कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पञ्चदेवल पुनर्निर्माण गरिने

दैलेख — साढे सात सय वर्षअघि निर्माण भएको दैलेखको भुर्तीस्थित पञ्चदेवलको पुनर्निर्माण हुने भएको छ । यसका लागि नारायण नगरपालिकाले डीपीआर बनाउन सुरु गरेको छ ।

पञ्चदेवल पुनर्निर्माण गरिने

विक्रम संवत् १३२१ मा निर्माण भएको पञ्चदेवललाई संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले ऐतिहासिक सम्पदाको सूचीमा राखेको छ । पञ्चदेवल नारायण नगरपालिकाको ६ नम्बर वडामा पर्छ । उक्त वडाका वडाध्यक्ष प्रकाश न्यौपानेले बुधबारदेखि डीपीआरको काम सुरु गरिएको जानकारी दिए ।


उनका अनुसार पुनर्निर्माण गर्न करिब पाँच करोड रुपैयाँ लागत अनुमान गरिको छ । यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट आर्थिक व्यवस्थापन गरिने उनले बताए ।


‘ऐतिहासिक महत्त्वको देवलहरू टुक्रिँदै र फुट्दै गएपछि जीर्णोद्धारका लागि पहल थालिएको हो,’ उनले भने, ‘डीपीआर सकिएलगत्तै पुरातत्त्वविद् र पर्यटनविद्को सल्लाहअनुसार काम सुरु गरिनेछ ।’ पञ्चदेवलमा रहेका ऐतिहासिक ढुङ्गेधारा, पाटीपौवाको पुनर्निर्माण गर्न सके पर्यटकीय क्षेत्रमा टेवा पुग्ने उनले बताए ।


देवलस्थलमा संरचना निर्माणका लागि नगरपालिकाले स्थानीय पदमप्रसाद भट्टराईको पाँच रोपनी जग्गा खरिद गरिसकेको छ । उक्त जग्गामा पार्क र बेलासपुर मन्दिर जाने सिंढी निर्माण गरिने वडाध्यक्ष न्यौपानेले बताए ।


डीपीआरको जिम्मा नेपाल इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट एसोसिएसनले लिएको छ । एसोसिएसनका प्रबन्धक निर्देशक नमन शाहीले पक्की पर्खाल, पार्क, धारा र पौवा निर्माणका लागि करिब पाँच करोड खर्च हुने बताए । पुनर्निर्माणको लागि करिब पाँच वर्ष समय लाग्ने उनले बताए ।


संरक्षण अभावमा पञ्चदेवलमा ढुंगामा कुँदेर बनाइएका धारा, पौवा भत्किएका छन् । देवल पनि जीर्ण अवस्थामा छन् । भुर्तीका स्थानीय रामप्रसाद रेग्मीले सरोकारवालाले देवलहरूको मर्मत नगर्दा यस्तो अवस्था आएको बताए । ‘देवलभित्र गाईबाख्रा चराउनेले शौच गर्ने गरेका छन्,’ उनले भने, ‘समयमै संरक्षण गर्न नसके देवलको अवस्था अझ नाजुक हुनेछ ।’


पञ्चदेवलमा २२ वटा देवल छन् । यी देवल करिब १८ देखि ३२ वर्गमिटर क्षेत्रमा फैलिएका छन् । धेरैजसो देवलका ढोकामाथिको ‘कार्नेस’ मा गणेशको मूर्ति कुँदिएका छन् । दैलेखमा यस्ता पञ्चदेवल अन्य २५ स्थानमा पनि छन् । यी सबैको अवस्था पञ्चदेवलको जस्तै जीर्ण छन् ।

प्रकाशित : मंसिर ३, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?