१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सडक स्तरोन्नति थालियो

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जिल्लाको सबैभन्दा पहिले निर्माण थालिएको सडक हो–शीतलपोखरी–झुल्खेत–चुनवाङ सडक । आर्थिक वर्ष २०५९/०६० मा कृषि सडकको नाममा निर्माण थालिएको जिल्लाको पुरानो सडकको स्तरोन्नतिको काम सुरु भएको छ ।

३५ किलोमिटर लामो सडकको १८ दशमलब ४ किलोमिटर लम्बाइको स्तरोन्नति गर्न लागिएको हो ।

एसियाली विकास बैक र सरकारको लगानीमा सडकको स्तरोन्नति थालिएको हो ।


ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सडकमा उच्च गुणस्तरीय पिच हुन लागेको हो । सडकमा ३० एमएम बाक्लो पिच गरिनेछ । कर्णाली प्रदेशमा आस्फाल्ट कंक्रिट कालोपत्रे गर्न थालिएको यो पहिलो सडक हो ।


सडक ४८ करोड ९४ लाख १७ हजार रुपैयाँको लगानीमा स्तरोन्नति हुनेछ । पाँच वर्षमा निर्माण भइसक्ने सडक मुसीकोट नगरपालिकाको ४, ७, ९ र १० नम्बर वडामा पर्छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आचार्यले आयोजना पाँच वर्षको भए पनि सडक निर्माणको काम भने दुई वर्षमै सक्ने गरी सम्झौता भएको बताए ।


आयोजनाका अनुसार सडक निर्माणका लागि आयोजना कार्यालय र पीएच/शंकरमाली निर्माण सेवा कम्पनीसँग सम्झौता भएको छ । सम्झौता भएलगत्तै ठेकेदार कम्पनीले आधारभूत सर्भे गरिसकेर पहिलो चरणको कटान सुरु गरिसकेको आचार्यको भनाइ छ ।


सडक निर्माणका लागि ठेक्काको आह्वावान केन्द्रबाटै भए पनि सडक निर्माणको अनुगमन, नियमन, मूल्यांकन, क्वालिटी कन्ट्रोल सबै रुकुम पश्चिमस्थित आयोजना कार्यालयबाटै हुनेछ । यो सडकको स्तरोन्नतिको काम प्राविधिक हिसाबले उच्च गुणस्तरीय र प्राविधिक हिसाबले महँगो हुने आचार्यको भनाइ छ । सडकको दुई वर्षमा आधारभूत काम सकिने र तीन वर्षमा बाँकी सुधारको काम हुनेछन् ।


सडकको अन्तिम विन्दु भने पूर्वी रुकुमको भूमे गाउँपालिकास्थित चुनवाङ हो । आयोजनाले मुसीकोट नगरपालिकाको १० नम्र वडाको गलमपाटी सम्मको सडकको मात्रै स्तरोन्नतिको काम गर्नेछ । सडक खण्डमा पर्ने पाँच खोलामा पुलसमेत बनाइनेछ ।


पुल निर्माणका लागि छुट्टै बजेट नभएकाले आयोजना कार्यालयले आयोजनाबाट रकम बचाएर भए पनि पुल निर्माण गर्ने आचार्यले बताए । उनका अनुसार पुलको समेत सर्भे गरिसकिएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?