वीरेन्द्रनगर ल्याइँदै भेरीको पानी

कलेन्द्र सेजुवाल

सुर्खेत — सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्न दुईवटा स्रोत पहिचान गरी प्रारम्भिक सर्भे भएको छ । भेरी नदीबाट लिफ्टिङ र रतुको दमाईखोलाबाट पानी आपूर्ति गर्न सकिने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

वीरेन्द्रनगर ल्याइँदै भेरीको पानी

संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार भेरीको पानी लिफ्टिङ गरी उपत्यकामा ल्याउनका लागि गत असारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत भइसकेको छ ।

भेरी र झुप्राखोलाको दोभानदेखि पाँच सय मिटर उत्तरमा कुवा बनाई पम्पिङमार्फत सुर्खेत उपत्यकामा पानी ल्याइने उक्त आयोजनाका लागि २ अर्ब ९१ करोड रुपैयाँ लागत अनुमान गरिएको देवकोटाले जानकारी दिए ।

‘भेरीको पानी आयो भने सुर्खेत उपत्यकामा सधैंका लागि खानेपानी अभाव टर्नेछ,’ उनले भने, ‘यसका लागि सरकारले प्रक्रिया अघि बढाइसकेकाले ढिलोचाँडो काम सम्पन्न हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

नेपाल सरकारले उक्त कामका लागि सुख्खा क्षेत्र खानेपानी आयोजनामार्फत प्रक्रिया अघि बढाएको छ । चालु आर्थिक वर्षमा टेन्डर गर्नका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । भेरी किनारमा पानी प्रशोधन केन्द्र निर्माण गरी साढे ११ किलोमिटर लामो पाइपलाइनबाट अमृतडाँडामा पानी संकलन गरिने अध्यक्ष देवकोटाले बताए ।

प्रतिसेकेन्ड ३ सय ५० लिटरको बहावमा आउने भेरीको पानी अमृतडाँडास्थित रिजर्भाएर (ट्यांकी) मा खसालिनेछ । यसका लागि त्यहाँ ४० लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिनेछ ।

सोही ट्यांकीबाट सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको हालका १० वटा स्किमबाट पानी वितरण हुने देवकोटाले बताए । संघीय सरकारले सहरी खानेपानी आयोजनाको ‘मोडेल’ बाट निर्माण गर्न लागेको यो आयोजना करिब ५ वर्षमा सम्पन्न हुने अध्यक्ष देवकोटाले बताए ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले यसका साथै आफ्नै प्रयासमा रतुको दमाईखोलाबाट पानी ल्याउने गरी प्रारम्भिक सर्भे गरेको छ । प्रतिसेकेन्ड १५ लिटर क्षमताको योजना निर्माण गर्न करिब साढे ४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

‘भेरीको पानी नआउँदासम्म यसले उपत्यकाको खानेपानी समस्या समाधान गर्न सघाउ पुर्‍याउनेछ,’ अध्यक्ष देवकोटाले भने, ‘त्यसैले हामीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय उपभोक्ताको सहयोगमा यो आयोजनाको काम अघि बढाउने सोच बनाएका छौं ।’ दमाईखोलाको पानी साढे ६ किलोमिटर लामो पाइपइनबाट करेखोलास्थित पानी प्रशोधन केन्द्रमा मिसाइने उनले बताए ।

हाल सुर्खेत उपत्यकामा दैनिक प्रतिसेकेन्ड १ सय ४९ लिटर पानी उपलब्ध छ । सामान्य अवस्थामा दैनिक २९ दशमलव ५ लिटर प्रतिसेकेन्ड पानी अपुग छ ।

भेरी र दमाईखोलाको पानी ल्याउन सकियो भने सन् २०२२ सम्म हाल माग भएअनुसार साढे ७ हजार धारा वितरण गर्न सकिने अध्यक्ष देवकोटाले बताए । ३३ हजार घरधुरी भएको उपत्यकामा अहिले करिब १६ हजार धारा वितरण गरिएका छन् ।

प्रकाशित : मंसिर १०, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?