स्वास्थ्य प्रतिष्ठानमा रक्तसञ्चार केन्द्र

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ । बिरामीले रगत नपाउँदा उपचारमा समस्या भएपछि शिक्षण अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गरेको हो । 

यसअघि अस्पतालमा जटिल शल्यक्रिया गर्दा रगत संकलन गर्न समस्या हुने गरेको थियो । रक्तसञ्चार केन्द्र स्थापनापछि उपचारमा सहज हुने अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले वताए ।


‘रक्तसञ्चार केन्द्र स्थापनापछि अस्पतालले पहिलोपटक कर्मचारीबाट मात्रै रगत संकलन गरेको छ,’ उनले भने, ‘एकै दिन २० जनाले रगत दिएका छन् ।’ साविक जिल्ला अस्पतालमा २०६२ सालमा नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार केन्द्रको स्थापना गरे पनि रगत स्टोर गर्ने उपकरण र विद्युत् नहुँदा सञ्चालनमा आउन सकेको थिएन ।


केन्द्र सञ्चालनमा आएपछि कुनै पनि बिरामीले रगत नपाएर छट्पटिनु नपर्ने प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बताए । ‘बिरामीले रगत अभावकै कारण अकालमा मृत्यु पर्खनुपर्ने छैन्,’ उनले भने, ‘जटिल प्रकारका रोगको निदान जुम्लामै हुने भएपछि सुविधासम्पन्न महंगो उपचार गराउने परम्पराको अन्त्य हुनेछ ।’


यसअघि शिक्षण अस्पतालमा शल्याक्रिया गर्दा रगत अभाव हुने गरेको थियो । रगत अभाव भएपछि नेपाली सेना, प्रहरी र अस्पतालका कर्मचारीले तत्काल रगत दान गर्नुपर्ने बाध्यता थियो । ‘बिरामीलाई रगत आवश्यक हुँदा सुरक्षा निकाय गुहार्नुपर्ने अवस्थाको अन्त्य भएको छ,’ काफ्लेले भने, ‘बिरामीले चाहेकै बेला रगतको सुविधा पाउनेछन् ।’


रक्तसञ्चार केन्द्र स्थापनाका लागि पहिलोपटक रक्तदान कार्यक्रममा एकैपटक २० जनाले रगत दिएका छन् । अस्पतालका अनुसार केन्द्रमा ९० जनाको रगत स्टोर गर्न सकिनेछ । इच्छुक व्यक्तिले अस्पतालमै आएर रगतदान गर्न सक्ने जनाइएको छ । बिरामीले रगत अस्पतालको हाताभित्रैबाट पाउनेछन् ।


अस्पतालका अनुसार रगत स्टोर गरेर बिरामीलाई जस्तोसुकै अवस्थामा रगत दिन सकिनेछ । हरेक ३/३ महिनामा रेडक्रस र सामाजिक संघ संस्थासँग समन्वय गरेर रक्तदान कार्यक्रम गरिने मेडिकल डाइरेक्टर डा. रोकायाले जनाए ।


शिक्षण अस्पतालमा मुगु, कालिकोट, डोल्पा, जुम्ला, जाजरकोटलगायत जिल्लाका विरामी उपचारका लागि आउने गरेका छन् । आसपासका जिल्ला अस्पतालले विरामीलाई शिक्षण अस्पतालमा रेफर गर्ने गरेका छन् ।

प्रकाशित : मंसिर १६, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?