१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अवैध औषधि विक्रेतालाई उन्मुक्ति

मेडिकलले बिक्री गरेको औषधिमार्फत गर्भपतन गराउँदा एक महिलाको ज्यान जोखिममा परेको थियो

डोल्पा — एक महिलालाई गर्भपतनको नाममा अवैध औषधि बिक्री गर्ने मेडिकल सञ्चालकलाई उन्मुक्ति दिइएको छ । मेडिकलले बिक्री गरेको औषधिमार्फत गर्भपतन गराउँदा काइके गाउँपालिकास्थित बैजीवाराकी एक महिलाको ज्यान जोखिममा परेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मेडिकल सञ्चालकलाई माफी दिने निर्णय गरेको छ ।

दुई सन्तान जन्माइसकेकी महिलाले दुनै बजारको दीपज्योति मेडिकलबाट तीन हजार रुपैयाँमा गर्भपतनको औषधि किनेकी थिइन् ।


औषधि सेवनपछि अत्यधिक रक्तश्राव हुँदा उनको ज्यान जोखिममा परेको थियो । उनको गर्भपतनसमेत सफल भएन । जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको संयोजकत्वमा बसेको बैठकले औषधि विक्रेता भीम डीसीले मौखिक रूपमा माफी मागेको भन्दै उन्मुक्ति दिएको हो । मेडिकल सञ्चालक थापाले पीडित महिलालाई लागेको औषधि उपचारको खर्च बेहोर्ने बताएका छन् ।


कानुनअनुसार गर्भपतन गराउन डोल्पाका कुनै पनि मेडिकललाई अनुमति छैन । जिल्लाका विभिन्न मेडिकलले अवैध गर्भपतन गराएका पाँच घटना आफूकहाँ आएको जिल्ला अस्पतालका डा. हिमविक्रम शाहीले बताए । ‘स्वास्थ्य क्षेत्रमा यो गम्भीर विषय हो,’ उनले भने, ‘तर अवैध गर्भपतनका औषधि खुलेआम बिक्री भइरहेका छन् ।’


१२ साताभन्दा बढीको गर्भपतन गराउन खोज्नु, गर्भवती महिलाको उपयुक्त जाँच नगरी औषधि बेच्नु, बेच्नै नपाउने औषधि बेच्नु गैरकानुनी भएको डा. थापाको भनाइ छ । यसको उचित छानबिन र अनुगमन गरी कानुनअनुसार कारबाही गरिनुपर्ने उनले जनाए ।


सदरमुकाममै स्वास्थ्य क्षेत्रमा बेथिति बढेको नागरिक समाजका अगुवा शेरबहादुर बुढाले बताए । ‘अञ्जान बिरामीमाथि सदरमुकाममै पटकपटक स्वास्थ्यमा खेलवाड भइरहेको छ,’ उनले भने, ‘झन् गाउँमा यो स्थिति दर्दनाक छ, सम्बन्धित निकायले न अनुगमन गर्छ न गल्ती भेटिए कारबाही गर्छ ।’ उनले गल्ती गर्नेलाई पटकपटक उन्मुक्ति दिँदा उनीहरूले त्यही धन्दालाई निरन्तरता दिने बताए ।


बैठकमा जिल्लाका सबै मेडिकलको तत्काल अनुगमन गरी अवैध औषधि राख्नेलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको छ । त्यस्तै महँगोमा औषधि बिक्री गरेको भए कानुनी दायरामा ल्याउने जनाइएको छ । स्थानीयले महिलाको ज्यान जोखिममा पार्ने मेडिकल सञ्चालकलाई कारबाहीको माग

गरेका छन् ।

प्रकाशित : मंसिर २२, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?