२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

उद्योगबाट रोजगारी

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका–३, थाप्लेकी ३५ वर्षीया शारदा हमालले सञ्चालन गरेको शारदा होजियारी उद्योगबाट दैनिक ८० देखि एक सय स्विटर उत्पादन हुन्छन् ।

उद्योगबाट उनले मनग्गे आम्दानी गरिरहेकी छन् भने पाँच जनाले नियमित रोजगारी पाइरहेका छन् ।


स्तातकसम्म अध्ययन पूरा गरेकी हमालले गत चैतदेखि सदरमुकाममा होजियारी उद्योग सञ्चालनमा ल्याएकी हुन् । जागिरका लागि केही समयसम्म गरेको प्रयास सफल नभएपछि उनी उद्यमी बन्ने निर्णयमा पुगेकी थिइन् ।


हमाललाई उद्योगको काममा व्यवस्थापनका लागि भ्याइनभ्याइ छ । स्विटर उद्योगबाट हमालले मासिक ५० देखि ६० हजारसम्म आम्दानी गरिरहेको बताइन् । हमालले १० लाख रुपैयाँको लगानीमा स्विटर उद्योग स्थापना गरेकी हुन् । उद्योगमा विद्युतीय पावर, ह्यान्ड फ्लाइट, सिलाइ र इन्टरलगलगायत मेसिनबाट स्विटर उत्पादन हुन्छ ।


विभिन्न रङ र साइजका स्विटर उत्पादन हुने गरेको उनको भनाइ छ । बालबालिकादेखि वृद्धसममका लागि स्विटर उत्पादन भइरहेको उद्योगले जनाएको छ । विशेषगरी विद्यालय पोसाकका लागि स्विटर उत्पादन हुने गरेको छ । ‘बैंकबाट ऋण लिएर उद्योग खोलेकी हुँ, आफ्नै व्यवसायबाट सन्तुष्टि र राम्रो कमाइ भइरहेको छ,’ उनले भनिन्, ‘स्थानीयलाई स्विटर बुन्न सिकाउन र मेसिन सञ्चालनबारे तालिमका लागि भारतको हरिद्वारबाट प्रशिक्षक ल्याएकी थिए ।’ उनले उद्योगलाई क्रमिक रूपमा वृद्धि गर्दै लैजाने योजना रहेको जनाइन् ।

उद्योगमा उत्पादन भएको स्विटरको मूल्य तीन सयदेखि सात सय रुपैयाँसम्म छ । उद्योगमा अहिलेसम्म तीन हजार थान स्विटर उत्पादन भइसकेको छ । ‘उत्पादित स्विटर सबै खपत भइसकेका छन्,’ हमालले भनिन्, ‘विद्यालय तथा शिक्षण सस्थाबाट स्विटरको माग बढी आउने गरेको छ ।’


उनका अनुसार एउटै विद्यालयबाट तीन/चार सय थान स्विटरको माग भएकाले भ्याइनभ्याइ छ । नियमित विद्युत् आपूर्ति नहुँदा मेसिन सञ्चालनमा समस्या भइरहेको उनको गुनासो छ । जिल्लामा स्विटर बुन्ने आफ्नो मात्र उद्योग भएकाले माग पुर्‍याउन धौ–धौ भइरहेको उनको भनाइ छ ।


जिल्लामै उद्योग स्थापना भएपछि स्विटर किन्न बाहिर जानु नपर्ने भएको त्रिभुवन माविका प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए । ‘यही उत्पादन भएको स्विटर सस्तो र गुणस्तरीय छ,’ उनले भने, ‘यसअघि विद्यार्थीका लागि स्विटर खरिद गर्न सुर्खेत, नेपालगन्जलगायत बजारमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’


उनका अनुसार जिल्लाभरका विद्यालयका विद्यार्थीका लागि आवश्यक स्विटर शारदा होजियारी उद्योगबाट पूर्ति हुने गरेको छ ।

प्रकाशित : मंसिर ९, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?