२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

एमडीजीपी संचालनको अध्ययन गर्न काउन्सिल टोली जुम्लामा 

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमडीजीपी अध्ययन सुरु गर्नका लागि नेपाल मेडिकल काउन्सिलको टोलीले प्रारम्भिक निरिक्षण गरेको छ ।

एमडीजीपी संचालनको अध्ययन गर्न काउन्सिल टोली जुम्लामा 

कर्णाली जस्तो दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा साथसाथै स्वास्थ्य शिक्षा समेत दिँदै आएको प्रतिष्ठानमा एमडीजीपी पढाइ सुरु गर्नका लागि भौतिक अवस्था, उपकरण र जनशिक्तीको अवस्थाका बारेमा बुझ्न काउन्सिलको टोली जुम्ला पुगेको हो ।


नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष नारयण विक्रम थापाको नेतृत्वमा काउन्सिलका सदस्य एवं मेडिकल एसोसियसनका अध्यक्ष मुक्तीराम श्रेष्ठ, सदस्यहरु ढुण्डी पौडेल, अकुर शाह, शिवजी पौडेल, सुनिल शाह लगायत नेपाल मेडिकल काउन्सिलको टोलिले शुक्रबार प्रतिष्ठानको शिक्षण अस्पतालको निरिक्षिण गरेको हो ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सुरु भए दुर्गम क्षेत्रका जनताले गुणस्तरीय विशेषज्ञ सेवा पाउनुका साथै यस क्षेत्रको शैक्षिक विकास हुने, स्वास्थ्य पर्यटन प्रवद्र्धन हुने र यस क्षेत्रको आर्थिक समृद्धि हुने प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।


‘एमडीजीपी कार्यक्रम सुरु गर्नका लागि सम्पूर्ण तयारीहरु पूरा भैसकेको छ । अब काउन्सिलले स्वकृति दिएपछि कार्यक्रम अघि बढाउने छौं,’ उनले भने, ‘काउसिन्लका सबै सदस्यहरुले अस्पतालको निरिक्षण गरिसक्नु भएको छ । अब उहाँहरुले कस्तो प्रतिवेदन दिनुहुन्छ त्यसको आधारमा अर्को विशेषज्ञ टोलिले अनुगमन गरेपछि एमडिजिपि पढाइ सुरु गर्नका लागि अनुमति दिन्छ ।’


कर्णालीको बारेमा काठमाडौबाट सुनेको भन्दा प्रत्यक्ष हेर्दा धेरै फरक पाएको मेडिकल एसोसिएसनका अध्यक्ष मुुक्तीराम श्रेष्ठले बताए । ‘भौगोलिक बनोट, जनसंख्याको चाप, बिरामीको संख्या हेर्दा जुम्लामा एमडीजीपी कार्यक्रम सुरु गर्दा राम्रो हुने देखिन्छ,’ उनले भने, ‘पहिले पहिले कर्णालीमा चिकित्सक जनशक्ति आउन नमाने पनि अहिले परिस्थिति फरक छ, भौतिक संरचना राम्रो छ, उपकरणहरु पनि प्रयाप्त मात्रामा छन् अझै केही उपकरणहरु थप गर्नुपर्ने देखिन्छ । सबै पूरा भयो भने कर्णालीमा एमडीजीपी कार्यक्रम राम्रोसँग चल्ने देखिन्छ । कर्णाली प्रदेशकै ठूलो अस्पताल भएकाले सकरात्मक रुपमा लिनुपर्ने हुन्छ ।’


काउन्सिलको टोलिले प्रारम्भिक निरिक्षण गर्दा जुम्लामा एमडीजीपी पढाउने र अन्य प्रदेशका १३ वटा अस्पतलामा प्रयोगात्मक गराउँदा उपयुक्त हुने बताएको छ । प्रदेशका अस्पतालहरुसँग प्रतिष्ठानले समन्वय गरेर अघि बढे छिट्टै जुम्लामै एमबीबीएस पढाइ पनि हुनसक्ने सम्भावना रहेको छ ।


पहिलेको तुलनामा बिरामीको संख्या पनि बढेको अस्पतालको रेकर्डमा देखिएको छ । गत वर्षको तुलनामा ५० प्रतिशतले बिरामीको संख्या बढेको छ । अझै पनि धेरै रोगहरु पालेर स्थानीयहरु घरमै वसेका छन् । अस्पताल आउने बानी परेको छैन । बिरामीहरु विस्तारै अस्पताल आउने बानी पर्दै गएको शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए ।


‘अहिले सुर्खेत, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, डोल्पा, रुकुम लगायतका कर्णाली प्रदेश भित्रका जिल्लाहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य सेवा दिइरहेका छन्,’ उनले भने, ‘हामीले दुर्गम जिल्लाहरुमा विशेषज्ञ चिकित्सक पठाएका छौं ।


काउन्सिलको निरिक्षण टोलि जुम्ला पुगेर प्रतिष्ठान र शिक्षण अस्पतालको प्रारम्भिक निरिक्षण गरेपछि एमडीजीपी कार्यक्रम सुरु गर्नको लागि प्रतिष्ठानलाई बाटो खुलेको छ ।’


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताललाई नमुना अस्पतालको रुपमा विकसित गरिरहेको प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले बताए ।


अहिले प्रतिष्ठानमा स्टाफ नर्स, ब्याचलर अफ मिडवाइफ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ र एनएसथेसिया एसिस्टेन्टको पढाइ भैरहेको छ ।


प्रकाशित : मंसिर २, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?