२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बोटमै बिक्छ सुन्तला

सुन्तला भण्डारण गर्न बनाइएको चिस्यान केन्द्र प्रयोगमा छैन । बोटमै ग्राहक पुग्न थालेपछि प्रयोगमा नआएको हो । तीन वर्षदेखि ग्राहक खोज्नुपरेको छैन । सुन्तला खोज्दै ग्राहक बोटसम्मै पुग्छन् ।
हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका १० खोलागाउँका रोशन रानाको आफ्नै चिस्यान केन्द्र छ । सुन्तला भण्डारणका लागि बनाइएको चिस्यान केन्द्र केही वर्षदेखि बेवास्तामा छ ।

बोटमै बिक्छ सुन्तला

सुन्तला बिक्री नभए भण्डारण गर्न भनेर बनाइएको चिस्यान केन्द्र बेवास्तामा पर्नुको कारण हो, बोटमै ग्राहक पुग्नु । रानाले तीन वर्षदेखि ग्राहक खोज्नुपरेको छैन । सुन्तला खोज्दै ग्राहक बोटसम्मै पुग्छन् ।


‘बनाएको चिस्यान केन्द्र पनि वास्ता नगर्दा भत्कनै थालेको छ,’ रानाले भने, ‘सुन्तला बोटबाटै बिक्री भएपछि चिस्यान केन्द्रको महत्त्व भएन ।’ हरेक वर्ष सुन्तलाको उत्पादन बढ्दै गए पनि बिक्रीमा समस्या भोग्नु नपरेको रानाले बताए । हरेक वर्ष सुन्तालको उत्पादन बढेसँगै आम्दानी पनि बढ्दै गएको छ ।


रानाका मात्रै होइन, त्यस क्षेत्रका अन्य किसानका सुन्तला पनि बोटबाटै बिक्री हुने गरेका छन् । स्थानीय छविलाल जैसी, कृष्ण जैसी, दीपक जैसीले उत्पादन गरेका सुन्तला पनि बोटबाटै बिक्री हुन्छन् । गाउँसम्म सडक पुगेपछि व्यापारी सुन्तला खोज्दै बोटसम्म आउने गरेको रानाले जनाए ।


उनले सुन्तलाबाट किसानले वर्षमा एक लाख सम्मको आम्दानी गर्ने गरेको जानकारी दिए । २० हजारबाट सुरु भएको सुन्तला किसानको आम्दानी एक लाखसम्म पुगेको भनाइ उनको छ ।


सुन्तला व्यापारीले स्थानीय बजारदेखि जिल्लाबाहिरसमेत लैजाने गरेका छन् । तुलनात्मक रूपमा अन्यत्रभन्दा सुन्तला पहिल्यै पाक्ने हुनाले पनि पहिलो लडमै सुन्तला बिक्री भइसक्ने कृष्ण जैसीले बताए । ‘अन्यत्र भन्दा हामीकहाँ भएका सुन्तला छिटो पाक्ने गरेको छ,’ उनले भने, ‘अन्यत्रको बजार आउनुभन्दा पहिल्यै हाम्रो सुन्तला सकिइसक्छ ।’


उनले पहिले पहिले डोकोमा बोकेर सुन्तला बजार पुर्‍याउने गरिएकामा केही वर्षयता गाडी गाउँमै पुग्ने हुनाले सजिलो भइरहेको जनाए ।


गाउँमा शान्ति स्थापना भएपछि मात्रै व्यावसायिक सुन्तला खेती थालिएको हो । सल्यानबाट सुन्तलाका बिरुवा ल्याएर लगाएका सुन्तला फल्न थालेका ६ वर्षजति भयो । पहिले लगाएका सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि अरू किसान पनि पछिल्लो समय सुन्तला खेतीमा आकर्षित भएका छन् ।


अघिल्लो पटक सुन्तला खेती थालेका किसानले सुन्तलाबाट आम्दानी लिन थालेपछि पछिल्लो समय खोलागाउँका अधिकांश ठाउँमा सुन्तला लगाइएको छ । सुन्तला उत्पादनको सम्भावना भएको सबै ठाउँमा सानादेखि ठूला बिरुवा हुर्किरहेका छन् ।

वडाध्यक्ष धरमबहादुर केसीले चिस्यान र उत्तर फर्केको भूगोलका कारण खोलागाउँका विभिन्न ठाउँमा राम्रो सुन्तला उत्पादन भइरहेको बताए । ‘सुन्तलाले राम्रो व्यापार गरेपछि सुन्तला खेतीमा आकर्षण बढेको छ,’ वडाध्यक्ष केसीले भने, ‘कतिपय किसानले सुन्तला खेती विस्तार गरेका छन् भने कतिले नयाँ व्यवसायको रूपमा खेती थालेका छन् ।’


चौरजहारी नगरपालिकाले किसानका उत्पादन आफैं किनिदिने भनेपछि किसान झन् हौसिएका छन् । कुनै पनि उत्पादन गर्नुपूर्व किसानले नगरपालिकामा आफूले उत्पादन गर्ने वस्तुको बारेमा जानकारी गराउनुपर्ने र त्यसको आधारमा सरकारले नै उत्पादन बिक्रीको व्यवस्था गर्ने नगपालिकाले जनाएको छ ।

प्रकाशित : मंसिर २३, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?