१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रारा–खप्तड पर्यटकीय मार्ग ओझेलमा

राजबहादुर शाही

सुकाढिक, मुगु — सरकारी बेवास्ताका कारण रारा–खप्तड पर्यटकीय मार्ग ओझेलमा परेको छ । सुदूरपश्चिमको खप्तडदेखि कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा जोड्ने गरी पर्यटकीय मार्ग घोषणा गरिएको थियो । 

रारा–खप्तड पर्यटकीय मार्ग ओझेलमा

खप्तड घुमेर पर्यटक बाजुराको मार्तडी–कोल्टी–मुगु, सुकाढिक–खत्याड हुँदै रारा आउने गरी पर्यटकीय मार्ग घोषणा गरिएको हो । पर्यटकीय मार्गमा पर्ने विभिन्न स्थानमा अन्य पर्यटकीय गन्तव्य भएकाले पर्यटकले भरपुर मनोरञ्जन लिनसक्ने स्थानीयको भनाइ छ ।


यो रुटको यात्रा सहज र छोटो छ । मार्ग निर्माण नहुँदा खप्तड घुमेर पर्यटक नेपालगन्ज जाने र त्यहाँबाट जहाज तथा सडकमार्ग हुँदै रारा पुग्ने गरेका छन् । अहिले प्रयोग गरिरहेको मार्ग बढी खर्चिलो र झन्झटिलो रहेको पर्यटकको भनाइ छ । जीर्ण सडकका कारण कर्णाली राजमार्ग हुँदै रारा जान समस्या भएको पर्यटकको गुनासो छ ।


नेपालगन्जबाट हवाई सेवा नियमित नहुँदासमेत पर्यटक मारमा पर्दै आइरहेको छन् । पर्यटकीय मार्ग खुले खप्तडदेखि रारा आउने पर्यटकले अछाम र बाजुराका विभिन्न रमणीय स्थान घुम्दै रमाउन सक्ने अवस्था छ । कर्णाली करिडोर सडकअन्तर्गत मुगुको सुकाढिक, झुगलामा बेलिब्रिज निर्माण गर्न सके पर्यटकलाई रारा आउन झन सजिलो हुने स्थानीय राजबहादुर कार्कीले बताए ।


‘सरकारले यो मार्ग खुलाए हामीले उत्पादन गरेको वस्तुले मूल्य र सहजै बजार पाउने देखिन्छ,’ उनले भने, ‘कर्णाली राजमार्ग भएर रारा आउने पर्यटक सिँजाबाट नआएर कालीकोटको खुलालु हुँदै बाजुरा जुद्धगाड तरेर सुकाढिक आउन सक्छन् ।’ उनका अनुसार खत्याडबाट रारा पुग्ने यात्रा सजिलो र आरामदायी छ ।


प्रतिनिधिसभा सदस्य मोहन बानियाँका अनुसार कर्णाली राजमार्ग भन्दा खप्तड–रारा मार्ग ६० किलोमिटर छोटो छ । ‘यो मार्ग खुल्यो भने रारामा झन् पर्यटकको चाप बढ्नेछ,’ उनले भने, ‘सुदूरपश्चिमका गाउँबस्ती तथा लेकबेंसी हेर्दै खत्याड क्षेत्र अवलोकन गरेर रारा पुग्दा पर्यटकलाई धेरै आनन्द महसुस हुनेछ ।’


खत्याड गाउँपालिका पनि पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो । मार्ग सुरु भए खेष्मामालिका र तरमामाई गुफा पर्यटकका लागि राम्रो गन्तव्य बन्ने अवस्था छ । राराको निकास भएर बग्ने खत्याड खोला किनाराबाटै पदमार्ग सुरु हुन्छ । खोला वारिपारिका बस्ती तथा गाउँमा होटलको सुविधा छ । पदमार्गका होटेलमा पर्यटकले स्थानीय परिकारका स्वाद लिनसक्ने बानियाँले जनाए ।


खप्तड–रारा पर्यटकीय पदमार्ग खुलाउन पहल भइरहेको खत्याड गाउँपालिका अध्यक्ष उब्जन शाहीले बताए । सुकाढिक झुगलादेखि बाउपानीसम्म सडक निर्माण कार्यलाई तीव्रता दिइएको उनको भनाइ छ । उनका अनुसार सुकाढिक झुगलामा बेलिब्रिज निर्माणको लागि सर्भे डिजाइन भइसकेको छ ।


खत्याड गाउँपालिकादेखि रारा, माझघट्टसम्म सडक जोड्नका लागि रारा राष्ट्रिय निकुञ्ज बाधक बनेको शाहीले जनाए । ‘सडक सुविधा नहुँदा खत्याड गाउँपालिका पुग्न जुम्लाको गोठिज्युला हुँदै कालाकाडा भएर जानुपर्ने अवस्था छ,’ उनले भने, ‘जसका कारण स्थानीयले सास्ती भोग्दै आएका छन् ।’


खप्तड–रारा पर्यटकीय पदमार्ग जोड्न अति आवश्यक देखिएको उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर बानियाँले बताए । पर्यटकीय मार्ग बने खत्याड गाउँपालिकाको विकास र आर्थिक गतिविधिमा टेवा पुग्ने उनको भनाइ छ । उनका अनुसार पदमार्ग खुले स्थानीयको आयस्रोतमा समेत वृद्धि हुनेछ ।

प्रकाशित : मंसिर १४, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?