२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

आकासेपानीको भरमा खेती

मुगु — मुगमकार्मारोङ गाउँपालिकामा सिँचाइ सुविधा नहुँदा आकासेपानीका भरमा खेती गर्ने गरिएको छ । मुगु, कार्तिक, किम्री, पुवा, रिउस, दाउरा, ताखा, खारी, पुलु, मह, डोल्फुलगायत गाउँमा सिँचाइ सुविधा छैन ।

सिँचाइ अभावमा न्यून अन्न उत्पादन हुँदा स्थानीयलाई गुजारा चलाउन समस्या भएको छ ।


भिरालो र ढुङ्गे जग्गामा खेती गर्दा दु:खअनुसार उत्पादन नहुने गरेको स्थानीयको गुनासो छ । बर्सेनि खडेरी पर्ने गरेकाले गाउँमा खाद्यान्न समस्या हुने गरेको स्थानीयको भनाइ छ । अधिकांश बस्तीमा धानबाली फल्दैन । बाहिरबाट चामल बोकेर भात खानुपर्ने बाध्यता भएको स्थानीयले बताए ।


अधिकांश क्षेत्रमा चिनु, कागुनो, फापर, आलु र सिमी मात्र फल्ने गरेको छ । गाउँमा विकासभन्दा भोकको बढी चिन्ता हुने गरेको पुलु गाउँका टासी तामाङले दु:खेसो पोखे । सडक सुविधा नहुँदा पिठ्युँमा बोकेर खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।


जेठासे बालीमा उवामात्र उत्पादन हुने गरेको छ । भिरालो र ढुंगे जग्गामा बाली लगाउँदा कम फल्ने गरेको मह गाउँका उर्गिन तामाङले बताए । ‘खाद्य र बाहिर जिल्लाको अन्नको भरमा बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अनाज राम्रो फलाउने लोभले नियमित गोडमेल गर्ने र अन्नबालीलाई अधिकांश समय दिनुपर्ने बाध्यता छ तर अन्न राम्रो उत्पादन हुँदैन ।’


गाउँपालिकाको १२ वटै बस्तीमध्ये मुगु गाउँमा उवा र आलुबाहेक अरू अनाज फल्दैन । स्थानीयवासी तिब्बत र बाहिर जिल्लाबाट अन्न खरिद गरी जीविकोपार्जन गर्न बाध्य छन् । आफ्नै जग्गामा अन्न उत्पादन नहुँदा किनेर खानुपर्ने बाध्यता रहेको वडाअध्यक्ष कार्मा तामाङले बताए । जडीबुटी र तिब्बती व्यापारको लोभले स्थानीयले आफ्नो जन्मथलो छोड्न नसकेको उनको भनाइ छ ।

प्रकाशित : मंसिर २३, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?