२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

प्रदेश संग्रहालयमा घुइँचो

प्रदेश संग्रहालयमा कर्णाली प्रदेशका सांस्कृतिक पहिचान झल्कने विषयवस्तु र विभिन्न ऐतिहासिक सामग्री राखिएका छन्
करिश्मा चौधरी

वीरेन्द्रनगर — ‘ऊ त्यो मूर्ति हेर त साँच्चैको मान्छे जस्तो, अनि त्याँ पैसाको माला हेर न काठको भाँडा,’ वीरेन्द्रनगरस्थित प्रदेश संग्रहालयमा आइतबार दिउँसो करिब एक सय विद्यार्थी आपसमा कुरा गर्दै विभिन्न सामग्री अवलोकनमा व्यस्त थिए ।

प्रदेश संग्रहालयमा घुइँचो

सुर्खेतकै एक निजी विद्यालयले विद्यार्थीलाई संग्रहालय अवलोकनका लागि ल्याएको थियो । विभिन्न जातजातिको वेशभूषा, मूर्ति, गहना तथा भाँडा हेर्दा अधिकांश विद्यार्थीमा उत्सुकता र खुसी थियो ।

संग्रहालयका अनुसार औसत दैनिक २० जनाले अवलोकन गर्ने गरेका छन् ।


त्यसमध्ये अधिकांश विद्यार्थी अवलोकनका लागि आउने गरेको संग्रहालय प्रशासनले जनाएको छ । स्थानीय शिक्षिका लक्ष्मी शाहले पहिलोपटक संग्रहालय अवलोकनका लागि आएको बताइन् । ‘सुनेको र सोचेको भन्दा पनि राम्रो लाग्यो,’ शाहले भनिन्, ‘यहाँ प्रदर्शित वस्तु हेर्दा हाम्रो संस्कृति कस्तो थियो र छ भन्ने प्रस्टै जानकारी पाउन सकिन्छ ।’


अर्की शिक्षिका केतकी निरौलाले विद्यार्थीसँगै संग्रहालय अवलोकन गर्दा रमाइलो लागेको बताइन् । ‘पहिले यस्ता भाँडा, गहना, मान्छे प्रत्यक्ष देखिन्थे, आजभोलि हेर्न संग्रहालयमा आउनुपर्ने भयो,’ उनले भनिन्, ‘यहाँ आउँदा हाम्रो संस्कृति कस्तो थियो भन्ने सम्झना हुन्छ ।’


प्रदेश संग्रहालयमा कर्णाली प्रदेशका सांस्कृतिक पहिचान झल्कने विषयवस्तु र विभिन्न ऐतिहासिक सामग्री राखिएका छन् । थारू, मगर, राउटेलगायत जातजातिको पहिचान झल्कने मूर्ति, पोसाक, गहना, भाँडा औजारलगायत सामग्री संग्रहालयमा राखिएको छ । प्रदेश संग्रहालय अवलोकन गर्न स्थानीय र बाहिरी जिल्लाबाट आउने विद्यार्थीको संख्या बढ्दै गएको संग्रहालय प्रशासनले जनाएको छ । बाहिरी जिल्लाबाट आउनेमा कैलाली र कञ्चनपुरका धेरै हुन्छन् ।


गत आर्थिक वर्षमा आठ हजार सात सय ७९ जनाले संग्रहालयको अवलोकन गरेको तथ्यांक छ । गत वर्ष ८० हजार ९ सय ८० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख शान्ति शेर्माले बताइन् । उनका अनुसार चालु आर्थिक वर्षको चार महिनामा दुई हजार पाँच सय ६९ जनाले संग्रहालयको अवलोकन गरे । चालु आर्थिक वर्षमा २४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ ।


यसअघि पुरातत्त्व विभागअन्तर्गत रहेको क्षेत्रीय संग्रहालयलाई प्रदेश सरकारको मातहत ल्याइएको छ । प्रदेश सरकारअन्तर्गत सञ्चालन हुन थाले पनि बजेट नआएको प्रमुख शेर्माले बताइन् । उनका अनुसार रकम नआउँदा संग्रहालय विस्तारमा समस्या भएको छ ।


‘प्रदेश संग्रहालय भएकाले कर्णालीका हरेक संस्कृति, परम्परा, संस्कार झल्काउने विषयवस्तु र सामग्री राख्ने योजना छ,’ उनले भनिन्, ‘तर आर्थिक समस्या छ,’ संग्रहालय विस्तारका लागि अनुसन्धान गर्ने तथा डकुमेन्ट्री बनाउने योजना रहेको उनको भनाइ छ । प्रदेश सरकारले साथ दिए नमुना संग्रहालय बनाउने लक्ष्य शेर्माको छ ।

प्रकाशित : मंसिर ३, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?