३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

यात्रुलाई गन्तव्यमा पुग्न सास्ती

बिप्लब महर्जन

सल्यान — यात्रुको चाप अनुसार गाडीको संख्या थप नहुँदा यात्रुलाई सास्ती भएको छ । तिहार सकिएलगत्तै जिल्लामा भित्रिने र बाहिरिने यात्रुको संख्या बढे पनि गाडी थप नहुँदा गन्तव्यमा पुग्न सास्ती भएको हो ।

यात्रुलाई गन्तव्यमा पुग्न सास्ती

केही दिन अघिसम्म सल्यान, दाङ, रुकुम र जाजरकोटका पाँच यातायात व्यवसायी समितिले यात्रुको सुविधाको लागि ‘क्यु मिलाएर गाडी सञ्चालन गरेका थिए । तर अहिले नियमित गाडीमात्र सञ्चालनमा छन् । यातायात व्यवसायीले यात्रुको सुविधाभन्दा पनि फाइदामात्र खोजेकाले यात्रुको बिचल्ली भएको स्थानीयको गुनासो छ । यात्रुले बाहिर जानका लागि दुई/तीन दिन कुनुपर्ने अवस्था आएको जनाएका छन् ।


राप्ती सार्वजनिक, सल्यान–रुकुम, शारदा प्रालि, सिस्ने हिमाल र नमस्ते राप्ती यातायात प्रालिले केही दिनसम्म गाडी थप गरी यात्रुलाई सुविधा दिएका थिए । तर यात्रु घटेको भन्दै बुधबारदेखि सबै समिति तथा प्रालिका नियमित गाडीमात्र सञ्चालन हुन थालेका छन् । मागअनुसार गाडी नहुँदा यात्रु कोचाकोच गरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।


चाडपर्व मानेर बाहिर फर्कनेको भीडले गाडी कोचाकोच हुने र बीच सडकमा गाडी नरोक्दा आउजाउमै सास्ती भएको कजेरीका बेलाराम खत्रीले बताए । ग्रामीण क्षेत्रमा समेत आउजाउ गर्न गाडी नपाइने समस्या भएको उनको भनाइ छ । उनले लामो दूरीका गाडी चढ्न बढी समस्या भएको जनाए ।


चाक्लिघाटबाट सरकारी कामका लागि खलंगा आएका पूर्णबहादुर चलाउनेले जुनसुकै गाडीमा पनि यात्रुको भीड हुने गरेकाले घर फर्कन समस्या भएको गुनासो गरे । ‘यात्रु भरिभराउ पाएपछि बीच बाटोमा गाडी नरोक्ने समस्या छ,’ उनले भने, ‘गाडी समितिले आवश्यकता अनुसार गाडी थप नगर्दा स्थानीयलाई ठूलो सास्ती भएको छ । खलंगाकी सिर्जना बुढाथोकीले टिकट नपाउँदा दुई दिनदेखि काठमाडांै जान रोकिएको बताइन् । उनले सार्वजनिक गाडीमा टिकट नपाइएपछि तुलसीपुरसम्म गाडी रिजर्ब गरेर जान थालेको बताइन् ।


दमाचौरकी बिमला थापाले कोचाकोच गरी तुलसीपुर जाँदा बिरामी हुनुपरेको गुनासो गरिन् । ‘स्थानीय प्रशासनले सिटभन्दा बढी यात्रु राख्न नपाइने नियम कडाइका साथ लागू गरेको दाबी गरे पनि हामीलाई उभिएर यात्रा गर्नुपर्ने समस्या छ,’ उनले भनिन्,‘स्थानीय प्रशासनले ध्यान नदिएपछि उभिएरै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अधिकांशको छ ।’


सल्यान–रुकुम यातायात व्यावसायी समितिका महासचिव अर्बिन्द्रकुमार राईले चाडपर्वबाहेक अन्य समयमा यात्रु नपाउँदा व्यवसायी मारमा परेको बताए । उनले दाङका यातायात मजदुर संगठनको सल्लाहअनुसार ‘क्यु’ मा सहमति गरिएको जनाए । उनका अनुसार सबैजना एकैपटक फर्कन थालेकाले समस्या भएको छ । उनले यात्रुको चाप बढेपछि एकै दिनमा १२ वटासम्म गाडी थप गरेको दाबी गरे ।


‘समितिका जति गाडी छन्, सबै सञ्चालनमा छन्,’ उनले भने, ‘नभएको कहाँबाट ल्याउने ?’ उनका अनुसार समितिमा गाडीको संख्या कम भएकाले समस्या भएको छ । धेरै यात्रु एकैपटक फर्कने भएकाले केही दिनयता यात्रुको भीड थाम्नै समस्या भएको उनको भनाइ छ । उनले बाध्यताबश: सिटभन्दा बढी यात्रु राख्नुपरेको दाबी गरे ।


जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज ज्ञानेन्द्र शर्माले गाडीको व्यवस्थापनका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको बताए । चाडपर्व भर्खर सकिएकाले यात्रुको चाप बढेको उनको भनाइ छ ।


उनका अनुसार जिल्लाभर दैनिक ५० बढी यात्रुबाहक सार्वजनिक सवारी साधन सञ्चालन भइरहेका छन् । सिट क्षमताभन्दा बढी यात्रु नराख्न गाडी व्यवसायीलाई सचेत गराउँदै आए पनि चाडपर्वका कारण समस्या भएको उनको भनाइ छ ।


उनले यात्रुलाई ठगीमा पर्न नदिन र उनीहरूको समस्या समाधान गर्न विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको जनाए । ‘यात्रुको चापअनुसार गाडीको संख्या नभएकाले केही समस्या भएको छ,’ उनले भने,‘तर ट्राफिक नियम उल्लंघन हुन नदिन चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाइरहेका छौं ।’

प्रकाशित : कार्तिक ३०, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?