तलबबिनै पढाउँछन् प्राध्यापक

क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखसहित आठ उपप्राध्यापक तथा पाँच कर्मचारी बेतलवी
हरि गौतम

रुकुम पश्चिम — जिल्लाको सबैभन्दा पुरानो क्याम्पसका प्राध्यापक तलबबिनै पढाइरहेका छन् । मुसीकोट नगरपालिका १, स्थित मुसीकोट खलंगा बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीले चार महिनायताको तलब पाएका छैनन् ।

क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखसहित आठ उपप्राध्यापक तथा पाँच कर्मचारी बेतलबी बनेका हुन् ।


मध्यपश्चिमाञ्चल विश्वविद्यालय मातहत आएदेखि नै क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाउन नसकेका हुन् । गत भदौ १० गते मुसीकोट खलंगा बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालय मातहत आएको थियो ।


मध्यपश्चिमाञ्चल विश्वविद्यालयले क्याम्पसको खाता रोक्का गरिदिएको छ । क्याम्पसको खातामा रुपैयाँ भए पनि प्राध्यापक तथा कर्मचारीले तलब पाउन सकेका छैनन् । सबैको व्यवस्थापन गर्ने भन्दै विश्वविद्यालयले खाता रोके पनि चार महिनासम्म केही नगर्दा प्राध्यापक तथा कर्मचारी समस्यामा परेका छन् ।


उपप्राध्यापक हरिविष्णु ओलीले विश्वविद्यालयका पदाधिकारीको बेवास्ताको कारण प्राध्यापक तथा कर्मचारी समस्यामा परेको बताए । उनका अनुसार विश्वविद्यालय मातहत आए पनि प्राध्यापक र कर्मचारीलाई नियुक्तिपत्र समेत दिएको छैन ।


लामो समयदेखि तलब नपाइँदा दैनिकी चलाउन मुस्किल भइरहेको गुनासो उनको छ । ‘व्यापारीले उधारो पत्याउन छाडेका छन्, उधारो तिर्न समस्या भएपछि केही साथीले मोबाइलबाट सिमसमेत निकालेर राख्नुभएको छ,’ ओलीले भने, ‘हामी प्राध्यापक र कर्मचारीले तलब नपाउँदा हैरानी खेप्नुपरेको छ ।’


विश्वविद्यालयले लामो समयदेखि तलब नदिएपछि प्राध्यापक तथा कर्मचारी आन्दोलन गर्ने निर्णयमा पुगेका छन् । क्याम्पसमा गठित प्राध्यापक संघले क्याम्पससँग पेस्की माग गर्दै आन्दोलनको घोषणा गरेको छ । पठनपाठन नरोकेर आन्दोलन गर्ने निर्णय गरिएको अध्यक्ष तीर्थबहादुर शाहीले बताए ।


आन्दोलनको पहिलो चरणमा क्याम्पससँग पेस्की माग गरिएको उनले बताए । त्यसपछि कालोपट्टी बाँधेर अध्यापन गर्ने, राजनीतिक दल, विद्यार्थी संघ–संगठनसँग छलफल अन्तक्र्रिया गर्ने, रिलेअनशन र भोक हडतालसम्मका कार्यक्रम बनाइएको शाहीले बताए । ‘प्राध्यापक र कर्मचारीको माग सम्बोधनका लागि अल्मिेटमसहित माग राखिएको छ,’ शाहीले भने, ‘माग सम्बोधन नभएको सन्दर्भमा आन्दोलनका कार्यक्रमहरू बढाउँदै लैजाने निर्णय पनि भएको छ ।’


मध्यपश्चिमाञ्चल विश्वविद्यालयले क्याम्पस प्रमुखलाई नै विश्वविद्यालयको प्रतिनिधिका रूपमा खटाएको छ । क्याम्पसका प्राध्यापक तथा कर्मचारीका लागि महिनामा झन्डै सात लाख रुपैयाँ तलब भत्तामा खर्च हुन्छ । दसैं पेस्कीसहित चार महिनाको तलब गरी ५० लाख आसपास रकम क्याम्पसमा खर्च हुने देखिन्छ । विश्वविद्यालयका पदाधिकारीको लापरबाहीकै कारण प्राध्यापक तथा कर्मचारीको तलब–भत्ताका लागि विनियोजन गरिएको बजेट समेत फ्रिज हुने अवस्थामा पुगेको जनाइएको छ ।


क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माले शिक्षक तथा कर्मचारीको तलब भुक्तानीको प्रक्रियामा रहेको आफूले जानकारी पाएको बताएका छन् । विश्वविद्यालयले क्याम्पसका सबै फाइल तथा कागजात जाँच गर्ने लगायतका काम जारी राखेकाले अब लगत्तै शिक्षक कर्मचारीलाई नियुक्ति दिने र तलब पनि भुक्तानी गर्ने जानकारी पाएको उनले जनाए ।


सुगमका विद्यार्थी तान्दै दुर्गमको विद्यालय चौरजहारी नगरपालिका–११, चौफास्थित हिमालय माध्यामिक विद्यालयमा कृषि जेटीएको प्रवेश परीक्षामा यस वर्ष दुई सय सात विद्यार्थी सहभागी भए । अघिल्लो वर्षको प्रवेश परीक्षामा दुई सय ८५ जना विद्यार्थी सहभागी भएका थिए ।


४० जना मात्रै पढ्न मिल्ने कोटामा पढ्नका लागि प्रतिस्पर्धा भने उच्च छ । यो वर्ष र अघिल्लो वर्षको प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीको संख्या हेर्दा मात्रै पनि थाहा हुन्छ, कृषि जेटीए पढ्नका

लागि विद्यालयमा विद्यार्थीको आकर्षण धेरै छ ।


२०६७ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट सम्बन्धन ल्याएर विद्यालयले बाली विज्ञानअन्तर्गत कृषि जेटीए पढाउन थालेको थियो । सुरुका एक/दुई वर्षबाहेक त्यसपछिका हरेक प्रवेश परीक्षामा दुई सयभन्दा कम विद्यार्थी कहिल्यै सहभागी नभएको प्रधानाध्यापक भीमबहादुर ओलीले बताए ।


‘बाली विज्ञानअन्तर्गत कृषि जेटीए पढ्न हाम्रो विद्यालयमा आउने विद्यार्थीको संख्या उच्च छ,’ प्रअ ओलीले भने, ‘यस विद्यालयमा यो कोर्स पढेर निस्केकाहरू कोही खाली बसेका छैनन् ।’ हिमालय माविमा कृषि जेटीए पढेकामध्ये १८ जना सरकारी सेवा प्रवेश गरेको दाबी उनको छ ।


उनले कतिपय विद्यार्थी अन्य निकायमा काम गरिरहेको बताए । विद्यालयमा सजिलै फोन सम्पर्क हुँदैन । फोन सम्पर्कका लागि डाँडा उक्लनुपर्छ वा खोला तरेर पारि जानुपर्छ । फोन सम्पर्क नहुने विद्यालयमा विद्यार्थीको आकर्षण भने धेरै छ । प्रवेश परीक्षामा सहभागी हुन धेरैजसो विद्यार्थी सुगम क्षेत्रबाट आउने गरेका छन् । गोरखा, दाङ, बाँके, सल्यान, सुर्खेतबाट कृषि जेटीए पढ्न आउने विद्यार्थीको संख्या धेरै रहेको प्रअ ओलीले बताए ।


‘विद्यालय दुर्गममा छ, प्रवेश परीक्षामा सहभागी हुने धेरै सुगमबाट आउँछन्,’ उनले भने, ‘त्यसैले पनि हामीले हाम्रो विद्यालयमा आकर्षण छ भन्न सकेका छौं ।’ हिमालय माविमा कृषि जेटीए पढ्ने एउटा विद्यार्थीले १५ हजार रुपैयाँमै पूरा कोर्स पढ्न पाउँछन् ।


विद्यालयमा जेटी अर्थात् प्राविधिक सहायकको पनि पठनपाठन हुन्छ । तर विद्यार्थीको रोजाइमा जेटीए नै पर्ने गरेको छ । जेटी र जेटीए दुवै पढ्नका लागि प्रवेश परीक्षा दिएका अधिकांश विद्यार्थीले जेटी छाडेर जेटीए रोज्ने गरेको विद्यालयले जनाएको छ ।


विद्यालयलाई सीटीईभीटीले ४ जना प्रशिक्षक उपलब्ध गराइदिएको छ । यसको साथै खोलागाउँ र चौफा कृषि उत्पादनको दृष्टिकोणले महत्त्वपूर्ण भएकाले विद्यार्थीलाई धेरै सजिलो हुने गरेको छ । विद्यालय आफैंले ३० लाख रुपैयाँ खर्चेर जमिन खरिद गरेर त्यसैमा विद्यार्थीलाई प्रयोगात्मक पढाइमा सहभागी गराउने गरेको छ ।


‘यो क्षेत्र यसै उर्वर हो, उर्वर भूमीमा हामीले कृषि विषय नै विद्यार्थीलाई पठनपाठन गराउँदा यसले ठूलो सहयोग पुगेको छ,’ प्रअ ओलीले भने । हरेक सिजनमा, हरेक बालीसँग विद्यार्थीलाई भेटाउन सजिलो हुने, त्यसबाट प्रयोगात्मक पढाइ धेरै भइरहेकाले पनि विद्यार्थीको आकर्षण बढी भएको भनाइ उनको छ ।


विद्यालयले हरित गृह पनि निर्माण गरेको छ । किसानका बारी, विद्यालयको आफ्नै बारी र विद्यालयमा निर्मित हरितगृह मार्फत पनि विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रकाशित : मंसिर २१, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?