१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मेलामार्फत सिकाइ

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका ९, राडीमा शुक्रबार बेग्लै खालको मेला लाग्यो । मेलामा नाचगान तथा मनोरञ्जन थिएन, न त मेलामा व्यापार व्यवसाय नै भइरहेको थियो । उक्त मेला परम्परागत नभई पढाइ मेला थियो ।

मेलामार्फत सिकाइ

विद्यार्थी तथा शिक्षक सहभागी भएको मेलामा सहभागीले सिकाइ आदानप्रदान गरे ।


प्रारम्भिक तह (१ देखि ३ कक्षा) मा अध्ययनरत विद्यार्थीको सिकाइ आदानप्रदानका लागि पढाइ मेला आयोजना गरिएको हो । पढाइ मेलामा सहभागी विद्यार्थीले आफूहरूले सिकेका कुरा बाँडे भने अरू विद्यार्थीबाट पनि धेरै सीप सिके । मेलाका सहभागीले विद्यार्थी, विद्यालय र शिक्षकबाट सिर्जनात्मक अभ्यास सिक्न पाए ।


‘पढाइ मेलाले विद्यार्थीसँगै शिक्षकलाई पनि धेरै कुरा सिक्ने अवसर जुरायो,’ दीपज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मबहादुर चन्दले भने, ‘हाम्रो विद्यालयबाट अरू विद्यालयले सिके भने हामीले उनीहरूबाट सिक्यौं ।’ उनले बालबालिकाका साथै शिक्षकका लागिसमेत सीप विकासका लागि पढाइ मेला महत्त्वपूर्ण अवसरका रूपमा रहेको बताए ।


जिल्लास्तरीय पढाइ मेलामा सहभागी भएका सबै विद्यालयले त्यसअघि विद्यालयमै पढाइ मेला गरेका थिए । विद्यालयमा गरिएको पढाइ मेलामा उत्कृष्ट हुने विद्यार्थीलाई विद्यालयले मेलामा सहभागी गराएको हो । शुक्रबारको मेलाले अब समाजमा तीन खालका मेला लाग्न सुरु भएको आफूले बुझेको सानीभेरी गाउँपालिका ३, को आधारभूत विद्यालय गरायला ज्यामिरेका शिक्षक इन्द्रलाल शर्माले बताए ।


उनले यसअघि समाजमा धार्मिक र सामाजिक मेला लाग्ने गरेकामा अब त्यसमा पढाइ मेला पनि थपिएको बताए । पढाइ मेलाले बालबालिकाको क्षमता तथा सीप विकास हुनुका साथै सिकेका सीप बाँड्ने सन्देश दिएको उनको भनाइ छ ।


प्रारम्भिक तहमा पठनपाठन गर्ने बालबालिकाका लागि क्षमता विकास तथा प्रतिभाको प्रस्फुटन गराउन नेपाल मगर समाज सेवा तथा सूचना केन्द्रले मेला आयोजना गरेको हो । प्रारम्भिक तह पढाइ कार्यक्रमबाट जिल्लामा पढाइ मेला आयोजना गरिएको विश्व शिक्षाका जिल्ला कार्यक्रम अधिकृत प्रमोदकुमार विष्टले बताए ।


उनका अनुसार जिल्लाका ८८ वटा आधारभूत विद्यालयमा प्रारम्भिक तह पढाइ कार्यक्रम सञ्चालन भइरहेको छ । उनका अनुसार ८८ आधारभूत विद्यालयमा एक हजार ९ सय ८५ किसिमका पढाइ, लेखाइ, सुनाइ र बोलाइ सम्बन्धी सीप विकास गर्न सहयोग गर्ने सामग्री सहयोग गरिएको छ ।


रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ मा आयोजित पढाइ मेलाको एउटा स्टलमा राखिएको फुटेका चुराबाट बनाइएको माछा । तस्बिर : हरि/कान्तिपुर


बालबालिकाको भविष्य बनाउने उमेर भनेको प्रारम्भिक तह अध्ययनकै बेला भएकाले विद्यार्थीको पढाइ, लेखाइ, सुनाइ र बोलाइको विकासमा टेवा पुर्‍याउन मेला आयोजना गरिएको मिक नेपालका अध्यक्ष भिउमान घर्तीले बताए ।


मेलामा शिक्षक तथा विद्यार्थीले स्थानीय सामग्री प्रयोग गरी बनाएका शैक्षिक सामग्रीको स्टल राखिएको थियो । विद्यार्थीले गीत, कवितालगायत सिर्जना पनि मेलामा सुनाएका थिए । जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर ओलीले मेलाबाट विद्यार्थी, शिक्षक र विद्यालयलाई ठूलो सिकाइ भएको बताए । सिकेका सीप आदानप्रदान गर्न, एकअर्कामा घुलमिल हुन र नयाँ तवरबाट सिक्न मेला महत्त्वपूर्ण भएको भनाइ उनको छ ।

प्रकाशित : मंसिर २२, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?