कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

समाजसेवाका लागि देउसी–भैली

डोको उपहारदेखि विद्युतीकरण 
प्रदेश ब्युरो

सुर्खेत — पछिल्लो समय देउसीभैलोमा संकलित रकम पिकनिक र घुमघाममा खर्च हुने ‘ट्रेन’ नै बसेको छ । तर, यसपटक केही यस्ता भैली समूह पनि देखिए, जसले उक्त रकम सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरे । उनीहरूले सामाजिक कामकै लागि रकम जोहो गर्ने उद्देश्यसाथ भैली खेले ।

समाजसेवाका लागि देउसी–भैली

सुर्खेतमा ‘डोको देउसीभैलो कार्यक्रम’ नाम दिइएको भैली समूहले सरसफाइ चेतना फैलाउने उद्देश्यसाथ देउसीभैली खेल्यो । भैली टोलीले जुन घरमा भैलो खेल्यो, त्यहाँ डोको उपहार दियो । अभियानकी एक सदस्य प्रतिमा सुवेदीका अनुसार विङ्स फाउन्डेसनले ‘गो ग्रिन, गो क्लिन सुर्खेत’ अभियानअन्तर्गत यस्तो भैली आयोजना गरेको हो । ‘हाम्रो अभियानका लागि यसपटक देउसीभैलो एक महत्त्वपूर्ण अवसर बन्यो,’ उनले भनिन्, ‘त्यसैले हामीले भैली खेलेका घरमा सरसफाइयुक्त चेतनास्वरूप डोको (डस्टबिन) उपहार दियौं ।’


भैली टोलीमा ६ देखि २२ वर्ष उमेरका २० जना सहभागी थिए । टोलीले २५ घरमा भैली खेलेर २५ सबै घरमा डोको उपहार दियो । भैली खेल्दा कसैले दक्षिणा दिए त कसैले दिएनन् । टोलीले भने सबैलाई डोको उपहार दियो । टोलीका उद्देश्य पैसा संकलन गर्ने नभई चेतना बाँड्ने भएकाले कसैलाई करकाप नगरिएको सुवेदीले बताइन् । उनका अनुसार भैली टोलीले २० हजार रुपैयाँ दक्षिणा संकलन गरेको छ ।


संकलित रकमको आधा प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने टोलीको तयारी छ । ‘सफा र हरियाली सुर्खेत अभियानमा प्रदेश सरकारको पनि साझेदारी होस् भनेर हामीले भैलीमा उठेको रकम मुख्यमन्त्रीलाई बुझाउन लागेका हौं,’ सुवेदीले भनिन्, ‘हामीले सफा सुर्खेतको अभियान सुरु गर्‍यौँ, तपाईंले साथ दिनुस् भनेर साना भाइबहिनीले मुख्यमन्त्रीलाई पैसा बुझाउनेछन् ।’ प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले सुरु गरेको फाउन्डेसन स्वयंसेवी समूहका रूपमा सञ्चालित छ । फाउन्डेसनले कुनै पनि दातृनिकायको सहयोग लिँदैन ।


डा. केसीले आफ्नो मासिक पारिश्रमिकको निश्चित हिस्सा उक्त फाउन्डेसनमा जम्मा गर्ने गरेका छन् । यसले १३ हप्तादेखि वीरेन्द्रनगरमा सरसफाइ र हरियालीका लागि अभियान चलाउँदै आएको छ । ‘हाम्रो घरटोललाई हामी आफैंले सफासुग्घर राख्ने हो, अरूको भर परेर हुँदैन,’ डा. केसीले भने, ‘त्यही सोचको विकास गराउन स्वयंसेवी अभियान सुरु गरिएको हो ।’


फाउन्डेसनले सफा सहर बनाउनका लागि वीरेन्द्रगरका विभिन्न स्थानमा डस्टबिन राखेको छ । चाइनापुल, नगरप्रहरी चोक, लक्ष्मीहल लाइन, बुद्धपथचोकलगायत स्थानमा बगैंचा निर्माण गरेको छ ।


७० हजार स्वास्थ्य सेवामा

कालिकोटको खाँडाचक्र नगरपालिका–४, ताडीस्थित समाज सुधार युवा क्लबले यसपटक देउसीभैलो खेलेर जम्मा पारेको ७० हजार रुपैयाँ गाउँमा स्वास्थ्य सेवा सुचारु गर्न खचिर्ने भएको छ । मान्मस्थित जिल्ला अस्पतालमा स्वास्थ्य सेवा लिन टाढा भएकाले गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन युवाले भैली खेलेका थिए ।


नगरपालिकाले स्वास्थ्य भवन निर्माण गरे पनि आवश्यक जनशक्ति र औषधि उपकरण नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य संस्थालाई मंसिरबाट सञ्चालन गर्ने गरी रकम हस्तान्तरण गरिने क्लबका अध्यक्ष प्रेम विश्वकर्माले बताए ।


स्थानीय युवाले आफ्नो गाउँ र मान्म बजारमा देउसीभैलो खेलेका थिए । ‘देउसीमा रमाइलो पनि भयो, रकम पनि राम्रै उठ्यो,’ क्लबका सचिव ललित विश्वकर्माले भने, ‘पिकनिक खाने हो भने त एकै दिनमा सकिन्छ, तर हामीले गाउँका जनतालाई स्वास्थ्य सेवा दिने गरी सहयोग गर्ने निर्णय गरेका छौं ।’ गाउँका गर्भवतीले सुत्केरी व्यथा लागेपछि अस्पताल नपुग्दै बाटामै बच्चा जन्माउन बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य संस्था सुधारमा सहयोग गरिएको उनले बताए ।


वडाध्यक्ष धनसिंह कामीले खाँडाचक्र–४ स्थित दलितटोल, घटालीगाउँ, चिउरेला, गाल्लीखोला र बदिगाउँका बासिन्दाका लागि स्वास्थ्य सेवा प्रदान गर्न युवाको सहकार्यमा वडापालिकाले नगरपालिकासँग पहल गरिरहेको बताए ।


त्यस्तै, मान्मस्थित पञ्चदेवल सांस्कृतिक क्लबले पनि देउसीभैलो खेलेको रकम ऐतिहासिक पञ्चदेवलको संरक्षणका लागि खर्च गर्ने जनाएको छ । क्लबका अध्यक्ष मीनबहादुर शाहीका अनुसार मान्म गाउँ र बजारमा खेलेर जम्मा पारेको ३० हजार रकम पञ्चदेवलको प्रचारप्रसारका लागि खर्चिने बताए ।


मालिका एफएमले देउसी खेलेर संकलन गरेको ४० हजार रकमबाट जिल्लामा बसेर पत्रकारिता गर्ने एकजना पत्रकार र एकजना विपन्न बालबालिका छनोट गरेर सहयोग गर्ने योजना बनाएको स्टेसन म्यानेजर बिस्नप्रसाद न्यौपानेले बताए । ‘कति रकम सहयोग गर्ने भनेर सल्लाह हुँदै छ,’ पत्रकार महासंघका प्रदेश कमिटी सदस्यसमेत रहेका न्यौपानेले भने, ‘केही रकमबाट देउसीमा सहभागी भाइबहिनीलाई वनभोज पनि दिने योजना छ ।’


जिल्लाको खाँडाचक्र–२ मेग्रस्थित भवानी बाल क्लबले देउसी खेलेर संकलन गरेको ३ हजार ७ सय रुपैयाँ गाउँका ३ जना अनाथ बालबालिकालाई झोला, कापी कलम किनेर दिएको क्लबका सल्लाहकार नर बिकले बताए ।


विद्युतीकरणदेखि सामान खरिदसम्म

सल्यानमा यसपटक विभिन्न युवा क्लब तथा आमा समूहले देउसीभैलोबाट संकलित रकम सामाजिक काममा लगाउने भएका छन् ।


बागचौर नगरपालिका–९ डाँगीटोलको प्रगतिशील कृषक अदुवाबाली समूहले देउसीभैलो खेलेर ३५ हजार रुपैयाँ संकलन गरेको छ । उक्त रकम विद्युत् लाइन विस्तारमा खर्च गरिने समूहका अध्यक्ष पलबहादुर ओलीले बताए ।


शारदा नगरपालिका–१४ स्थित सशक्तीकरण महिला स्वास्थ्य आमा समूहले भोजभतेरमा आवश्यक पर्ने सामग्री खरिद गर्ने जनाएको छ । अध्यक्ष चन्द्रावती बुढाथोकीका अनुसार देउसीभैलो खेलेर २५ हजार रुपैयाँ संकलन भएको छ । ‘गाउँघरमा भोजभतेर भइरहन्छन्, तर त्यहाँ आवश्यक पर्ने सामान खोज्न भौतारिनुपर्छ,’ उनले भनिन्, ‘त्यही अवस्था अन्त्यका लागि हामीले सामान खरिद गर्ने निर्णय गरेका हौं ।’


च्याउखोला भैलो समूहले पनि भैलीमा संकलित २४ हजार रुपैयाँबाट सांस्कृतिक सामान खरिद गर्ने निर्णय गरेको छ । अध्यक्ष वीरबहादुर ओलीले ठूला विकासका काम गर्न नसके पनि संकलित रकम सदुपयोग गरिने बताए ।


त्यस्तै, कपुरकोटस्थित रोल्पा–कपुरकोट युवा क्लवले संकलन गरेको ८० हजार, दार्मा गाउँपालिका–६, गोठीवनस्थित परिवर्तनशील आमा समूहले संकलन गरेको ३० हजार र भुवनटाकरी युवा क्लबले संकलन गरेको ४० हजार र जनमैत्री युवा क्वबले संकलन गरेको रकम पनि सामाजिक काममा खर्च गरिने आयोजकले बताएका छन् ।


(सुर्खेत– करिश्मा चौधरी, कालिकोट– तुलाराम पाण्डे र सल्यान– विप्लव महर्जन)

प्रकाशित : कार्तिक २६, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?