डिग्रे धार्मिक मेलाको रौनक

रुकुम पश्चिम — जिल्लाको सबैभन्दा ठूलो धार्मिक मेला सुरु भएको छ । मुसीकोट नगरपालिका–५, स्थित थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिर परिसरमा हरिबोधनी एकादशीदेखि पूर्णिमाको दिनसम्म धार्मिक मेला लाग्दै 
आएको छ । यस वर्ष सोमबारदेखि मन्दिरमा देवीको पूजाअर्चना सुरु भएको छ । 

पाँच दिनसम्म हरेक दिन मन्दिरको दर्शन गर्ने दर्शनार्थी तथा भक्तजनको संख्या बढै्द जान्छ । डिग्रे शाईकुमारी भगवती देवीको मागअनुसार नै डिग्रेमा मेला लाग्न सुरु गरेको विश्वास गरिन्छ ।


धन, जन र अन्न वरदानको विशेषता बोकेको डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको महत्व बढ्दै गइरहेको छ । परापूर्वकालदेखि मेला लाग्दै आएको छ ।


मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वासका साथ तीर्थयात्रीको संख्यामा वृद्धि भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष लालबहादुर केसीले धन, जन र वरदान मागेकाको इच्छा पूर्ति भएपछि दोहोर्‍याएर मन्दिर तथा मेला पुग्ने गरेको बताए ।


मन्दिरमा दैनिक पूजापाठ हुने भए पनि हरेक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको तिथिमा विशेष महत्वका साथ मुलुकका विभिन्न स्थानबाट तीर्थालु आउने गरेका छन् । एकादशीदेखि नै मन्दिरमा दर्शनार्थीको भीड लाग्न सुरु गरेको छ । मन्दिरमा शान्तिका लागि परेवा उडाइन्छ भने पहिले भाकल गरेका तीर्थालुले बोकाको बलि चढाउने गरेको मूल पुजारी रामप्रसाद गौतमले बताए ।


बर्सेनि लाग्ने मेलाबाट मन्दिरले राम्रो आम्दानी गर्ने गरेका छन् । मन्दिरमा बलि चढाइएका बोकाको टाउका बिक्री, अनाज र भेटीबापत मन्दिरमा हरेक वर्ष आम्दानी हुने गरेको हो ।


मन्दिरमा रुकुम पश्चिमसहित रुकुमपूर्व, सल्यान, रोल्पा, डोल्पा, जाजरकोट, सुर्खेत, दाङ, बाँके, कपिलवस्तु, नवलपरासी, रुपन्देही, काठमाडौंका साथै भारतका केही ठाउँबाट दर्शनार्थीहरू आउने गर्दछन् ।


हरेक वर्षको मेला ७० हजारदेखि एक लाख जनासम्मले भर्ने गरेको व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?