कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

ब्लकमा बीउ उत्पादन

हरि गौतम

रुकुम पश्चिम — जिल्लाका दुई समूहले पहिलोपटक ब्लकमार्फत बीउ उत्पादनको प्रक्रिया सुरु गरेका छन्  । मुसीकोट नगरपालिका–४, सोलाबाङस्थित खाद्यान्न बीउ उत्पादन महिला कृषक समूह र चौरजहारी नगरपालिका–१०, को समशितोष्ण उन्नत तरकारी बीउ उत्पादन सहकारीले ब्लकमार्फत उन्नत बीउ उत्पादनको प्रक्रिया सुरु गरेका हुन्  ।

ब्लकमा बीउ उत्पादन

समूहले गहुँको बीउ र सहकारीले रायोको उन्नत बीउ ब्लकमार्फत उत्पादन गर्न थालेका हुन् ।


समूहले २५ रोपनी क्षेत्रफलमा ब्लक स्थापना गरी गहुँको उन्नत बीउ उत्पादन सुरुवात गरेको छ । २० जना महिला सम्मिलित समूहले बीउ उत्पादनका लागि आवश्यक जग्गाको व्यवस्थापन तथा चाहिने सीपका लागि अभिमुखीकरणसमेत लिइसकेको छ । ‘फरकफरक तरिकाले बीउ उत्पादन गर्दा गुणस्तरमा तलमाथि हुने जस्तो देखियो यसैले एकै ठाउँमा ब्लक नै बनाएर बीउ उत्पादन गर्न लागेका छौं,’ समूहकी सचिव चित्रा शर्माले भनिन्, ‘यसबाट छरिएर बीउ उत्पादन गर्नेबीच सामूहिक भावनाको विकास हुने र बीउ उत्पादनमा पनि सुधार हुने अपेक्षा छ ।’ उनले डब्ल्यु के बाह्र सय चार जातको गहुँको उन्नत बीउ उत्पादन गर्न थालेको बताइन् । साढे ३ मेट्रिक टन बीउ उत्पादनको लक्ष्य राखिएको समूहले जनाएको छ ।


सहकारीले खुमल चौडा पात जातको रायोको उन्नत बीउ उत्पादन गर्न लागेको हो । १० रोपनी जग्गामा रायोको बीउ उत्पादन हुने जनाइएको छ । ३ क्विन्टल उन्नत बीउ उत्पादनको लक्ष्यसहित ब्लक बनाएरै रायोको उन्नत बीउ उत्पादन गर्न लागिएको सहकारी संस्थाकी अध्यक्ष गोपा विएमले बताइन् । उनका अनुसार लामो समयदेखि तरकारीको बीउ उत्पादन गर्दै आए पनि एकै क्षेत्रमा एउटै बीउ ब्लकमार्फत उत्पादन गर्न लागेको यो पहिलो पल्ट हो ।


दुबै समूहलाई केयुविकेले प्राविधिक सहयोग गर्नेछ । केयुविकेले गहुँका लागि एक सय ७० किलो र सहकारीलाई २ किलो रायोको मूल बीउ उपलब्ध गराइसकेको जनाएको छ । त्यसका लागि रासायनिक मल तथा विषादी, स्प्रे, ट्यांकीलगायत सामग्री प्रदान गरिनेछ । बीउ उत्पादन, प्रशोधन र बजारीकरणमा पनि सहयोग गर्ने केयुविके, कृषि उद्यम केन्द्र जिल्ला लगानीद्वार कार्यालयका सल्लाहकार राजु लामिछानेले बताए । जिल्ला बीउ संयोजक शंकर न्यौपानेले बीउ लगाउने बेलादेखि नै बिक्री नहुँदासम्म ब्लकमार्फत गरिने उन्नत बीउ खेतीलाई पूर्ण रूपमा प्राविधिकको निगरानीमा राखिने न्यौपानेले बताए ।


छरिएर खेती गर्ने परम्पराको अन्त्य, एकीकृत खेतीको प्रोत्साहन तथा व्यावसायिक खेती र गुणस्तरीयता कायम गर्न ब्लकमार्फत उन्नत बीउ उत्पादनको अभ्यास सुरु गरिएको केयुविकेका केन्द्रीय बीउ संयोजक लीलाराम पौडेलले बताए । रुकुम पश्चिमसहित सल्यान, रोल्पा, गुल्मी, प्युठान र अर्घाखाँचीमा समेत ब्लकमार्फत खेती गर्ने समूह तथा सहकारीलाई सहयोग गरिने पौडेलले जनाए ।

प्रकाशित : कार्तिक १७, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?