कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्ती लोकमार्ग जीर्ण

अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्रे उप्किएको आरोप
बिप्लब महर्जन

सल्यान — राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्ड कालोपत्रे गरेको तीन वर्षमै जीर्ण बनेको छ । सडकमा ओटासिल प्रविधिको कालोपत्रे गरिएको थियो । अधिकांश स्थानको कालोपत्रे उप्किएपछि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । 

अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ । कालोपत्रे उप्किएपछि सडक धुलाम्मे र हिलाम्मे बन्दै गएको छ । सडक डिभिजन कार्यालय दाङले विभिन्न खण्ड विभाजन गरेर ठेकेदारमार्फत सडक कालोपत्रे गराएको थियो । डिभिजनका प्राविधिक र ठेकेदारको मिलेमतोमा कालोपत्रे गुणस्तरीय नभएको स्थानीयको आरोप छ । सडकको अधिकांश खण्डमा खाल्डाखुल्डी बढेका छन् ।


सडक धुलाम्मे बनेपछि बटुवालाई समेत आउजाउमा सास्ती भएको छ । कमसल पिच गरिएकाले यात्रा गर्दा धेरै कठिनाइ हुने स्थानीय पूर्णबहादुर थापाले बताए ।


उनका अनुसार दाङ–सल्यान खण्डको राम्रीदेखि शीतलपाटी र शीतलपाटीदेखि खौलासम्म सबैभन्दा बढी खाल्डाखुल्डी छन् । ‘सडकको अवस्था दयनीय हुँदा पनि सम्बन्धित निकाय मौन छ,’ उनले भने, ‘सडक पूर्णरूपमा पिच भए तुललीपुरदेखि खलंगा आउन बढीमा डेढ घन्टा लाग्छ, तर जीर्ण सडकका कारण गाडीले चार घन्टा बढी समय लगाउने गरेका छन् ।’


स्थानीय विमल भण्डारीले सडकको अवस्थाले स्थानीयले ठूलो कष्ट भोग्नुपरेको बताए । ‘सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्ने पछार्ने गरेको छ,’ उनले भने, ‘यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ, तर कसैले वास्ता गरेनन् ।’ उनका अनुसार मोटरसाइकलमा यात्रा गर्न बढी जोखिम छ ।


जताततै खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुन थालेको गाडी चालकले जनाएका छन् । जीर्ण सडकका कारण गाडी छिटो बिग्रने समस्या आउन थालेको उनीहरूको गुनासो छ । वर्षैपिच्छे मर्मतको नाममा करोडौं रकम विनियोजन गरिए पनि सडकको अवस्था बिगँ्रदै गएको यातायात व्यवसायी बताउँछन् ।


सडकको अवस्था दयनीय भएका कारण सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज (सई) ज्ञानेन्द्र शर्माले बताए । खाल्डाखुल्डी भएकाले मोटरसाइकल धेरैजसो दुर्घटनामा पर्ने गरेको उनको भनाइ छ ।


‘सडकमा खाल्डाखुल्डी बढ्दै गएका छन्, दिनभरजसो राजमार्ग धुलाम्मे देखिन्छ,’उनले भने, ‘धूलोले गर्दा यात्रुको स्वास्थ्यमा पनि धेरै असर पर्न थालेको छ ।’ मर्मतको ठेक्का लिएका ठेकेदार कम्पनीले स्थानीय प्रशासनको आँखा लाग्ने ठाउँमा मात्र मर्मत गर्दै आइरहेको उनले आरोप लगाए । मर्मत गरेकै ठाउँको सडकको कालोपत्रे छिटै उप्किंदा गाडी चलाउन समस्या भएको उनले जनाए । आफूहरूले पटक–पटक सडकको अवस्थाबारे जानकारी गराए पनि सडक डिभिजनले बेवास्ता गरेको उनले बताए ।


दाङदेखि सल्यान खलंगासम्म मात्र नभई शीतलपाटीदेखि रुकुमको सिमानासम्म ५५ किलोमिटर सडकको कालोपत्रे उप्किंदै गएको नेकपा मालेका नेता बलबहादुर गिरीले बताए । जीर्ण सडकले आसपास घर भएका मानिसको स्वास्थ्यमा समेत असर पर्न थालेको उनको भनाइ छ । ‘सडकको यस्तो दुरावस्था छ, सम्बन्धित निकाय मौन छ,’ उनले भने, ‘हाम्रोतर्फबाट सडकको अवस्था सुधार्न सक्दो पहल भइरहेको छ ।’


पर्याप्त बजेट अभावमा सडकको मर्मतमा समस्या भएको सडक डिभिजन कार्यालय, दाङका प्रमुख बद्रीप्रसाद शर्माले बताए । उनका अनुसार सल्यान खण्डको झन्डै ४० किलोमिटर सडक जीर्ण बनेको छ ।


‘प्रत्येक वर्ष राप्ती लोकमार्ग मर्मतका लागि डेढ/दुई करोड रुपैयाँ बजेट केन्द्रबाट आउने गरेको छ, हामीले विभिन्न ठाउँमा मर्मतसमेत गर्दै आइरहेका छौं,’ उनले भने, ‘तर, पर्याप्त बजेट नहुँदा सबै स्थानमा सडक मर्मत गर्न समस्या छ, जसका कारण सडक कच्चीजस्तै बनेको छ ।’ उनका अनुसार विभागबाट आउने न्यून रकमले बढीमा तीन/चार किलोमिटर सडकमात्र मर्मत गर्न सकिएको छ ।


सडक धेरै बिग्रिएकाले नयाँ स्वरूपबाट काम गर्न ५० करोड रुपैयाँको मागसहितको टिप्पणी उठाएर अर्थ मन्त्रालयमा पठाइएको उनले जानकारी दिए ।


तुलसीपुर–सल्यान खण्डको ६२ दशमलव ७ किलोमिटर लम्बाइको सडक ओटासिल कालोपत्रे गर्न ३९ करोड रुपैयाँ खर्च भएको छ । कार्यालयका अनुसार ठेकेदार कम्पनी सन्तोषी निर्माण सेवाले चार वर्ष लगाएर कालोपत्रेको काम सम्पन्न गरेको थियो ।


प्रकाशित : मंसिर ६, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?