कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

घरमै पुगेर कर सेवा

जयबहादुर रोकाया

हुम्ला — सुर्खेतस्थित आन्तरिक राजस्व कार्यालयको टोलीले जिल्लाका तीन सयभन्दा बढी व्यवसायीलाई घरआँगनमै कर सेवा उपलब्ध गराएको छ ।

जिल्लामा आन्तरिक राजस्वसम्बन्धी काम गर्ने निकाय नभएकाले नेपालगन्ज पुगेर करको कामकाज गर्नुपर्ने बाध्यता थियो । कार्यालयले घुम्ती शिविरमार्फत करसेवा उपलब्ध गराएपछि व्यवसायीलाई राहत भएको छ ।


हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल लामाका अनुसार नेपालगन्ज वा सुर्खेत पुगेर कर तिर्दा व्यवसायी खर्चको मारमा परेका थिए । सामान्य कर तिर्न पनि जहाजमा महँगो भाडा तिरेर जानुपर्ने बाध्यता थियो ।


उनका अनुसार तीन सय ८७ व्यवसायीले जिल्लामै कर तिर्ने सुविधा पाएका छन् । प्रमुख कर अधिकृत भूमिराम शर्माको नेतृत्वमा जिल्लामा पुगेको टोलीले एक सय ६० जनाको प्यान नम्बर नवीकरण गरेको छ । कर चुक्ता प्रमाणपत्र नपाएका ९५ व्यवसायीले जिल्लामै प्रमाणपत्र पाएका छन् । त्यस्तै सात व्यवसायीले कारोवारको नवीकरण गराएका छन् ।


टोलीले ३३ व्यवसायीलाई नयाँ प्यान नम्बर वितरण गरिएको जनाएको छ । चार जनाले प्रमाणपत्रको प्रतिलिपि पाएको टोलीले जनाएको छ । शर्माका अनुसार दुई जनाले कारोवार बन्द गरेका छन् भने ६ जना व्यवसायीले जरिवाना छुटको सुविधा लिएका छन् । टोलीका अनुसार जिल्लाका ६० व्यवसायीलाई करसम्बन्धी कर शिक्षा दिइएको थियो ।


संघीय संरचनामा जानुअघि साविक कर्णाली अञ्चलका व्यवसायीले नेपालगन्जस्थित आन्तरिक राजस्व कार्यालयसँग कारोबार गर्दै आएका थिए । सडक यातायात नभएको हुम्लाबाट नेपालगन्ज आवतजावत गर्न हवाइ यात्रा गर्नुपर्ने बाध्यता थियो ।


व्यवसायीले एक हजार कर तिर्न हजारौं रकम खर्च गर्नुपर्ने अवस्था भोग्दै आएका थिए । यस वर्ष कर्णाली प्रदेशका लागि सुर्खेतमा आन्तरिक राजस्व कार्यालय स्थापना भएपछि घुम्ती शिविरको आयोजना गरिएको हो । टोलीले तीन लाख रुपैयाँ बढी राजस्व संकलन गरेको जनाएको छ ।


जिल्लामा करसम्बन्धी कारोबार गर्ने सरकारी निकाय नहुँदा साना व्यवसायी मर्कामा परेका छन् । प्यान नम्बर लिएका कतिपय व्यवसायीले कर तिर्नका लागि सहर जान नसक्दा तीन/चार वर्षदेखि नवीकरण गराउन सकेका थिएनन् । हुम्ला उघोग वाणिज्य संघले जिल्लामा करसम्बन्धी कारोबार गर्ने सरकारी निकाय स्थापना गर्न माग गर्दै आएको छ ।

प्रकाशित : मंसिर १६, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?