१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विद्यालय गाभ्दै स्थानीय तह

विद्यार्थीको पढाइ पूरा हुने र विद्यालयको खर्च भार पनि घट्ने भएकाले विद्यालय गाभ्न थालिएको भनाइ
करिश्मा चौधरी

वीरेन्द्रनगर — विद्यार्थी संख्या कम भएका र नजिकै अर्को विद्यालय भएका विद्यालयलाई मर्ज गर्न थालिएको छ  । स्थानीय तह गठन भएसँगै शिक्षा विकासका कामले तीव्रता पाएका छन्  ।

विद्यालय गाभ्दै स्थानीय तह

स्थानीय तहले आ–आफ्नै तहका छुट्टै शिक्षा ऐन बनाएका छन् । विद्यार्थीको पढाइ पूरा हुने र विद्यालयको खर्च भार पनि घट्ने भएकाले विद्यालय मर्ज थालिएको हो ।


स्थानीय तहका शिक्षा शाखाले विद्यालयको अनुगमन गरी विद्यालय मर्ज गर्ने वा नगर्ने निर्णय गरेको छ । भेरीगंगा, गुर्भाकोट नगरपालिका, सिम्ता र चिंगाड गाउँपालिकामा न्यून विद्यार्थी भएका र नजिकै अर्को विद्यालय भएका विद्यालयहरू मर्ज गरिएका छन् । भेरीगंगा नगरपालिकाले तीन विद्यालय मर्ज गरिएको जनाएको छ ।


नगरपालिकाको शिक्षा शाखा प्रमुख बलवीर सुनारका अनुसार भगवती प्राथमिक विद्यालय भैंसेलाई चन्द्रोदय आधारभूत विद्यालय कांसिपुरमा मर्ज गरिएको छ । उनका अनुसार दीपज्योति प्राथमिक विद्यालय कुइरेलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लोदेमा र भगवती प्राथमिक महिला विकासलाई शिखर माध्यमिक विद्यालय रामघाटमा मर्ज गरिएको छ । ‘नजिक विद्यालय हुँदा विद्यार्थी संख्या न्यून हुन्छ र सरकारलाई आर्थिक भार धेरै पर्छ,’ प्रमुख सुनारले भने, ‘केहीले विरोध गरे पनि नियम अनुसार विद्यालय मर्ज गरेका छौँ ।’


गुर्भाकोट नगरपालिकामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेतेनी गुमीलाई नेपाल राष्ट्रिय आधारभूत विद्यालय पण्डितकालनामा गाभिएको छ । विद्यार्थीको संख्या शून्य भएपछि मर्ज गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र रावतले बताए । यस्ता विद्यालयको आर्थिक भारमात्रै बढ्ने भएकाले मर्ज गरिएको रावतको भनाइ छ । सिम्ता गाउँपालिकामा पाँच वटा विद्यालय मर्ज गरिएको छ ।


जनता प्रावि दुर्पालालाई नेपाल राष्ट्रिय प्रावि दुर्पालामा, दुर्गा प्रावि भोटमुंगालाई बागेश्वरी प्रावि शिमलागाउँमा मर्ज गरिएको छ । त्यस्तै भैरव प्राविलाई नेपाल राष्ट्रिय मावि बजेडाआली, सगरमाथा प्राविलाई नेपाल राष्ट्रिय प्रावि घोरेटामा र माईभगवती कोल्डाँडालाई नेपाल राष्ट्रिय मावि खेल्नेचौरमा मर्ज गरिएको हो ।


‘नियम अनुसार विद्यालय मर्ज गर्दा विद्यार्थीको पढाइलाई असर गर्दैन,’ गाउँपालिकाको शिक्षा शाखा प्रमुख ज्योति गैरेले भनिन्, ‘बरु सरकारी स्रोत साधनको सदुपयोग हुन्छ ।’


चिंगाड गाउँपालिकाको हिलेपोखरीमा रहेको लालीगुराँस प्राविलाई सरस्वती प्रावि भर्जनी पाम्कामा गाभिएको छ । विद्यालयमा पाँच वर्षदेखि न्यून विद्यार्थी रहेको र नजिकै अर्को विद्यालय भएकाले मर्ज गरिएको शिक्षा शाखा प्रमुख भानु घिमिरेले बताए । पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकाले भने विद्यार्थी संख्या कम भए पनि विद्यालयको दूरी धेरै रहेकाले विद्यालय मर्ज गरेका छैनन् ।


विद्यार्थी कम भए पनि विद्यालय अनुगमन र विद्यालय सुधार योजनालाई प्राथमिकता दिएको पञ्चपुरी नगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज घिमिरेले बताए । ‘विद्यार्थी कम भए पनि विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा विद्यालय सुधारका लागि अभिभावक शिक्षा, खेलकुद विकास, लेखा व्यवस्थापनलगायत कार्यक्रम ल्याएका छौं,’ बराहताल गाउँपालिकाको शिक्षा शाखा प्रमुख डम्बर रोकायले भने ।


विद्यालय मर्ज गर्नुलाई शिक्षा विकासको सुरुवात मानिएको छ । विद्यालय मर्जसँगै स्थानीय तहले विद्यालयको अनुगमन गर्ने, गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिम, शैक्षिक प्रदर्शनी, अभिभावक शिक्षा जस्ता कार्यक्रम ल्याएका छन् । तर, शिक्षा शाखामा दरबन्दी अनुसारको कर्मचारी नहुँदा चाहेजति काम गर्न नसकिएको पञ्चपुरी शिक्षा शाखा प्रमुख घिमिरेले बताइन् ।

प्रकाशित : कार्तिक १६, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?