कर्णालीमा खाद्य असुरक्षा

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा ३५ प्रतिशत घरधुरीमा खाद्य असुरक्षा रहेको एक सर्भेक्षणले देखाएको छ । राष्ट्रिय योजना आयोग र विश्व खाद्य कार्यक्रमले गरेको कर्णालीमा खाद्य सुरक्षासम्बन्धी अनुगमन प्रणालीमा सात प्रतिशत घरधुरी आर्थिक समस्याकै कारण कम्तीमा एक दिन भोकै बस्नुपर्ने बाध्यता रहेको देखाएको छ ।

अनुगमन प्रणालीअनुसार २८ प्रतिशत घरधुरी सन्तुलित भोजन खानुपर्छ भन्ने ज्ञान भएर पनि खाद्यबाट वञ्चित छन् । कर्णालीका ४५ प्रतिशत बालबालिका कुपोषणको सिकार बनेको तथ्यांकले देखाएको छ । अधिकांश घरधुरी परम्परागत कृषिमा निर्भर भए पनि अधिकांश घरधुरीमा आफैंले उत्पादन गरेको अन्नले खान नपुग्ने अवस्था छ ।

Yamaha


खाद्यान्न उत्पादन नभएको सिजनमा बढी खाद्य असुरक्षा बढिरहेको पाइएको हो । साविक कर्णाली अञ्चलका पाँच जिल्लामा यो समस्या धेरै रहेको जनाइएको छ । कर्णाली प्रदेशका एक हजार ७ सय आठ घरधुरीमा सर्भेक्षण गरिएको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

कर्णालीमा खाद्य सुरक्षासम्बन्धी रणनीति बनाउन सोमबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आयोजनामा ‘संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली’ विषयक अन्तरक्रिया गोष्ठीको आयोजना गरियो । कार्यक्रममा कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले त्यसका लागि बृहत् र एकीकृत गुरुयोजनाको काम भइरहेको बताइन् ।

उनले कर्णालीको गरिबी हटाउन खाद्य सुरक्षामा जोड दिइएको जनाइन् । ‘उत्पादनमा आत्मनिर्भर बनाएर मात्र खाद्य सुरक्षाको सुनिश्चित गर्न सकिन्छ,’ उनले भनिन्, ‘उत्पादनमा स्थानीयलाई जोड्ने र चेतनामूलक कार्यक्रम सँगसँगै लैजाने प्रदेश सरकारको योजना छ ।’

उनले योजना निर्माणको काम भइरहेकाले प्रतिफल देखाउन नसकिएको जानकारी दिइन् । मन्त्री केसीले दातृ निकायका कार्यक्रमलाई परिणाममा बदल्न जरुरी रहेको धारणा व्यक्त गरिन् । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मीले अनुगमन प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने जनाए ।

उनले सही तथ्यांक आए योजना निर्माणमा सजिलो हुने जनाए । विश्व खाद्य कार्यक्रमका श्रीधर थापाले नेपालमै पहिलोपल्ट सर्भे गरिएको बताए । उनले अन्तर्राष्ट्रिय मापदण्ड प्रयोग गरी सर्भेक्षण गरिएको जानकारी दिए ।

प्रकाशित : मंसिर १९, २०७५ १३:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घरेलु हिंसाले महिलामा मानसिक रोग

८० प्रतिशत महिला कुनै न कुनै घरेलु हिंसाका कारण मानसिक समस्यामा : चिकित्सक
अमृता अनमोल

बुटवल — रूपन्देहीको तिलोत्तमा नगरपालिका, योगीकुटीकी ३२ वर्षीया राधा पाण्डेको छिनछिनमा बेस्सरी टाउको दुख्छ । उतिउति खेरै पिसाबले च्यापेजस्तो हुन्छ । कतिबेला करकरी शरीर दुख्छ । राति निद्रा लाग्दैन ।

समस्या बढ्दै गएपछि उनी उपचारका लागि क्रिमसन अस्पताल, मणिग्राम गइन् । चिकित्सकले घरायसी तनाव र दबाबका कारण मानसिक समस्या देखिएको बताए ।

अन्य उपचारको साटो मानसिक स्वास्थ्य राम्रो बनाउन औषधि दिए । ‘२ महिना भयो नियमित त्यही औषधि खाँदैछु,’ राधाले भनिन्, ‘डाक्टरले भने अनुसार अन्य काम पनि गर्न थालेपछि केही सुधारको अनुभव भएको छ ।’ राधा शिक्षण पेसामा संलग्न थिइन् ।

सामान्य परिवारमा जन्मेकी उनको २ वर्षअघि धनी परिवारमा बिहे भयो । बिहेलगत्तै जागिर छोडनु पर्‍यो । जागिर मात्रै होइन, पढ्दै गरेको एमएडको कक्षा लिनसमेत परिवारले रोक लगायो । यसपछि नै राधालाई मानसिक समस्या सुरु भएको हो । राधाको मानसिक समस्या हटाउन चिकित्सकले अहिले उनीसँगै उनका पति दीपकलाई समेत नियमित परामर्श दिएका छन् ।

बुटवल, दीपनगरकी ३० वर्षीया माया विकलाई नराम्री भन्दै पतिले बिहेलगत्तैदेखि बेवास्ता गर्न थाले । धेरै समय माइतीमा बसिन् । पति लिन आउलान् भन्ने आशामा बसेकी उनका पतिले दोस्रो घरजम गरे । माइतीले पनि राम्रो व्यवहार गरेनन् ।

यही पिरलोले उनी एक्लै टोलाउन थालिन् । विस्तारै पुरुष देख्दा डराउने र बेहोस हुने भइन् । यिनै माया ६ महिनायता मानसिक रोगको उपचारमा छन् । ‘मनमा धेरै तनाव लिंदा मनोबल गिर्दो रहेछ । त्यसले मानसिक समस्या निम्त्याएछ,’ मायाले भनिन्, ‘उपचार सुरु भएपछि आत्मबल बढाउँदै गएकी छु ।’

पछिल्लो समयमा रूपन्देहीमा मानसिक समस्या बोकेर उपचारमा जाने महिला बढेका छन् । छारेरोग, दिक्दारीपन, चिन्ता र विकृत तनाव मानसिक रोगका लक्षण हुन् । मानसिक रोग विशेषज्ञ डा. मनोज ढुंगानाका अनुसार अधिकांश महिलामा घरेलु हिंसाका कारण मानसिक समस्या देखिएको छ । ‘दैनिक ५० जना बिरामी चेकजाँच गर्दा ३० जना बिरामी महिला हुन्छन्,’ उनले भने, ‘त्यसमध्ये ८० प्रतिशत महिला कुनै न कुनै घरेलु हिंसाका कारण मानसिक समस्या लिएर आएका हुन्छन् ।’

घरपरिवार तथा आफन्तबाट हुने शारीरिक र मानसिक हिंसा घरेलु हिंसा हो । पारिवारिक हिंसा, तनाव, आर्थिक अभाव, पति–पत्नीबीचको मनमुटाव, कुरीतिलगायतले महिला बढी मानसिक रोगी बनेका छन् । त्यसमध्येकी हुन्, बुटवल–९ मिलनचोककी सम्झना पौडेल ।

पतिले आफूले रोजेकी युवतीलाई बिहे गर्ने भन्दै पटक–पटक शारीरिक यातना दिन थालेपछि उनले अनौठो क्रियाकलाप गर्न थालिन् । सम्झनाका भनाइमा कतिबेला भूतजस्तै आकृति देखिन्थ्यो ।

त्यस्तो देख्दा मन आत्तिने, डराउने र शरीर घोचेको जस्तो हुन्थ्यो । कतिबेला चिच्याउँथिन् त कतिबेला बेहोस हुन्थिन् । यसपछि उपचारका लागि परिवारले युनिभर्सल मेडिकल कलेज भैरहवा पुर्‍याए । उपचारमा संलग्न चिकित्सकले उनलाई पनि हिंसाका कारण मानसिक समस्या भएको बताए । नियमित ६ महिना मानसिक औषधि र परामर्श लिएकी उनी अहिले भने सामान्य अवस्थामा छन् । ‘विक्षिप्त अवस्थामै पुग्न आँटेकी थिएँ,’ सम्झनाले भनिन्, ‘नियमित औषधि र परामर्शमा रहेकाले समयमै रिकभर भयो ।’

मानसिक रोग परामर्शकर्ता अमृता लामा आफ्ना इच्छा दबाउन पर्ने, कसैप्रति चाहिनेभन्दा बढी आशा वा अपेक्षा राख्दा त्यो पूरा नहुँदा पनि महिलामा मानसिक स्वास्थ्य समस्या बढै्द गएको बताउँछिन् । ‘महिलाहरू खुलेर आफ्ना समस्या राख्न नसक्ने, क्षमताभन्दा बढी शारीरिक र मानसिक जिम्मेवारी बोक्नुपर्ने कारणले पनि मानसिक समस्याबाट ग्रस्त छन्,’ उनले भनिन्, ‘मानसिक रोग हो भनेर उपचारमा ढिलाइ गर्ने र नियमितता नदिँदा अर्को समस्या थपिएको छ ।’

मानसिक रोगका लक्षण बेलैमा चिन्ने, घरपरिवारमा लैंगिक समानता कायम राख्ने र महिला हिंसा हुने गतिविधि रोक्ने हो भने मात्रै महिलामा देखिएकोबढ्दो मानसिक समस्या रोक्न सकिने डा. ढुंगानाले बताए । ‘मानसिक रोग निको पार्न बिरामी मात्रै होइन, घरपरिवारकै ठूलो भूमिका हुन्छ,’ उनले भने,‘मानसिक रोगलाई लाजको रूपमा लिनु हुन्न । औषधिसँगै शारीरिक व्यायाम र खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’

प्रकाशित : मंसिर १९, २०७५ १३:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT