कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीउ उत्पादन केन्द्रमा मौरीघार

हरि गौतम

रुकुम पश्चिम — चापास्थित तरकारी बीउ उत्पादन केन्द्रले चालु आर्थिक वर्षमा सातवटा मौरीसहितका घार किन्ने भएको छ । यसका लागि एक लाख रुपैयाँ विनियोजन गरिएको छ । यसअघि केन्द्रमा दुई घार मौरी रहेका छन् ।

बीउ उत्पादन केन्द्रमा मौरीघार

केन्द्र प्रमुख डा. रवीन्द्र चौवेका अनुसार २०३५ सालमा समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्रको रूपमा स्थापित भएको यो जिल्लाको सबैभन्दा ठूलो र पुरानो तरकारी बीउ उत्पादन केन्द्र हो । यहाँ उत्पादन गरिने बीउको गुणस्तरीयता तथा उत्पादन बढाउनको लागि केन्द्रले मौरी पनि सँगै पाल्न थालेको हो ।


‘यसअघि अन्य किसानका मौरी आएर तरकारी बीउ उत्पादन केन्द्रमा लगाइएको तरकारीमा बस्ने गरेका थिए,’ केन्द्र प्रमुख चोवेले भने, ‘अब त्यसलाई बढाउन आफैं मौरी पाल्ने तयारी गरिएको हो ।’


केही वर्ष अघिसम्म तरकारी बीउ उत्पादन केन्द्र आसपासका किसानले पालेका मौरी आएर तरकारीको बीउ परागसेचन प्रक्रियामा सघाउ पुग्थ्यो । पछिल्लो समय मौरीपालक किसान घटेको र किसानको घरबाट आएका मौरीले मात्रै परागसेचन प्रक्रिया नपुग्ने भएपछि तरकारी बीउ उत्पादन केन्द्रमै मौरी पाल्ने निर्णय भएको थियो ।


‘फार्ममा आउने मौरी कम हुँदै गए, जति आउँछन्, त्यतिले मात्रै परासेचनमा अपुग भएको महसुस भयो,’ केन्द्र प्रमुख चौबेले भने, ‘त्यसैले मौरी पाल्ने योजना अघि बढाइएको हो ।’ १ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बीउ उत्पादन केन्द्रमा काउली, मुला मिनोअर्ली, प्याज, सलगम, रायो, केराउ सिक्किमे, केराउ आर्केल र गोलभेडा हाइब्रिड सिर्जना जातका तरकारीको मूल बीउ उत्पादन हुन्छ । तरकारी बीउ उत्पादन केन्द्रले मुल बीउका साथै उन्नत बीउ पनि उत्पादन गर्ने गरेको छ । केन्द्रमा १५ वटा उन्नत तरकारीका बीउ उत्पादन हुन्छन् ।


केराउ सिंगापुरे, स्विचाड, चम्चुर, सिमी चौमासे, सिमी, त्रिशूली, सिमी बोटे कन्टुकी, गाँजरको उन्नत बीउ केन्द्रले उत्पादन गर्दै आएको छ । यसैगरी गोलभेडा मनप्रेक्स, धनियाँ, रामतोरीया भिन्डी, स्क्वास, भटमास, बोडी मालेपाटन जातको उन्नत बीउ पनि उत्पादन हुँदै आएको छ ।


तरकारी बीउ उत्पादन केन्द्रले खाद्यान्नतर्फ धान खुमल ४, कालो धान र मकै अरुण २ को पनि उन्नत बीउ उत्पादन गरेर बिक्रीवितरण गर्ने गरेको छ । साबिकका राप्तीका ५ जिल्लालाई लक्षित गरी स्थापना भएको यस केन्द्रले देशका अन्य जिल्लामा पनि मूल तथा उन्नत बीउ बिक्री गर्ने गरेको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?