१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

असुरक्षित बन्दै बालबालिका

विप्लव महर्जन

सल्यान — कालिमाटी गाउँपालिका–५, का एक व्यक्तिले आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरे । गत वैशाख २० गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै मामाले इलाका प्रहरी कार्यालय लुहाममा गत असार ३ गते उजुरी दर्ता गरे । घटनापछि आरोपी फरार छन् । 

असुरक्षित बन्दै बालबालिका

सिद्धकुमाख गाउँपालिका–३, मा गत वैशाख ३० गते बेलुकी एक १७ वर्षीय किशोरले नजिकैको जंगलमा लगेर ६ वर्षीया बहिनी नाता पर्ने बालिकालाई बलात्कार गरे । जिल्ला प्रहरी कार्यालयमा आफन्तले जेठ १ गते उजुरी दर्ता गरेपछि प्रहरीले सोही दिन आरोपीलाई गिरफ्तार गर्‍यो ।

यी दुई उदाहरण मात्र हुन् । पछिल्लो समय जिल्लाका अधिकांश बालबालिका असुरक्षित बन्दै गएका छन् । आफन्तबाट कोही बलात्कृत भएका छन् भने कसैको हत्या गरिएको छ । प्रहरीका अनुसार कोही कुटपिटका कारण पीडित बन्दै आएका छन् ।


केही बालबालिका बाबुआमाले छोडेपछि अलपत्र परेका छन् । केही बालबालिका अभिभावकले बहुविवाह गर्दा पनि समस्यामा छन् । कतिपय बालबालिका बाबुआमाले बेवास्ता गर्दा असुरक्षित भएको अधिकारकर्मीको भनाइ छ । जसका कारण बालबालिकाको ज्यानसमेत उच्च जोखिममा पर्दै आएको छ । परिवारकै सदस्यहरू बाबुबाट छोरी, दाइबाट बहिनी, ससुराबाट बुहारी, काकाबाट भतिजीमाथि बलात्कार तथा बलात्कारको प्रयास हुने गरेको इन्सेक प्रतिनिधि मीना बुढाथोकीले बताइन् ।


उनका अनुसार असुरक्षाका घटना विगतको तुलनामा बढ्दै गएका छन् । अभिभावकमा चेतनाको अभावका कारण पनि बालबालिका जोखिममा पर्दै आएको उनको भनाइ छ । उनले यो वर्ष मात्र सात जना बालिका आफन्तबाट बलात्कृत भएको जानकारी दिइन् । ‘आमा नभएका बालबालिका असुरक्षामा बढी परेका छन्,’ उनले भनिन्, ‘असुरक्षित हुनबाट बचाउन सचेतना कार्यक्रम विभिन्न निकायबाट सञ्चालन भइरहेका छन् तर घटना बढ्दो अवस्थामा छन् ।’


उनले बालबालिकालाई असुरक्षाबाट बचाउन घर परिवार र अभिभावकको भूमिका महत्त्वपूर्ण हुने जनाइन् ।


आफन्तलाई बालबालिकाले विश्वास गर्दा नै घटना बढ्न थालेको जिल्ला प्रहरी प्रमुख (डीएसपी) वीरेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार गलत मनसाय भएका व्यक्तिले विभिन्न मौका छोपी जबरजस्ती बलात्कार, अपहरण, कुटपिट, दुव्र्यवहार र हत्या गर्ने गर्ने गरेका छन् । ‘बाबुआमाको कमजोरीका कारण पनि बालबालिका असुरक्षित बन्दै गएका छन्,’ उनले भने, ‘बालबालिका पनि विभिन्न आपराधिक कार्य हुनबाट जोगिन सतर्क हुन जरुरी छ ।’


जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १६ बलात्कारका घटनामध्ये पाँच र २०७४/०७५ मा २१ मध्ये पाँच जना बालिका बलात्कारको सिकार बनेका छन् । चालु आर्थिक वर्षमा भएका पाँच घटनाध्ये तीन जना बालिका आफन्तबाटै बलात्कृत भएका छन् । प्रहरीका अनुसार यो वर्ष एक बालिकाको हत्या भएको छ ।


गरिबी, बाबुआमाको मृत्यु, अभिभाबकको संरक्षण अभावलगायत कारण बालबालिका असुरक्षित बनेको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए । उनका अनुसार बाबु रोजगारीका लागि विदेश जाने र आमाले अर्कोसँग विवाह गर्ने क्रम बढेकाले पनि बालबालिका समस्यामा पर्ने गरेका हुन् ।


‘मदिराको जथाभावी सेवनका कारण पनि बालबालिका असुरक्षित बन्दै गएका छन्,’ उनले भने, ‘सानो उमेरमा विवाह गर्दा र बहुविवाहले पनि बालबालिकामा विभिन्न समस्या निम्त्याएको छ ।’

प्रकाशित : मंसिर १९, २०७५ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?