुरु गर्न कुनै कठिनाइ नभएको बताउँछन् । ‘हामी त अहिले पनि रोकिएको काम सम्पन्न गर्न तयार छौं,’ उनले भने, ‘भोलि ढल निकासका लागि सडक फेरि भत्काउनुपर्‍यो र बजारबाट आएको ढलले कालोपत्रे बगायो भने त्यसको जिम्मा कसले लिने ?’

१४ करोड ४० लाख रुपैयाँ लागतको प्याकेज–२ मा हालसम्म ११ करोड १६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । सम्झौताअनुसार पुस २० गतेसम्म काम सम्पन्न गरिसक्नुपर्छ । तर, डिभिजन सडक प्रमुख गुरु अधिकारी ढल निर्माणको कारण समयमै काम सम्पन्न हुन गाह्रो भएको बताउँछन् ।

‘सासै फेर्न गाह्रो’
धुलाम्मे सडक । सवारीसाधनको चाप उस्तै । दिनभरि गाडी गुडिरहन्छन् । गाडीसँगै उड्ने धूलोले सडकमा हिँडिसक्नु हुन्न । ‘एक छिन हिँड्नेहरू नाक थुनेरै गइहाल्छन, दिनभरि यहिँ बस्नुपर्ने हामीलाई सासै फेर्न मुस्किल पर्छ,’ मंगलगढीचोकमा कपडा पसल गर्ने अग्निप्रसाद भटराईले भने, ‘धूलोले घाँटी र आँखामा समस्या भाछ ।’

सुरुको केही समय त ठेकेदारले पानी हाल्ने गरेका थिए । यसले केही हदसम्म धूलो कम हुन्थ्यो । ‘अहिले त त्यही पनि छैन,’ नजिकै कस्मेटिक्स व्यवसाय गर्ने जमल सिंहले भने, ‘साँझदेखि बिहानसम्म धूलोले कुहिरो लागेको जस्तो हुन्छ ।’

फोरलेन सडक निर्माणमा ढिलाइ हुँदा सडक वरपर व्यवसाय गर्ने थुप्रैले यस्तै समस्या भोगिरहेका छन् । धूलोले व्यवसायीको स्वास्थ्यमा प्रत्यक्ष असर पारेका छ । व्यापार–व्यवसाय पनि उत्तिकै प्रभावित भएको छ । धुलोले सामानहरू फोहोर हुने, खाद्यान्न बिग्रिने समस्या रहेको व्यवसायी बताउँछन् ।

मंगलगढीचोकलाई सुर्खेत उपत्यकाको मुटु मानिन्छ । यहिँबाट वीरेन्द्रनगर बजार प्रवेश गरिन्छ । कर्णाली राजमार्ग र रत्नराजमार्ग जाने गाडीहरू पनि यहिँबाट छुट्छन् । तर, यहाँ उड्ने धूलो र नालीको पानीको दुर्गन्धले सबैले नाक थुन्नुपर्ने अवस्था छ ।

‘दिनभरि माक्स लगाउँदा पनि सास फेर्न गाह्रो हुन्छ, हामीले धूलो कति खायौँ भनेर साध्य छैन,’ व्यवसायी गोमा भट्टराईले भनिन्, ‘अलपत्र परेको सडक छिटो बनेको भए सजिलो हुन्थ्यो ।’ कहिलेकाहीँ धेरै धूलो आयो भने सासै नफेरेर बस्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।

प्रकाशित : कार्तिक १२, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?