कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सतीदेवीमा भक्तजनको भीड

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुरको देउराली कुटीस्थित सतीदेवी शक्तिपीठमा भक्तजनको भीड बढ्दै गएको छ । धार्मिक र प्राकृतिक महत्त्वको देउराली कुटीमा पछिल्लो समय भक्तजन आकर्षित हुन थालेका छन् । कुटी चट्टानको बीचमा खुल्लै भएकाले दृश्यावलोकन गर्दासमेत मनमोहक छ ।

जिल्लाको महत्त्वपूर्ण शक्तिपीठ मानिने कुटीमा दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । छिमेकी जिल्ला सुर्खेत, बाँके, दाङलगायत जिल्लाबाट समेत पछिल्लो समय भक्तजन बढ्दै गएका छन् । स्वस्थानी कथामा उल्लेख भए अनुसार महादेवकी पत्नी सतीदेवीले बाबुले यज्ञ गर्ने क्रममा पतिको अवहेलना सुनेर असह्य भई यज्ञकुण्डमा हाम फालेर देहत्याग गरेकी थिइन् ।


सतीदेवीले देहत्याग गरेपछि विक्षिप्त बनेका महादेव उनको मृत शरीर बोकी संसार घुमेका थिए । देउराली कोटीमा सतीदेवीको करङ पतन भएको जनविश्वास छ । सतीदेवीको शक्तिपीठ भएकाले शिवरात्री, होलीपूर्णिमा, श्रीपञ्चमी र तीज पञ्चमीमा मेला लाग्ने गरेको स्थानीय वीरबहादुर भण्डारीले बताए ।


‘आस्थाको केन्द्रको रूपमा विकसित हुन थालेपछि स्थानीयले संरक्षणका लागि विभिन्न काम गरेका छौं,’ उनले भने, ‘प्राकृतिक र धार्मिक महत्त्वका हिसाबले जिल्लाकै महत्त्वपूर्ण गन्तव्य बन्न थालेको छ ।’ उनका अनुसार आसपासका क्षेत्रको दृश्यावलोकन गर्न सकिने भएकाले आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ ।


सदरमुकाम खलंगादेखि दक्षिण–पश्चिममा रहेको शक्तिपीठ आस्थाको केन्द्र बन्दै गएको स्थानीयको भनाइ छ । शक्तिपीठमा तीनवटा शिवलिंग थिए । संरक्षण अभावमा एउटा शिवलिंग फुटेको छ । जंगलभित्र ठूलो पत्थरबीच शिवलिंग र त्यसको तीन/चार मिटर तल ओडारमा सतीदेवीको पतन भएको करङ देख्न सकिने भण्डारीले जनाए ।


साविक गाविस र जिविस कार्यालयको सहयोगमा पर्खाल तथा रेलिङ राखी पूजाआजाको व्यवस्था मिलाइएको संरक्षण समितिका पूर्व अध्यक्ष तुलसीराम ओलीले बताए ।


शक्तिपीठसम्म सडक निर्माण भएपछि तीर्थयात्रीको भीड बढ्न थालेको उनको भनाइ छ । तीर्थस्थलमा शिव, गणेश, नाग, सरस्वती, लक्ष्मीलगायत देवीदेवताका आकृति ढुंगामा प्रत्यक्ष देख्न सकिन्छ । शक्तिपीठमा धर्मशाला, बिजुली, खानेपानी, तारबार र सुरक्षाको व्यवस्था गर्नसके जिल्लाकै प्रमुख धार्मिक स्थल बन्न सक्ने ओलीले जनाए ।

धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न विभिन्न निकायमा आग्रह गर्दै आए पनि बेवास्ता भइरहेको स्थानीय टेकबहादुर भण्डारीले बताए । पर्यटन बोर्डले पर्यटकीय स्थलका रूपमा सूचीकृत नगरेकाले ओझेलमा परेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक २८, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?