कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

प्रहरी–नागरिक सुनुवाई, ‘पहुँचवालाकै पक्षमा कानुन’

वडाध्यक्ष भन्छन्, ‘कानुन पनि हुने खाने र हुँदा खानेका लागि दुई खाले भएको महसुस भएको छ ।’

कालिकोट/सल्यान — स्थानीयले प्रहरीसमक्ष कानुन पहुँचवालाकै पक्षमा भएको गुनासो गरेका छन् । प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालयको सहकार्यमा १० वटै जिल्लामा गरेका अन्तक्रियामा प्रहरीप्रति विभिन्न गुनासा पोखेका हुन् ।

प्रहरी–नागरिक सुनुवाई, ‘पहुँचवालाकै पक्षमा कानुन’

अधिकांश जिल्लामा प्रहरीको काम अझै प्रभावकारी हुन नसकेको उनीहरूको आरोप छ । ‘पहँँुच नहुनेले गल्ती गरे तत्कालै मुद्दा दर्ता हुन्छ, पहँुच हुने ठूलाबडाका आफन्तले अपराध गरे पनि वास्ता हुँदैन,’ खाडाचक्र–४, का वडाध्यक्ष धनसिंह कामीले कालिकोटमा आयोजित प्रहरी–नागरिक सुनुवाइमा भने, ‘कानुन पनि हुने खाने र हुँदा खानेका लागि दुई खाले भएको महसुस भएको छ ।’


उनले दलितले अझै पनि अपमान सहनुपर्ने अवस्था रहेको बताए । दलितका मुद्दामा मिलापत्र हुने गरेको उनको आरोप छ । राष्ट्रिय जनमोर्चाका मीनबहादुर शाहीले रास्कोटको हत्या मुद्दामा प्रहरीले निर्दोषलाई थुनामा राखेको र दोषी छाडेको आरोप लगाउँदै आरोपितले नभनेको कुरा बयानमा लेखेको गुनासो पोखे । सुनुवाइमा राप्रपाका नेता धनबहादुर बुढाले मदिरा जिल्लाको मुख्य सुरक्षा चुनौती रहेको जनाए ।


राप्रपा उपाध्यक्ष लालबहादुर मल्लले द्वन्द्वमा विस्थापित छाप्रे प्रहरी चौकी सेरावाडामा स्थानान्तरण गरेर अन्याय गरिएको बताए । प्रहरी चौकीको भवन बनाउन स्थानीय पाँच जनाले ३५ सय वर्गमिटर जग्गा पास गरे पनि गृहमन्त्री शक्ति बस्नेतको पालामा प्रहरी चौकी छाप्रेमा सार्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

कांग्रेस नेता दमनबहादुर शाहीले महिला हिंसा, दुर्व्यसन, मदिरा नियन्त्रणलगायत काममा प्रहरी सक्रियता बढ्नुपर्ने बताए । उनले मान्म बजारमा सिसि क्यामेरा, पीडितको गुनासो सुनुवाइलगायत सकारात्मक काम सुरु गरिएको जनाए । जिल्लामा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको गुनासो गर्दै व्यवसायी जीवनकुमार शाहीले राज्यलाई कर तिरेका मदिरा व्यवसायी मर्कामा परेको गुनासो पोखे ।


उनले विप्लवका कार्यकर्ताले राज्यबाट इजाजत लिएर कर तिरेर ल्याएको मदिरा तोडफोड गरेर नष्ट गरेको गुनासो पोख्दै व्यवसाय गरी खान नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताए । होटल व्यवसायी धनबहादुर बटालाले नरहरिनाथको कुमालगाउँ इलाका प्रहरी चौकीमा प्रहरी निरीक्षकको दरबन्दी भए पनि असई इन्चार्ज भएको बताए । गाउँमा मदिरा र जुवातास व्यापक रहेको पूर्व जिविस उपसभापति सत्यबहादुर शाहीले बताए । उनले नियन्त्रणमा गर्न प्रहरीको ध्यान जानुपर्ने बताए ।


कांग्रेस जिल्ला सदस्य नमराज बमले पलातामा स्थानीय सरकारले मदिरा नियन्त्रणको नाममा ज्यादती गरेको आरोप लगाए । उनले प्रहरी परिचालन गर्नुपर्नेमा कार्यदल पठाएर जनताका घर खानतलासी गर्ने र दु:ख दिने गरेको आरोप लगाए । उनले खीन र धौलागोहको बीचमा प्रहरी बिटको पनि माग गरे ।


कालीकोटका महिला सबै खाले हिंसाबाट पीडित रहेको गुनासो गर्दै महिला नेतृ धर्मा शाहीले प्रहरी चौकीमा महिला सेल राख्नुपर्ने र महिला प्रहरीको दरबन्दी थप गर्नुपर्ने माग गरिन् । जिल्ला न्यायाधिवक्ता सन्तोषप्रसाद भण्डारीले दलितका मुुद्दा मिलापत्रमा टुंगिने भन्ने मित्था आरोप भएको दाबी गरे ।


प्रदेश प्रहरी प्रमुख (डिआईजी) महेशविक्रम शाहले नागरिकको गुनासो सुन्न र मातहतका प्रहरी युनिटलाई निर्देशन दिन जिल्ला भ्रमणमा रहेको बताए । मुगु हुँदै जुम्लाको हाट सिंजा, खलंगा बजारमा सुनुवाइमा सहभागी भएको उनको भनाइ छ । डीआईजी शाहले प्रहरी र नागरिकबीच हातेमालो गर्नुपर्नेमा जोड दिए । प्रहरीले महिला हिंसा न्यूनीकरण, बाल विवाह अन्त्य, कानूनी सचेतनालगायत अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ ।


जिल्ला प्रहरी प्रमुख (डीएसपी) विनोद शर्माले अपराध र विकास सँगै जोडिएर आउने भएकाले नागरिक र प्रहरी मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले खराब काम गर्नेको विरोध, आलोचना गर्न र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न सबै सरोकारवालाई अनुरोध पनि गरे ।


प्रहरी सक्रियतामा जोड

पछिल्लो समय प्रहरी–नागरिक सम्बन्ध सुधार भए पनि प्रहरी लापरबाहीका कारण आपराधिक घट्ना बढ्दै गएको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रमका सहभागीले अपराध रोक्न प्रहरी सक्रियतामा जोड दिए ।


सहभागीले विभिन्न स्थानमा प्रहरी जनशक्ति कम हुँदा आपराधिक घटना बढ्दै गएको आरोप लगाए ।

केही आपराधिक घटनामा प्रहरी पूर्ण सफल हुन नसकेको महिला मानव अधिकार सञ्जालकी अध्यक्ष सोभिता बस्नेतले बताइन् ।


उनले सूचना तथा प्रहरीको सहयोगका लागि नि:शुल्क टोल फ्री नम्बर ‘एक सय’ मा फोन गर्दा नउठ्ने गरेको आरोप लगाइन् । गाडी पार्किङको व्यवस्था नहुँदा स्थानीयबासीलाई विभिन्न स्थानमा आउजाउमा समस्या भएको शारदा नगरपालिका–२, पुरानो बसपार्कका प्रेम शर्माले बताए ।


स्थानीय युवा लागू औषध दुव्र्यसनीको कुलतमा फस्दै गएको स्थानीय कौशलकुमार राईले बताए । उनले युवालाई दुव्र्यसनीबाट मुक्त गराउन प्रहरीले लागू औषध ओसारपसार नियन्त्रणमा कडाइ गर्न नसकेको जनाए । ‘कसैलाई पक्राउ गरेर ल्याए भोलिपल्ट छाडिने गरिएको छ,’ उनले भने, ‘त्यसैले युवाहरू दुव्र्यसनीतर्फ उत्प्रेरित भएका छन् ।’ शारदा नगरपालिका–१३, का वडाध्यक्ष दीपककुमार हमालले आसपासमा चौकी नभएकाले स्थानीयले शान्ति सुरक्षाको महसुस गर्न नपाएको बताए ।


जिल्ला बार एसोसियसनका अध्यक्ष लालबहादुर रावतले ग्रामीण क्षेत्रमा प्रहरीप्रति स्थानीयको धारणा नकारात्मक भएकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । गैसस महासंघका अध्यक्ष दिपेन्द्रप्रकाश डिसीले बढ्दै गएको साइबर क्राइम कम गर्न प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्न नसकेको जनाए ।


जिल्ला प्रहरीले मदिरा नियन्त्रण अभियान सञ्चालन गरे पनि प्रभावकारिता नदेखिएको स्थानीय धनबहादुर नेपालीको भनाइ छ । नेपाली कांग्रेसका सचिव प्रकाश भण्डारीले प्रहरीले जनताको सुरक्षा गर्ने भन्दा जनताले प्रहरीको सुरक्षा गर्नुपर्ने अवस्था आएको जनाए ।


जिल्लामा दरबन्दी अनुसार प्रहरी नभएका र आवश्यकता अनुसार चौकी नभएकाले स्थानीयले भरपर्दो सुरक्षा पाउन नसकेको उनको भनाइ छ ।

नागरिक सुनुवाइ कार्यक्रममा सहभागी कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) शाहले मदिराका कारण विभिन्न घटना घट्दै गएको जनाए । उनले दरबन्दी अभावको समस्या हल गर्न प्रदेश प्रहरी कार्यालयले पहल गरिरहेको जानकारी दिए । लागू औषध दुव्र्यसनीबाट युवालाई बचाउन विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिए ।


उनले दुव्र्यसनीमा परेकाका लागि सुर्खेतमा सुधार केन्द्र स्थापनाको तयारी भइरहेको जनाए । ग्रामीण क्षेत्रमा प्रहरी–नागरिक सम्बन्ध सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न उनले मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिए ।

प्रकाशित : मंसिर ४, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?