कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीले ४ महिनादेखि तलब पाएनन्

विद्यालय क्षेत्र विकास कार्यक्रम अलपत्र
भीमबहादुर सिंह

जाजरकोट — शिक्षा विकास तथा समन्वय इकाई, भौतिक शाखाका कर्मचारीले चार महिनादेखि तलब पाउन सकेका छैनन् । शाखामा करारमा कार्यरत इन्जिनियर र चार सबइन्जिनियरसहितले गत साउनदेखि तलब नपाएका हुन् । 

शिक्षा विभागले विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गतका कर्मचारीको करार म्याद नथप्दा र रकम निकासा नपठाउँदा तलब नपाएको सबइन्जिनियर प्रेम नेपालीले बताए । कार्यालयमा नियमित हाजिर भएर काम गरिरहेको तर तलब नपाएको उनको गुनासो छ ।


जिल्लामा कार्यक्रम निरन्तर चलिरहेको भए पनि सम्बन्धित निकायले कर्मचारीलाई तलब नदिएको कर्मचारीको गुनासो छ । जाइकालगायत अन्तर्राष्ट्रिय संघसंस्थाको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम १५ वर्षसम्म निरन्तर सञ्चालन हुने इकाईले जनाएको छ । संघीय संरचना लागू भएसँगै शिक्षा विकास तथा समन्वय इकाईअन्तर्गत सञ्चालित भौतिक शाखा रहने वा नरहने टुंगो लागेको छैन । ‘कार्यक्रमको बजेट पनि कता निकासा हुन्छ, एकिन भएको छैन,’ उनले भने ।


कार्यक्रम कसरी सञ्चालन हुने भन्ने टुंगो नलाग्दा चालु आर्थिक वर्षमा भवन, शौचालय, फर्निचर लगायत विद्यालय पूर्वाधार निर्माण तथा मर्मतका काम अलपत्र परेका छन् । त्यस्तै बजेट तथा कार्यक्रमको टुंगो नलाग्दा गत वर्ष निर्माण सुरु गरेका सात विद्यालयका चारकोठे भवन अलपत्र परेका छन् ।


३६ लाख रुपैयाँ लागतका भवनका लागि १८ लाखका दरले रकम निकासा हुन बाँकी रहेको शाखाले जनाएको छ । भौतिक शाखाले गत आर्थिक वर्षमा ५६ वटा दुईकोठे, सात वटा चारकोठे भवन, १३ शौचालय निर्माण र एक सय ५० संरचनाको मर्मतको काम गरेको थियो । शाखाका अनुसार चालु आर्थिक वर्षमा करिब ७५ वटा विद्यालय भवन निर्माणको काम गर्ने योजना बनाइएको छ ।


कार्यालय सुनसान

दसैं तथा तिहार मनाउन घर गएका कर्मचारी नफर्केपछि जिल्लाका सरकारी कार्यालय सुनसान भएका छन् । कर्मचारी हाजिर नहुँदा शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला स्वास्थ्य, वन डिभिजन, खानेपानी डिभिजन, जिल्ला हुलाक, कोष तथा लेखा नियन्त्रण, कृषि ज्ञान केन्द्र, जिल्ला समन्वय समिति, जिल्ला आयुर्वेद, गाउँपालिका तथा नगरपालिकालगायत कार्यालय सुनसान भएका हुन् ।


कार्यालयमा कार्यालय प्रमुखलगायत कर्मचारी नफर्कंदा दुर्गम गाउँबाट सदरमुकाम आएका सेवाग्राही मर्कामा परेका छन् । कतिपय कार्यालय सहयोगीको भरमा सञ्चालन भएका छन् । पर्व मनाउन गएका कर्मचारी फर्कने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।


काममा फर्कन सास्ती

दसैं तथा तिहार मनाउन घर आएकालाई काममा फर्कन सास्ती भएको छ । यातायातका साधन नपाउँदा काठमाडौं, सुर्खेत, नेपालगन्जलगायत ठाउँ आउजाउ गर्न सास्ती भएको हो ।


पर्व मनाएर फर्कने कर्मचारी, मजदुर, विद्यार्थीलगायत गाडी नपाउँदा समस्यामा परेका छन् ।


जाजरकोटको सदरमुकाम खलंगाबाट बाहिर जाने यातायातका साधनको संख्या कम र यात्रुको चाप बढी हुँदा समस्या भएको व्यवसायी विवशविक्रम शाहले बताए । ‘सवै जनालाई एकैपटक जान हतारो छ । तर गाडी कम छन्,’ शाहले भने ।


सुर्खेत जाने गाडी नपाउँदा दिनभर शान्तिचौतारास्थित बसपार्कमा कुर्न बाध्य भएको स्थानीय पार्वती वलीले बताइन् । गाडीको पर्खाइमा दर्जनौं यात्रु अलपत्र परेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक २७, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?