कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्राचीन सम्पदा अध्ययन गर्दै विज्ञ टोली

ज्योति कटुवाल

दैलेख — जिल्लाका ऐतिहासिक महत्त्वका सम्पदाको खोजीका लागि विज्ञ टोली दैलेख पुगेको छ । ऐतिहासिक महत्त्वका सम्पदा संरक्षण अभावमा लोप हुन थालेपछि २६ जनाको विज्ञ टोली अध्ययनमा जुटेको हो । टोलीले प्राचीन महत्त्वका सम्पदाबारे खोज तथा अनुसन्धान गर्नेछ । 

टोलीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, सदस्यसचिव जगत उपाध्याय, संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ, जीवेन्द्रदेव गिरी, पूर्व उपकुलपति डा. विष्णु घिमिरे, प्रा.डा. केशव सुवेदी, प्रा.डा.धनेश्वर नेपाल, प्रा.डा. राजाराम सुवेदी, प्रा.डा. मधुसुदन गिरी, रासस अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी (श्यामल) लगायत छन् । टोलीले सदरमुकाम नजिकै भूर्तीमा रहेको पञ्चदेवल, बेलासपुर मन्दिर, कोतगडीको अवलोकन गरेको जनाएको छ ।


जिल्लामा रहेका पुराना सम्पदाको खोजी गर्ने टोलीले जनाएको छ । दुल्लुमा नेपाली भाषाको पहिलो शिलालेख, तेह्रौं शताब्दीका मूर्ति र देवलखम्ब छन् । शिरिस्थान क्षेत्रसँगै पञ्चकोसी क्षेत्र र दुल्लुमा रहेका कृतिखम्ब, देवललगायत सम्पदाको अध्ययन गरिने टोली सदस्य जगत उपाध्यायले बताए ।


‘धेरै सम्पदा छन्, तर पहिचान अझै हुन सकेको छैन,’ उनले भने, ‘धेरै पुराना सम्पदा लोप भइसकेका छन् त्यसैले प्रवद्र्धन गर्न जरुरी छ, त्यसैले हामीले अध्ययन थालेका छौं ।’ मल्लकालीन समयमा निर्माण गरिएका भूर्तीका पञ्चदेवललगायत ऐतिहासिक सम्पदा पर्यटकले सहज रूपमा हेर्न पाउनुपर्ने, सरकारी निकायको संरक्षणका लागि चासो जाग्नुपर्ने उनीहरूको जोड छ ।


सरकारले पञ्चदेवल, कोतगढी, बेलासपुर मन्दिर, पञ्चकोसी क्षेत्रमा पर्ने शिरिस्थान, नाभिस्थान, पादुका, कोटिलालगायत स्थानलाई नयाँ गन्तव्यका रूपमा सूचीकृत गरेपछि पर्यटकको चाप बढ्दै गएको छ । दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले जिल्लामा रहेका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।


उनले दैलेखको पहिचान बोकेका दुल्लुका पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाको खोजी गरेर सिञ्जा राज्यको साख जोगाउन नगरपालिका प्रतिबद्ध रहेको जनाए । उनले त्यसका लागि योजना निर्माणको काम भइरहेको जनाएका छन् ।


दैलेखका स्थानीय तहले ठोस योजना लागू गरेर सम्पदा संरक्षणमा जोड दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले बताए । उनका अनुसार १९६८ सालमा प्रशासनिक निकायका रूपमा निर्माण गरिएको दुल्लु दरबार भग्नावशेषका रूपमा मात्र छ ।


‘द्वन्द्वताका माओवादीले भत्काएका सम्पदाको अझै पुनर्निर्माण भएको छैन,’ उनले भने, ‘पञ्चकोसी तीर्थस्थलमध्ये श्रीस्थान, नाभिस्थान, पादुका, कोटिला र धुलेश्वरलगायत मन्दिरका महत्त्वपूर्ण मूर्ति चोरी भइसकेका छन्, पादुका मन्दिर भत्केर भग्नावशेषमा परिणत भएको छ ।’

प्रकाशित : मंसिर १, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?