ठूला लगानीका आयोजनामा जोड

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा ठूला लगानीका आयोजना लगानीमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजना गरिएको एसियाली विकास बैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०/२०२४) का सन्दर्भमा भएको छलफलमा ठूला आयोजना लगानीमा जोड दिइएको हो ।


एसियाली विकास बैकले संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालाहरूसँगको छलफल तथा परामर्श कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका सहभागीले बैंकले नेपालमा ठूलो मात्रामा लगानी गरेको भए पनि त्यसको परिणाम नदेखिएको जनाए । सरोकारवालाले कर्णालीमा सडक, विद्युत्, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठूला परियोजनामा लगानीको आवश्यकता औंल्याए ।


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको बताए ।


उनले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको जनाए । ‘नेता र पहुँचको आधारमा टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुनेवाला छैन,’ उनले भने, ‘एउटा मात्रै भए पूर्वाधार क्षेत्रमा लगानी गर्न जरुरी छ ।’


‘पेपर वर्क’ र ‘अफिस वर्क’ ले कर्णालीले चाहेको गतिमा समृद्धि सम्भव नभएको उनको दाबी छ । उनले कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको बनाउन आग्रह गरे । उनले प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा दाताले लगानी गर्नुपर्ने जनाए ।


उनले दाताहरूको लगानीको सदुपयोग गर्न र पारदर्शिताका साथ परिणाममुखी कार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

प्रकाशित : मंसिर १९, २०७५ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?