१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिँचाइले गाउँ हरियाली

करिश्मा चौधरी

वीरेन्द्रनगर — लेकबेंसी नगरपालिका–६, बाघखोरकी कमला नेपालीले तरकारी खेती सुरु गरेको ९ वर्ष भयो । पाँच वर्षअघिसम्म हिउँदमा तरकारी लगाउन सिँचाइको समस्या थियो । गाउँमा सिँचाइ सुविधा पुगेपछि उनीमात्र होइन, अधिकांश घरधुरीमा तरकारी खेती सजिलो भएको छ ।

सिँचाइले गाउँ हरियाली

सरकार र विश्व बैंकको सहयोगमा बाघखोर सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि घरघरमा तरकारी खेती र बीउ उत्पादनको लहर चलेको छ ।


तीन रोपनी जग्गामा तरकारी लगाउँदै आएकी कमलाको बारीमा अहिले काउली, बन्दागोपी, टमाटर फलिरहेका छन् । बाघखोरकै डिलमाया सिंजालीमगर बीउ उत्पादक किसान हुन् । उनले आठ वर्षदेखि बीउ उत्पादन गर्दै आएकी छन् । पहिले परम्परागत सिँचाइ कुलो हुँदा भनेकै समयमा सिँचाइ गर्न नपाएको डिलमाया बताउँछिन् । ‘आजभोलि जहिले भने पनि बारीमा पानी लगाउन पाइन्छ,’ उनले भनिन्, ‘सिँचाइ सुविधा भएपछि उत्पादन पनि बढेको छ ।’


सिँचाइ आयोजनाको निर्माण २०६७ सालदेखि सुरु भएको हो । आयोजना सम्पन्न गर्न स्थानीयले श्रमदानसमेत गरेको स्थानीय निर्मल थापाले बताए । ‘सिँचाइका लागि आफूले गरेको मिहिनेतले आफैंलाई सजिलो भयो,’ उनले भने, ‘सिँचाइ आएपछि बाह्रैमास तरकारी लगाउन र बीउ उत्पादन गर्न पनि सजिलो भएको छ ।’


गमखोलामा पानीको स्रोत रहेको आयोजनाले ५५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको छ । मुहानको पानी कुलो तथा पाइपलाइनमार्फत ल्याएर सिँचाइ पोखरीमा जम्मा गरिन्छ । पोखरीको क्षमता चार लाख लिटर छ । सिँचाइका लागि १२ सय मिटर पाइपलाइन र बाँकीमा सिमेन्टेड कुलो बनाइएको बाघखोर सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष देवबहादुर रानाले बताए ।

स्थानीय बासिन्दाले ३८ सालदेखि सञ्चालन गरेको सिँचाइ कुलोलाई स्तरोन्नति गरिएको स्थानीय पूर्ण थापाले बताए । उनका अनुसार पहिलाको कुलोबाट वर्षातको सिजनमा मात्र सिँचाइ गर्न सकिन्थ्यो । तर, पानी जम्मा गर्ने पोखरी नहुँदा हिउँदमा सिँचाइ गर्न समस्या थियो । बाघखोरमा पाँच वर्षदेखि बाह्रै महिना सिँचाइ सुविधा पुगेको उनको भनाइ छ ।


कृषिको आधार सिँचाइ सुविधा भएकाले अहिले यहाँका किसानले व्यावसायिक तरकारी तथा बीउ उत्पादन गर्न थालेका छन् । डिभिजन सिँचाइ कार्यालयको अनुदानमा थप चार शाखा सिँचाइ नहर बनाइरहेको अध्यक्ष राना बताउँछन् । ती नहर निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको उनले जनाए ।



सिँचाइ मुहान तथा कुलोको रेखदेख गर्नका लागि वर्षायाममा दुईजना र हिउँदमा एकजना हेरालु राख्ने गरिएको समितिले जनाएको छ । कुलोमा १५/१५ दिनमा उपभोक्ताले सरसफाइ गर्ने गरेका छन् । ‘वर्षायाममा सिँचाइ पोखरीमा पानी जम्मा गर्नुपर्दैन तर हिउँदमा राति पानी जम्मा गरेर दिउँसो कुलोमा छोड्ने गर्छौं,’ अध्यक्ष रानाले भने, ‘यसले किसानलाई सजिलो भएको छ ।’

प्रकाशित : मंसिर १, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?