१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

७९ करोडको कृषिजन्य वस्तु जिल्लाबाहिर

विप्लव महर्जन

सल्यान — जिल्लाबाट यस वर्ष ७९ करोड ३३ लाख ५५ हजार रुपैयाँको कृषिजन्य वस्तु जिल्लाबाहिर गएको छ  । कृषि ज्ञानकेन्द्रका अनुसार कपुरकोट, रामपुर र सल्लीबजार हुँदै कृषिजन्य पदार्थ जिल्लाबाहिर गएका हुन्  ।

७९ करोडको कृषिजन्य वस्तु जिल्लाबाहिर

अधिकांश कृषिजन्य सामग्रीमा सल्यान आत्मनिर्भर छ । जिल्लाबाट तरकारी, सुन्तला, अदुवा, मह, भटमास जिल्लाबाहिर जाने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यहाँको कृषिजन्य उत्पादन बुटवल, दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज हुँदै भारतसम्म जाने गरेको छ ।

जिल्लामा उत्पादित टिम्मुर फ्रान्स निर्यात हुने गरेको केन्द्रका योजना अधिकृत पृथ्वीराज लामिछानेले बताए । उनका अनुसार कृषिजन्य पदार्थ जिल्लाबाहिर जान थालेपछि किसानको जीवनस्तर सुध्रँदै गएको छ । किसानले व्यावसायिक रूपमा तरकारी, सुन्तला, अदुवा, टिम्मुरलगायत खेती गर्न थालेको उनले बताए ।

जिल्लाका विभिन्न ठाउँबाट ३० करोड ३७ लाख रुपैयाँको १६ हजार पाँच सय मेट्रिक टन सुन्तला जिल्लाबाहिर गएको छ । कपुरकोटलगायत विभिन्न हाटबजारबाट १९ करोड ९७ लाख रुपैयाँको ३४ हजार ६ सय मेट्रिक टन तरकारी, २३ करोड ९० लाखको ५ हजार ६ सय मेट्रिक टन अदुवा र सात करोड ४७ लाख ६० हजारको ३ सय ४४ मेट्रिक टन अदुवाको सुठो जिल्लाबाहिर गएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार तीन सय ५० मेट्रिक टन बेसार, तीन हजार मेट्रिक टन तरकारी बीउ र चार सय ६० मेट्रिक टन मकैको बीउ जिल्लाबाहिर गएको छ । उनका अनुसार जिल्लाबाट केरा, आलु, मह , माछा, च्याउ बाहिर जाने गरेको छ ।

‘तरकारी खेतीबाट जिल्लाभरिका सात हजार ९ सय ७५ घरपरिवार व्यावसायिक बनेका छन्, कोटमौला, कोटबारा, दमाचौर, पिपलनेटा, मार्के, सेजवालटाकुरा, कजेरीलगायत गाउँका एक हजार घरधुरीले व्यावसायिक सुन्तलाखेती गरिरहेका छन्,’ उनले भने, ‘जसबाट किसानको जीवनस्तर गुणस्तरीय बन्दै गएको छ ।’

शारदा नदी आसपासका क्षेत्रमा करिब एक हजार दुई सय प्लास्टिक घर बनाई स्थानीयवासीले ४८ हजार वर्गमिटरमा गोलभेंडा खेती गरेका छन् । जिल्लाभरका ७५ प्रतिशत घरधुरी कृषिजन्य उत्पादनबाट आत्मनिर्भर बनेको केन्द्रले जनाएको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?