खुला दिसामुक्त घोषणामै सीमित

राजबहादुर शाही

मुगु — खुला दिसामुक्त जिल्ला घोषणामै सीमित भएको छ । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले औपचारिक कार्यक्रमबीच जिल्लालाई जेठ २८ गते खुला दिसामुक्त घोषणा गरेको थियो ।

घोषणा कार्यान्वयन नहुँदा खुला शौचका कारण सदरमुकाम आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । ग्रामीण क्षेत्रका अधिकांश शौचालय प्रयोगविहीन बनेका छन् ।


जिल्लाभरका करिब ९८ प्रतिशत घरधुरीमा शौचालय र खानेपानीको सुविधा पुगेको भन्दै जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । सदरमुकाममा समेत सार्वजनिक शौचालयको व्यवस्था नहुँदा बजार क्षेत्र आसपास जथाभावी शौच गर्ने गरिएको छ । गमगढी बजार क्षेत्र आसपासका क्षेत्रमा खुला शौचका कारण नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ ।


गमगढीस्थित महाकाली माध्यमिक विद्यालयवरिपरिको क्षेत्र खुला शौचले भरिएको छ । विद्यालयको शौचालयसमेत प्रयोगविहीन भएपछि विद्यार्थी खुला रूपमा शौच गर्न बाध्य छन् । विद्यालय हुँदै आउजाउ गर्ने स्थानीयले समेत जथाभावी शौच गर्दा दुर्गन्ध फैलिएको छ । ‘खुला दिसामुक्त घोषणा गरिएको जिल्लामा हिँड्दा नाक थुन्नुपर्ने अवस्था छ,’ गमगढी तल्लो बजारका ऐटनकुमार मल्लले भने, ‘हचुवाको भरमा घोषणा गरियो, सदरमुकामकै सबै घरमा शौचालय सुविधा छैन ।’ उनले ग्रामीण क्षेत्रमा खुला शौचको अवस्था भयावह भएको जनाए । शौचालयको समस्याले गाउँबाट किनमेल गर्न बजार आएकाहरू सडक छेउछाउ दिसापिसाब गर्न बाध्य हुने गरेको उनको भनाइ छ ।


ढुम, कार्कीबाडा, भामबाडा, श्रीनगर, रोवा, बाम, रुघालगायत गाउँका सार्वजनिक स्थानमा जथाभावी दिसापिसाब देखिने गरेको छ । विद्यालय, स्वास्थ्य चौकीलगायत सार्वजनिक स्थल आसपाससमेत खुला शौचले दुर्गन्धित बन्दै गएका छन् । अधिकांश स्थानीयबासी घरमा चर्पी नहुँदा खेतबारीको कुना र झाडीमा लुकेर दिसापिसाब गर्न बाध्य छन् ।


शौचालय भएका घरमा समेत खानेपानी समस्याले सरसफाइको अभाव छ । कतिपय गाउँ बस्तीमा दुई/तीन घरका एउटै चर्पी हुँदा प्रयोगमा समस्या देखिएको छ ।


सरकारी निकायले घोषणाको प्रतिबद्धतामा ध्यान नदिंदा र पूर्ण सरसफाइ कार्यक्रमलाई निरन्तर सञ्चालन नगर्दा समस्या भएको ग्रामीण सामुदायिक विकास केन्द्रका निर्देशक जर्मन नेपालीले बताए । ‘खानेपानीको अभाव र चर्पीमा दिसा गर्ने बानीको विकास नहुँदा सबै क्षेत्रमा खुला शौच हुने गरेको छ,’ उनले भने, ‘घोषणा गरियो तर, कार्यान्वयनको पाटोलाई ध्यान दिइएन ।’ जिल्लाको एकमात्र रारा विमानस्थलमा सार्वजनिक शौचालय नहुँदा यात्रुलाई दिसापिसाब गर्न समस्या भएको छ । यात्रुहरू धावनमार्गको ढलमा दिसापिसाब गर्न बाध्य छन् ।


खुला दिसामुक्त कार्यक्रम प्रभावकारी रूपले कार्यान्वयन नगर्दा घोषणामै सीमित भएको छायानाथ–रारा नगरपालिका–११, का वडाध्यक्ष दानबहादुर बुढाले बताए । उनका अनुसार ठूलो बस्ती भएका गाउँ वरपर खुला दिसा अझै लुक्न सकेको छैन । जिल्लाभरि करिब १० हजार घुरधुरीमध्ये ९८ प्रतिशत घरमा शौचालयको व्यवस्था भएको भन्दै समितिले जिल्लालाई खुला दिसामुक्त घोषणा गरेको थियो ।

प्रकाशित : कार्तिक २९, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?