कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

वन ओगटेर घर–टहरा

जाजरकोट — जिल्लाभरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वन, जमिनलगायत सार्वजनिक क्षेत्र अतिक्रमण बढ्दै गए पनि डिभिजन वन कार्यालय लगायतका निकाय बेखबर छन् । 

बारेकोट गाउँपालिका–४, को ढोटाचौर सामुदायिक वन क्षेत्रमा धमाधम घरटहरा निर्माण र खेतीपाती बढ्दै गएको छ । ढोटाचौरमा एक सय घरपरिवारले वनक्षेत्र अतिक्रमण गरेर बसोबास गर्दै आएका छन् ।


वन अतिक्रमण गरेर बनाएका घरटहरा भत्काउने र अतिक्रमण रोक्नेतर्फ कुनै पनि निकायले ध्यान नदिएको स्थानीय पृथीबहादुर नेपालीले बताए ।


जथाभावी अतिक्रमण तथा वनजंगलको विनासले वनक्षेत्र घट्दै गएको उनको भनाइ छ । गाई, भैंसी, भेडा, घोडालगायत पशुचौपायाको चरीचरण क्षेत्रसमेत अतिक्रमण भएको उनले जानकारी दिए । उनका अनुसार बारेकोटको वन क्षेत्रमा पर्ने ढोटाचौर, लाग्ना, चौथारी, राँगाचौथारी, गाईघुवा, घट्टेचरी, साँखोली, तम्ती, चाखुरेलगायत ठाउँमा घरटहरा बनाउने र खेतीपाती गर्ने क्रमले तीव्रता पाएको छ । ‘अतिक्रमणले मूल्यवान जडीबुटी तथा रुखबिरुवाको विनास भएको छ,’ उनले भने, ‘जंगली जनावर र पशुपन्छी लोप हुन थालेका छन् ।’


सरोकारवालाको सर्वपक्षीय बैठक तथा छलफल, अन्तरक्रियालगायत गतिविधि सञ्चालन गरेर वन अतिक्रमण नियन्त्रण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । ‘के कति वनक्षेत्र अतिक्रमण भएको भन्ने लगत संकलन गरेर अतिक्रमित क्षेत्र खाली गराउँदै लगिने छ,’ अध्यक्ष शाहले भने ।


जिल्लाभर दुई हजार हेक्टर वनक्षेत्र अतिक्रमण भएको पाइएको छ । भेरीमालिका, छेडागाड, नलगाड नगरपालिका, कुशे र जुनीचाँदे गाउँपालिकामा सबैभन्दा बढी वन अतिक्रमण भएको छ ।

अतिक्रमित क्षेत्रमा करिब तीन हजार घरटहरा बनेका छन् ।


वन अतिक्रमणबाट सल्ली, साल, लुइँटो, गुराँसलगायत महत्वपूर्ण बोटविरुवाको जंगल विनास भएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा दुई सय ४८ सामुदायिक, ६७ कबुलियती र दुई निजी वन छन् ।


सहायक वन अधिकृत नेपाली साहले घरटहरा निर्माण तथा खेतीपाती गरेर वन क्षेत्र अतिक्रमण भएको बताए । स्थानीय सरकारको सहयोगबिना वन अतिक्रमण र नियन्त्रण गर्न नसकिने उनको भनाइ छ । कार्यालयका अनुसार कबुलियती वनले आठ सय र सामुदायिक वनले ३५ हजार हेक्टर क्षेत्र ओगटेको छ ।


जिल्लाभर एक लाख २९ हजार हेक्टर वन क्षेत्र रहेको कार्यालयले जनाएको छ । ८६ हजार हेक्टर वन क्षेत्र समुदायमा हस्तान्तरण हुन नसकेको उनले बताए ।

प्रकाशित : मंसिर ४, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?