बौद्धमार्गीको निधारमा भाइटीका

कान्तिपुर संवाददाता

हुम्ला — तिहार हुम्लीको मौलिक पर्व होइन । बाहिरबाट आएका व्यक्तिले यो पर्व भित्र्याएका हुन् । तर, छोटो समयमै यसको रौनक हिन्दुमात्र होइन, बौद्धमार्गी समुदायसम्मै झाँगिएको छ । स्थानीयका अनुसार हुम्लामा तिहार मनाउने चलन करिब दुई दशकअघि भित्रिएको हो ।

बौद्धमार्गी लामा समुदायका युवायुवतीले अहिले देउसीभैली खेल्दै भाइटीका लगाउन थालेका छन् । दाजुभाइ नहुनेले धर्मदाइ/भाइ बनाएरै टीका लगाउने चलन बढेको छ । तिहारमा देउसीभैलो खेल्ने र भाइटीका लगाउने गरिए पनि यमपञ्चकका अन्य दिनलाई मनाउने गरिँदैन ।


सिमकोटका स्थानीय लोटई लामाले बजारमा सबैतिर तिहारको चहलपहल बढदा आफूहरूले पनि मनाउन थालेको बताए । ‘हुन त यो हुम्लीको पर्व होइन,’ उनले भने, ‘तर अहिले हुम्लामा बस्ने सबै धर्मावलम्बीको साझा पर्व बनेको छ ।’ बौद्धमार्गी युवती सरजम फुटी लामाका पाँचजना दाजुभाइ छन् । यी सबै हिन्दु धर्मावलम्बी हुन् । उनले तिहारको दिन यी सबैलाई टीका लगाउँछिन् । ‘हुम्लामा नभएमात्रै, भएपछि म सबैलाई तिहारको टीका लगाउँछु,’ उनले भनिन्, ‘यसले उनीहरूलाई पनि दिदीबहिनी नभएको न्यास्रो मेटाउँछ ।’


स्थानीय रामचन्द्र बुढाले दाजुभाइ र दिदीबहिनी नहुनेले पनि धर्म दाजुभाइ वा दिदीबहिनी बनाएर टीका लगाउने गरेको बताए । कतिपयले भावनात्मकभन्दा लहडमा दाजुभाइ मान्दा विकृति आउने गरेको उनको भनाइ छ ।


कतिपय गाउँमा तिहारको साटो पुसे औंसीलाई भुवो नाम दिएर गाईगोरु पूजा गर्नुका साथै टीका लगाएर तिहारको झल्को दिने गरी चाड मनाउने चलन छ ।

प्रकाशित : कार्तिक २५, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?