कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षको पारिश्रमिक विपन्नलाई

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–३ का वडाध्यक्ष चन्द्रबहादुर केसीले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको ६ महिनाको सेवा सुविधा विपन्नलाई प्रदान गरेका छन्  ।

वडाध्यक्षको पारिश्रमिक विपन्नलाई

उनले गाउँपालिकाको १० वडाका २५ विपन्न, अपाङ्ग, असहाय, टुहुरा र दीर्घ रोगीलाई आफूले पाएको सुविधाको रकम प्रदान गरेका हुन् ।


केसीले ३ नम्बर वडा कार्यालमा एक कार्यक्रम आयोजना गरी हरेकलाई चार हजारका दरले सहयोग रकम हस्तान्तरण गरे । उनले विपन्नलाई एक लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए । केसीले मासिक १९ हजारका दरले एक वर्षको दुई लाख २८ हजार रुपैयाँ सेवा सुविधाबापत बुझेका थिए । यसअघि प्राप्त बैठक भत्ताको आठ हजार रुपैयाँ पनि दुई दीर्घ रोगीलाई सहयोग गरेको केसीले जनाए ।

केसीले ३ नम्बर वडाका १५, ५ नम्बर वडाका २ र अन्य वडाका एक/एक जनालाई आर्थिक सहयोग गरे । सहयोग पाउनेमा चार टुहुरा, चार अपाङ्ग, आठ दीर्घरोगी र ९ जना गरिब तथा विपन्न छन् ।

ठूलो रकम प्रदान गर्न नसके पनि मतदातासँग जोडिन भावनात्मक रूपमा सानो आर्थिक सहयोग गरिएको वडाध्यक्ष केसीको भनाइ छ । ‘मैले सहयोग गरेको ४ हजारले खासै फरक त नपर्ला,’ केसीले भने, ‘तर हामीले जिताएका जनप्रतिनिधि हामीसँगै छन् भन्ने सन्देशका लागि सहयोग गरेको हुँ ।’

प्रकाशित : कार्तिक १७, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?