१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुल बनेपछि विद्यार्थी नियमित

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिन्डे नगरपालिका र सुर्खेत बजेडीचौर जोड्न भेरी नदीमा पुल बनेपछि बालबालिका नियमित विद्यालय जान थालेका छन्  । यसअघि नगरपालिकाको कारागाउँ, पोखरा र थाराका बालबालिकालाई भेरी नदी तरेर बजेडीचौरस्थित भानु माध्यमिक विद्यालयमा पढ्न जान समस्या भएको थियो  ।

पुल बनेपछि विद्यार्थी नियमित

भेरी नदीमा पुल नबन्दा बालबालिका जोखिम उठाई कम्मरमा चिन्ना बाँधेर पौडी खेल्दै विद्यालय जान बाध्य थिए । नदीमा पानीको सतह बढेको बेला घर फर्कनुपर्ने बाध्यता थियो । वर्षायामका करिब तीन महिना बालबालिकाको पढाइ अवरुद्ध हुने गरेको थियो ।

झोलुंगे पुल बनेपछि बालबालिका र स्थानीयवासीको बाध्यता टरेको छ । बन्गाड कुपिन्डे नगरपालिकाको बाँमेमा रहेको विद्यालय टाढा भएपछि बालबालिका सुर्खेत, बजेडीचौरको भानु माध्यमिक विद्यालयमा जान बाध्य छन् । गाउँमा प्राथमिक तहको विद्यालय मात्र सञ्चालनमा छ ।

आफ्नै वडाको माध्यमिक विद्यालय पुग्न डेढ/दुई घण्टा र सुर्खेतको बजेडीचौरमा जान आधा घण्टा लाग्ने गरेको कक्षा ९ मा अध्ययनरत दीपक थापाले बताए । ‘झोलुंगे पुल बनेपछि आउजाउमा धेरै सहज भएको छ,’ उनले भने, ‘दूरी छोटिएको छ नै, जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।’ उनले पुल बनेपछि समयमै विद्यालय पुग्न थालेको जानकारी दिए ।


पुल बनेपछि कारागाउँ, थारा र पोखराका स्थानीयलाई घाँस दाउरा ओसारपसार गर्नसमेत सजिलो भएको छ । स्थानीयले उपभोग्य सामान बजेडीचौरबाट खरिद गरी सजिलै ल्याउन थालेका छन् । यसअघि पुल नबन्दा स्थानीयलाई तीन घण्टा टाढाको सल्लीबजार पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्नुपर्ने बाध्यता थियो । गाउँमा उत्पादित कृषिजन्य बस्तुले पुल बनेपछि राम्रो बजार पाउन थालेको छ । पुलका कारण गाउँको चहलपहलसमेत बढ्दै गएको स्थानीय दिलाराम रानाले बताए ।

‘पुल बनेपछि बालीनाली ओसारपसार गर्ने किसानलाई पनि धेरै राहत भएको छ,’ उनले भने, ‘पुलका कारण दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज भएको छ, स्थानीय उत्पादनले भाउ पाउन थालेको छ ।’ उनले लामो समयदेखि पुल निर्माणका लागि विभिन्न निकायमा माग गरिए पनि बल्ल आफूहरूको समस्याको समाधान भएको जनाए । पुल निर्माण भएपछि अशक्त र वृद्धलाई समेत आउजाउमा सहज भएको छ । पुलबाट दैनिक एक सय बढी स्थानीयले आउजाउ गर्ने गरेका छन् ।

प्रकाशित : कार्तिक १३, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?