३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पाखो बारीमा टिमुर खेती

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका ५, वडागाउँका दक्ष पुन घर नजिकैको पाखोबाट घाँस ल्याउँछन् र बस्तुभाउलाई खुवाउँछन् । उनले थाहा पाएदेखि न उक्त पाखोले डाले र भुइँघाँस मात्रै दिन्छ ।

निर्वाहमुखी पेसाका लागि उनको परिवारलाई पाखोले पुगेकै थियो । अब उक्त पाखोमा नगदेबालीको उत्पादन पनि सुरु हुने भएको छ । पुनले डाले र भुइँघाँसको साथै अब पाखोबाट टिमुर उत्पादन थालेका छन् । त्यसका लागि उनले पहिलो चरणमा ६ सय टिमुरका बोट रोपेका छन् ।


गत असारमा रोपिएका टिमुरका बोट हुर्किंदै छन् । असारमा रोपिएका बोटलाई सजिलो बनाउन हरेक बोटमा विशेष खाडल र अडेस बनाइएको छ । ‘टिमुर उत्पादनको राम्रो सम्भावना भएपछि एउटै क्षेत्रमा बहुखेती किन नगर्ने भनेर टिमुर खेती पनि सुरु गरेको छु,’ पुनले भने, ‘यो पाखोबाट अब डाले र भुइँघाँसको साथमा नगदेबाली टिमुरबाट पनि आम्दानी गर्ने सोचसहित टिमुर खेती थालेको छु ।’


उपयुक्त ठाउँ र उचाइ भएको पाखोमा टिमुर खेती सुरु गरिएको उनले बताए । झन्डै पाँच लाख रुपैयाँको लगानीमा उनले टिमुर खेती थालेका छन् । साविकको जिल्ला वन कार्यालयले ३० हजार मूल्यका चार सय टिमुरका बोट उपलब्ध गराएकामा उनले २ सय बोट जंगलबाट खोजेर थपेका छन् । टिमुर खेतीका लागि बेर्ना रोप्न जग्गा तयारीदेखि पानी व्यवस्थापनसम्म पाँच लाख रुपैयाँ लगानी गरिएको पुनको भनाइ छ ।


तीन वर्षभित्रै टिमुरले आम्दानी दिने दाबी उनले गरेका छन् । पाखोबारीमै टिमुर फल्ने, भण्डारण गर्न सजिलो, प्रशस्त बजार भएकाले टिमुर खेतीमा आकर्षित भएको उनले बताए । तयारी अवस्थामा रहेको टिमुर एक वर्षसम्म पनि सजिलै भण्डारण गर्न सकिने भएकाले कम खर्चिलो उत्पादनमा पनि टिमुर पर्छ ।

चराचुरुंगी, गाईबस्तुले नखाने भएकाले पनि टिमुरबाट सहजै आम्दानी गर्ने विश्वासका साथ लागिएको पुनको भनाइ छ । पाखोमा टिमुरसहित अन्य डालेघाँस रोप्ने तयारीमा छन् उनी । टिमुरलाई सहयोग हुने भएकाले थप डालेघाँस रोप्ने र त्यसबाट टिमुरको आम्दानी बढाउनुका साथै बस्तुभाउका लागि पनि थप सजिलो हुने उनी बताउँछन् ।


व्यावसायिक रूपमा नमुना टिमुर खेती गर्ने विस्तृत योजनासहित अघि बढिए पनि स्थानीय सरकारको सहयोग नभएको गुनासो उनको छ । ‘सरकार कता हिँडेको छ, कसलाई सुनेको छ थाहा छैन,’ उनले भने, ‘तर, व्यावसायिक योजनासहित अघि लागेकालाई थोरै भए पनि सरकारको सहयोग हुनुपर्छ ।’

प्रकाशित : मंसिर २, २०७५ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?