१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

व्यवसायमा पूर्वलडाकु

करिश्मा चौधरी

वीरेन्द्रनगर — १५ वर्षकै उमेरमा दशरथपुरकी मञ्जु धमला माओवादी विद्रोहमा संलग्न भइन् । समाजमा महिला–पुरुष, धनी–गरिब, कथित तल्लो र माथिल्लो जातबीचको विभेद मञ्जुलाई पटक्कै मन पर्दैनथ्यो । यसको परिवर्तन सशस्त्र द्वन्द्वबाट मात्रै सम्भव छ भन्दै उनी माओवादीमा प्रवेश गरिन् ।

व्यवसायमा पूर्वलडाकु

२०५८ सालमा माओवादी आन्दोलनमा होमिएकी उनको बायाँ खुट्टाका दुई स्थानमा २०६१ सालमा गोली लाग्यो । पटक—पटकको शल्यक्रिया र प्लास्टरपछि उनी हिंड्डुल गर्न सक्ने भइन् तर, सामान्य अवस्थामा फर्किन सकिनन् ।


शान्ति सम्झौतापछि मञ्जुले दशरथपुर छैटौं डिभिजन कार्यालयमा काम गर्दै होटल व्यवसाय गरिन् । खुट्टामा गोली लागेकाले उनलाई होटलमा काम गर्न समस्या भयो । त्यसपछि मञ्जुले काठमाडौं गएर ६ महिनाको ब्युटिसियन तालिम लिइन् । ‘शारीरिक रूपमा अशक्त भए पनि आफ्नो पीडा भुलेर पार्लर कोर्स गरें,’ उनले भनिन्, ‘जंगलमा जिन्दगी बिताएको मान्छे एक्कासि सहर पस्दा निकै गाह्रो भयो, बोल्ने शैली, लगाउने तरिका र रहनसहन केही मिल्थेन ।’


तालिम सकेर उनले दशरथपुरमा पार्लर सुरु गरिन् । अहिले पनि उनी बायाँ खुट्टा चलाउन सक्दिनन् । धेरैबेर उभिन, हिँड्डुल गर्न गाह्रो पर्छ उनलाई । शारीरिक रूपमा अशक्त भए पनि आफ्नै सीपले आत्मनिर्भर भएकी उनलाई आफूमा गर्व लाग्छ । ‘शारीरिक अशक्तले पनि आफैं कमाएर जीवन धान्न सक्छ,’ उनले भनिन्, ‘म शारीरिक अशक्त भए पनि बच्चा र मेरो पालनपोषण, शिक्षालगायत विभिन्न आर्थिक खर्च समाधान गर्न सक्छु भन्ने आँट छ ।’ अहिले उनको पार्लर वीरेन्द्रनगरमै सञ्चालनमा छ । व्यवसायमा लगानी बढाउँदै गएकी उनले आफ्नो सीप पनि निखारिंदै गएको बताइन् । खर्च कटाएर महिनामा ३० हजारसम्म बच्ने गरेको उनको भनाइ छ ।


तत्कालीन माओवादीले सुरु गरेको विद्रोहमा संलग्न लडाकुलाई सरकारले मापदण्ड तोकेर अवकाश दिएको थियो । अवकाश लिएका कतिपय पूर्वलडाकुहरू अहिले व्यवसायमा व्यस्त छन् । वीरेन्द्रनगरका ओमप्रसाद पौडेल अहिले अटो पार्ट्सको व्यवसायमा संलग्न छन् । उनी १७ वर्षकै उमेरमा माओवादीमा प्रवेश गरेका थिए । उनले केही लडाइँको कमान्ड पनि गरे । गोली लाग्यो । घाइते भए ।


शान्ति सम्झौतापछि उनले अवकाश रोजे । उनले व्यवसाय सुरु गरेको पाँच वर्ष भयो । ‘म राजनीति गर्दिन भने पनि, राजनीतिले मलाई छोड्दैन,’ व्यवसायमै व्यस्त रहेका पौडेल भन्छन्, ‘अहिले व्यवसाय फस्टाउँदै गएको छ, कमाइ पनि राम्रो छ ।’


पार्टीको समानता र न्यायको आदर्श निकै राम्रो भए पनि अहिले ती कुरा भद्रगोल भएको रमेशले बताए । अहिले जनतालाई छिट्टै न्याय, विकास, रोजगारी आवश्यक रहेकाले नेतृत्वले त्यसतर्फ ध्यान दिनुपर्ने पौडेलको धारणा छ ।


सुर्खेतमा अवकाशप्राप्त पूर्वलडाकु यति नै संख्यामा छन् भनेर यकिन नभए पनि करिब तीन सयको हाराहारीमा रहेको उनले अनुमान गरे । उनका अनुसार केहीले व्यवसायमा राम्रो प्रगति गरिरहेका छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?