कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

समृद्धितिर सानोसुर्खेत

करिश्मा चौधरी

वीरेन्द्रनगर — सुर्खेत उपत्यकाभित्रको सुन्दर ठाउँ, जो आफैंमा एक उपत्यका हो  । सानोसुर्खेत नामले चिनिने यो ग्रामीण ‘मिनीभ्याली’ अहिले समृद्धियात्रामा तीव्र रूपमा अघि बढिरहेको छ  ।

समृद्धितिर सानोसुर्खेत

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले तीन वर्षअघि इन्जिनियरिङ संकायको संरचना निर्माण थालेपछि सानोसुर्खेतमा चहलपहल बढेको हो । केही वर्ष अघिसम्म कठ्ठाको हिसाबले किनबेच हुने जग्गा अहिले मिटरको भाउमा गएको छ । प्रतिमिटर दुईदेखि तीन लाख रुपैयाँमा बिक्री हुन थालेको स्थानीय दीपक बुढाले बताए ।

उनका अनुसार अहिले जिल्ला बाहिरका मान्छेहरूसमेत जग्गा खरिद गरी बसोबास गर्न थालेका छन् । स्थानीयवासी रहेका विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लसहित स्थानीयले विश्वविद्यालयको संरचना ल्याउन ८० लाख रुपैयाँ संकलन गरेर एक बिघा जग्गा खरिद गरेका थिए । ‘स्थानीयवासीले गच्छेअनुसार आर्थिक संकलन गरेर जग्गा खरिद गरी विश्वविद्यालयलाई हस्तान्तरण गर्‍यौं,’ बुढाले भने, ‘अहिले विश्वविद्यालयको संरचना निर्माण थालिएसँगै गाउँले चोला फेरेको छ ।’


हिजो कच्ची र स–साना एकतले घर रहेको सानोसुर्खेतमा अहिले ठूलठूला घर बन्न थालेका छन् । विशेषगरी विश्वविद्यालयको संरचना निर्माण थालिएपछि विद्यार्थी र कर्मचारीलाई लक्षित गरी भवन बन्न थालेका छन् । २० कोठासहितको चारतले घर निर्माण गरेका टेकबहादुर डाँगी भाडामा दिनकै लागि घरमा लगानी गरेको बताउँछन् । ‘पक्की र ठूलठूला घर बनाउने क्रम बढेको छ, सानोसुर्खेत अब त ठूलो भइसक्यो,’ अर्का स्थानीय मोहनप्रसाद भुसालले भने, ‘भवन मात्रै बन्न सुरु हुँदा त यतिको चहलपहल छ, पढाइ सुरु भयो भने अझ कति होला ?’


विश्वविद्यालयको भवन बन्दै गर्दा धेरै स्थानीयले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाएका छन् । पढाइ सुरु भएपछि विद्यार्थीको चहलपहल बढ्नुका साथै स्थानीय उत्पादनले बजार पाउने हुँदा गाउँले उत्साहित छन् । ‘अब त गाउँमै रोजगारीको अवसर आएका छन्, व्यापार व्यवसाय पनि बढ्नेछ,’ स्थानीय रत्ना भुसालले भनिन्, ‘हाम्रो गाउँमा विश्वविद्यालय आउनु नै विकासको बाटो खुल्नु हो ।’


सडक समृद्धि
सानोसुर्खेतको समृद्धिको अर्को आधार हो– सडक । रत्नराजमार्गदेखि सानोसुर्खेत जोड्ने करिब ६ किलोमिटर चौडा सडक अहिले कालोपत्रेको क्रममा छ ।


सडक चौडा भएपछि मान्छेको आवतजावत मात्र बढेको छैन, सडक किनारमा पसल व्यवसाय पनि फस्टाएको छ । शान्त, स्वच्छ र हरियाली वातावरण भएको सानोसुर्खेत अहिले सहरीकरणको यात्रामा छ । स्थानीय ललितबहादुर खड्का ‘अचेल यहाँको माहोलै फरक भएको’ बताउँछन् । रत्नराजमार्ग जोड्ने चौडा सडकको कारण मात्र होइन, भेरीबाट सुर्खेत उपत्यका जोड्ने प्रवेशद्वार भएकोले पनि सानोसुर्खेतका लागि सडक समृद्धिको अधार बनेको छ । भेरीपुलदेखि सानोसुर्खेत जोड्ने तीन किलोमिटर सडकको ट्रयाक खोलिसकिएको छ । यो सडक स्तरोन्नति हुने बित्तिकै भेरीबाट सुर्खेत उपत्यका प्रवेश गर्न करिब चार किलोमिटर छोटो हुन्छ । यसले सानोसुर्खेतको भविष्य अझ उज्यालो हुने बुढाले बताए ।


तरकारीले हरियो गाउँ
भौतिक संरचना र सडकले जस्तै सानोसुर्खेतको समृद्धिमा अर्को इँटा बनेको छ– तरकारी खेती । सानो र सुन्दर गाउँमा व्यावसायिक तरकारी नगर्ने घर नै छैन भन्दा पनि हुन्छ । हरेक घरले मौसमी/बेमौसमी तरकारी लगाएर बिक्रीको लागि वीरेन्द्रनगर लैजान्छन् ।


गाउँमा आठवटा त ‘फिक्स्ड’ टनेल निर्माण गरिएका छन् । १५ रोपनी जग्गामा तरकारी लगाएका बुढा यसले स्थानीयको जीवनमा ठूलो परिवर्तन ल्याएको बताउँछन् । ‘तरकारी खेती यहाँका बासिन्दाका लागि आम्दानीको ठूलो स्रोत हो,’ उनले भने, ‘यसले गाउँलेलाई आत्मनिर्भर बनाएको छ ।’ तरकारीका साथै जंगल नजिक भएकोले पशुपालनले पनि स्थानीयको जीवनस्तरमा सुधार ल्याएको उनले बताए ।

प्रकाशित : कार्तिक १७, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?