२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

फलफूल व्यवसायले गाउँमै आत्मनिर्भर

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका ५, रातामाटाकी चन्द्रकला यरी उमेरले ६५ वर्ष लागिन् । एक छोरा र चार छोरीकी वृद्ध आमाको जोस अहिले पनि युवाजस्तै छ ।

फलफूल व्यवसायले गाउँमै आत्मनिर्भर

गाउँबाट डेढ घण्टा टाढा ल्याएर फलफूल बिक्री गर्नु उनको दैनिकी हो । गाउँमा मौसमअनुसारका फलफूल संकलन गरी सदरमुकाम ल्याएर बिक्री गर्दै उनी आत्मनिर्भर बनेकी छन् ।


छोरीहरू विवाह गरेर अन्यत्र गएपछि र छोरा जेल परेपछि उनले फलफूल व्यवसायमार्फत जीविकोपार्जन गरिरहेकी हुन् । छिमेकीले उत्पादन गरेको फलफूल खरिद गरी बजारमा ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ । परम्परागत खेती गरेर वर्षभरिको गुजारा चलाउन कठिनाइ भएकाले लामो समयदेखि उनले फलफूल बिक्रीलाई पेसा बनाएकी हुन् ।


उनले मौसमअनुसार विभिन्न फलफूल सदरमुकाम ल्याएर बिक्री गर्ने गरेको बताइन् । अहिले उनले सदरमुकाममा सुन्तला, हलुवाबेद, बदाम बिक्री गर्दै आइरहेकी छन् । दैनिक पाँच सय रुपैयाँसम्मको फलफूल बिक्री गर्दै आएको उनको भनाइ छ ।


‘फलफूल व्यवसाय नगदे भएकाले राम्रो फाइदा भइरहेको छ,’ उनले भनिन्, ‘मौसमअनुसारका फलफूल ल्याएर बाह्रै महिना बिक्री गर्दै आइरहेकी छु ।’ उनले प्रतिडोका एक सय ५० देखि दुई सय ५० रुपैयाँसम्म फाइदा हुने गरेको बताइन् । आफ्नो कमाइबाट आफू सन्तुष्ट भएको उनको भनाइ छ ।


लामो समयसम्म यही काम गरिरहेकाले स्वास्थ्यमा समस्या नहुने उनको भनाइ छ । उनले दैनिक ३०/३५ किलोसम्म फलफूल बिक्री गर्दै आइरहेको बताइन् । सरकारले दिंदै आएको सामाजिक सुरक्षा भत्ताबाट पनि आफूलाई केही राहत भएको उनको भनाइ छ ।


छोरा बलात्कारको आरोपमा जेलमा परेपछि घर खर्च आफ्नै कमाइले चल्ने गरेको उनको भनाइ छ । ‘त्यत्तिकै बस्नुभन्दा केही काम गरे दुई/चार रुपैयाँ आम्दानी हुन्छ,’ उनले भनिन्, ‘गाउँको फलफूलले पछिल्लो समय राम्रो भाउ पाउन थालेको छ ।’


यहाँका विभिन्न गाउँबाट महिलाहरू सदरमुकाम खलंगा आई फलफूल बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । जिल्लाका अधिकांश भागमा सुन्तला, जुनार, अम्बा, आलुबखडा, आप, केरा, हलुवाबेदलगायत फलफूल उत्पादन हुने गरेका छन् ।


सडक सुबिधा भएका ठाउँमा व्यापारी खरिदका लागि बारीमै पुग्ने भए पनि गाडी नपुगेका स्थानबाट डोकोमा बोकेर फलफूल विक्रीका लागि सदरमुकाम ल्याइने गरिएको छ । फलफूल बिक्रीबाट महिला पछिल्लो समय आत्मनिर्भर बन्दै गएका छन् ।

प्रकाशित : मंसिर २३, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?