जीर्ण सडकले दुर्घटना

विप्लव महर्जन

सल्यान — सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना बढ्दै गएको छ । जीर्ण सडक र तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

जीर्ण सडकले दुर्घटना

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै १७ गाडी दुर्घटनामा परेका छन् । दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ४६ सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा उक्त संख्या बढेर ३७ दुर्घटना भए र २० जनाको मृत्यु भयो । गत वर्ष सडक दुर्घटनामा एक सय २९ घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ठूला तथा यात्रुबाहक गाडी धेरैजसो सडक अवस्थाका कारण दुर्घटनामा परेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार मदिरा सेवनका कारण मोटरसाइकल बढी दुर्घटनामा परेको देखिएको छ ।

जिल्ला ट्राफिक इन्चार्ज, प्रहरी नायब निरीक्षक (सइ) ज्ञानेन्द्र शर्माका अनुसार पछिल्लो समय चालकको लापरबाही र यान्त्रिक खराबीले पनि दुर्घटना बढ्दै गएका छन् । उनले चालकले सुरुमा गाडीको अवस्थाबारे चेकजाँच नगरी चलाउँदा पनि दुर्घटना हुने गरेको जनाए ।

दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालयले स्थानीय तहको सहकार्यमा विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । विभिन्न स्थानमा सूचना बोर्ड लगाएर चालकलाई सतर्क गराइएको ट्राफिक प्रहरीको भनाइ छ ।

‘ठूला गाडीधनीले बढी आम्दानी गर्ने लोभमा क्षमताभन्दा बढी यात्रु राख्ने गरेका छन्, जसले पनि दुर्घटना बढेको छ,’ उनले भने, ‘हामीलाई जानकारी आएसम्म र चेकिङमा भेटाएसम्म त्यस्ता गाडीलाई कारबाहीको दायरामा ल्याएका छौं ।’ उनले ग्रामीण सडकमा सञ्चालन हुने गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने चलन बढी रहेको जनाए । ट्राफिक प्रहरीका अनुसार सबैभन्दा बढी दुर्घटना सल्लीबजार आसपास र कपुरकोटदेखि लुहामसम्मको खण्डमा हुने गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख (डीएसपी) वीरेन्द्रबहादुर शाहीले अधिकांश सडक जीर्ण, साँघुरो र खाल्डाखुल्डीयुक्त भएकाले दुर्घटना बढिरहेको बताए । मानवीय कारणले हुने दुर्घटना न्यून छन् । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमबारे जिल्लाभर नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । ट्राफिक नियमबारे चालक, सहचालक, विद्यार्थी, स्थानीय बासिन्दालगायतलाई बेला बेलामा जानकारी दिंदै आइएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनासँगै ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नियम उलंघन बढेपछि बर्सेनि जरिवाना रकम बढिरहेको छ । गत वर्ष ट्राफिक नियम उल्लंघन गर्ने १० हजार तीन सय सवारी साधन कारबाहीमा परेका थिए । ती सवारी साधनबाट ५४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १४, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?