कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२० वर्ष नपुग्दै आमा

करिश्मा चौधरी

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा २० वर्षभन्दा कम उमेरमै बच्चा जन्माउने आमाको संख्या करिब ३० प्रतिशत छ । तीमध्ये पश्चिम रुकुम, सुर्खेत र सल्यानमा यो संख्या धेरै छ । 

आर्थिक वर्ष ०७४/७५ मा ४४ हजार ६ सय ८२ जना आमा बने । त्यसमध्ये १३ हजार ६ सय ३७ आमा २० वर्षभन्दा कम उमेरका थिए । कम उमेरमै आमा बन्नेको संख्या सबैभन्दा धेरै पश्चिम रुकुममा दुई हजार सात सय २४ छ । यो संख्या प्रदेश राजधानी सुर्खेतमा पनि उत्तिकै छ ।


त्यही समयमा सुर्खेतमा दुई हजार सात सय २२ जना र सल्यानमा दुई हजार एक सय ५७ जना कम उमेरमै आमा बने । दैलेखमा एक हजार चार सय ५९, जाजरकोटमा एक हजार चार सय २, जुम्लामा आठ सय ९० आमाहरू २० वर्षभन्दा कम उमेरका थिए । कालिकोटमा आठ सय २५, हुम्लामा चार सय ८१, मुगुमा सात सय ६४ र डोल्पामा दुई सय १३ जना आमा कम उमेरकै थिए ।


कम उमेरमा आमा बन्ने मात्रै होइन । कम उमेरमै आमा बन्न लागेका युवतीको मृत्यु पनि उत्तिकै हुन्छ । आर्थिक वर्ष ०७३/७४ मा कर्णाली प्रदेशमा २१ जना आमाहरूको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । कालिकोटमा ५, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सुर्खेतमा ४/४ जना आमाको मृत्यु भयो ।


यद्यपि यो तथ्यांकभन्दा धेरैको पनि मृत्यु भएको हुन सक्ने सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशी बताउँछन् । अहिले तथ्यांक संकलन गर्ने र दिने माध्यमबीच अलमलकै अवस्था भएकाले तथ्यांकमा भन्दा धेरैको पनि मृत्यु भएको हुन सक्ने अधिकृत जोशीको भनाइ छ ।


कसैले सामाजिक मूल्यमान्यताका लागि, अभिभावकको दबाबमा त कसैले आफूखुसी २० वर्षभन्दा कम उमेरमै विवाह गर्ने गरेका छन् । यहाँको गरिबी, अशिक्षा, सामाजिक मूल्यमान्यताका कारण छोरीहरूको विवाह सानैमा गरिदिने र भागी विवाह गर्ने चलनले गर्दा कर्णाली प्रदेशमा युवती आमाको संख्या बढी भएको हो ।


सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुबैको स्वास्थ्यमा समस्या देखिन सक्ने बताउँछिन् सामाजिक विकास मन्त्रालयमा कार्यरत नर्सिङ अधिकृत पुष्पा ओली । ‘कम उमेरका आमालाई रगत धेरै बग्ने, सुन्निने समस्या तत्कालै देखिन सक्छ,’ उनले भनिन्, ‘दीर्घकालमा भने पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’


कम उमेरका आमामा शारीरिकसँगै मानसिक र सामाजिक समस्या पनि देखिन सक्ने जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशी बताउँछन् । शारीरिक परिपक्कता नहुने हुनाले कम उमेरमै बच्चा जन्माउँदा मृत्यु हुन सक्ने सम्भावना हुन्छ ।


कम उमेरको बच्चा जन्मनु, समय नपुगेरै वा कम तौलको बच्चा जन्मने सम्भावना धेरै हुने अधिकृत जोशीको भनाइ छ । ‘कम उमेरका आमालाई शैक्षिक, सामाजिक तथा मानसिक अपरिपक्कताका कारण घरभित्र र समाजमा परम्पराका नाममा कुरीतिको सिकार हुने सम्भावना हुन्छ,’ उनले भने ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?