कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अझै बनेन सिटी बसपार्क

करिश्मा चौधरी

वीरेन्द्रनगर — पटकपटक म्याद थप्दा पनि वीरेन्द्रनगरस्थित सिटी बसपार्क निर्माण सम्पन्न हुन सकेको छैन  । बसपार्कको काम अधुरै रहेकाले सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ  ।

अझै बनेन सिटी बसपार्क

१५ महिनामा बसपार्क निर्माण सम्पन्न गर्नेगरी २ वर्षअघि चाङमिला नरसिंह जेभीसँग सम्झौता गरिएको थियो । तर, १५ महिनामा सकिने भनिएको काम पूरा नभएपछि निर्माण कम्पनीले दुई पटक म्याद थप गरिसकेको छ ।

पहिलो पटक ६ महिना म्याद थप गरेको कम्पनीले दोस्रो पटक एक वर्षको म्याद थपेको हो । बसपार्क निर्माणको काम ९५ प्रतिशत सकिएको वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए । सिटी बसपार्कमा टिकट काउन्टर, यात्रु बस्ने टर्मिनल, ५४ अस्थायी पसल, महिला तथा पुरुष शौचालय, दुईवटा प्रवेशद्वार, गाडी मर्मत गर्ने वर्कसप रहनेछन् । सिटी बसपार्कमा साना/ठूला गरी एक सय १० बस अटाउने क्षमता छ ।

विद्युत् जडान गर्न, करिब ५० मिटर पर्खाल लगाउन, गार्डेन, रङरोगन तथा सेनिटरीको केही काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । तिहारपछि १५ दिनमा निर्माणको काम सक्ने तयारी भइरहेको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । निर्माणको काम सकिए पनि सञ्चालनमा करिब एक महिना लाग्ने उनको भनाइ छ । ‘निर्माण सकिएपछि सञ्चालनका लागि टेन्डर गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले सोचेअनुसार काम भयो भने पुस महिनापछि बसपार्क सञ्चालन हुन्छ ।’

६ करोड ८३ लाख रुपैयाँमा उक्त कम्पनीले सिटी बसपार्क निर्माणको जिम्मा लिएको हो । नगर विकास कोषको पूर्ण ऋण सहयोगमा नगरपालिकाले सिटी बसपार्क निर्माण थालेको हो । उक्त रकम वीरेन्द्रनगर नगरपालिकाले २० वर्षभित्रमा नगर विकास कोषलाई बुझाइसक्नुपर्छ ।

वार्षिक साँवा र ब्याजसहित नगरपालिकाले कोषलाई पैसा बुझाउनुपर्ने नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षत्रीले बताए । नगरपालिकाले अहिलेसम्म दुई किस्तामा रकम बुझाइसकेको अधिकृत क्षत्रीको भनाइ छ ।

अहिले मंगलगढी चोकनजिकै अस्थायी बसपार्क सञ्चालन भइरहेको छ । साँघुरो ठाउँमा बसपार्क सञ्चालन भइरहेकाले यात्रुले निकै हैरानी बेहोर्नुपरेको छ ।अस्थायी बसपार्कमा सवारी चालक तथा यातयात सञ्चालकलाई पनि उत्तिकै हैरानी छ ।

साना तथा ठूला बस बसपार्कभित्रै लैजाने गरिएकाले अस्तव्यस्त बनेको छ । बसपार्क निर्माणमा पटकपटक म्याद थप हुँदा पनि सञ्चालन नभएपछि यात्रुले निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । यात्रुसँगै सवारी चालक, यातायात सञ्चालकले पनि समस्या झेल्दै आएको जनाएका छन् ।

प्रकाशित : कार्तिक १४, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?