कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सोरठी संरक्षणमा गाउँपालिका

विप्लव महर्जन

सल्यान — केही वर्ष अघिसम्म जिल्लामा सबैभन्दा लोकप्रिय नाच थियो, सोरठी । एक दशकअघि सोरठीसँगै सल्यानको मौलिक परम्परा र संस्कृति जोडिन्थ्यो । आधुनिक नृत्यको प्रभाव र पुस्तान्तरण नहुँदा ग्रामीण क्षेत्रमा समेत यो नाच लोप हुने अबस्थामा छ ।

सोरठी संरक्षणमा गाउँपालिका

त्रिबेणी गाउँपालिकाले भने सोरठी संरक्षणका लागि अभियान थालेको छ । गाउँपालिकाले सोरठीसहित लहरे, पैसरी, बन्गाडीलगायत नाच संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी अभियान थालेको हो ।


अभियानको पहिलो चरणमा त्रिबेणीका ६ वडाकै १५ समूहले परम्परागत नाँचमा प्रतिस्पर्धा गरेका छन् । लुहामस्थित तीर्थशालाथाममा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । स्थानीय सरकारले नाचसहित त्यसमा प्रयोग हुने बाजागाजा र गीतसमेत संरक्षण गर्ने जनाएको छ ।


गाउँपालिकाले मौलिक नाच संरक्षण गर्न आयोजना गरेको सांस्कृतिक कार्यक्रममा आफूले धेरै वर्षपछि नाच देखाउने अबसर पाएको पिमखोलाका सोरठी नाचका अगुवा ७५ वर्षीय लिलाधर ओलीले बताए । ‘पहिले यही नाचसँग हाम्रो जिल्लाको चिनारी जोडिएको थियो,’ उनले भने, ‘शान्ति स्थापनासँगै सञ्चारको तीब्र विकासले नाच लोप हुने अबस्थामा पुग्यो ।’


उनका अनुसार कृष्ण र गोपिनीमा आधारित रहेर सोरठी नाच नाचिन्छ । उनले दुई दशक अघिसम्म गाउँघरमा आयोजना हुने विभिन्न मेला, पर्व, बिबाह, चाडपर्वलगायतमा यो नाच अनिवार्यजस्तै रहेको बताए ।


जिल्लाभित्र पिमखोला सोरठी नाचका लागि उद्गमथलो मानिन्छ । स्थानीय अगुवा चन्द्रबहादुर ओलीले सोरठीमा मारुनीले घाँगर, चोली, पटुका, रुमाल, केतुकीको कपाल, चुरापोते र टिका लगाउने गरेको बताए ।


उनका अनुसार पुरुषले दौरासुरुवाल, स्टाकोट, कम्पनी माला र शिरमा सेली पहिरिएर नाच्ने गर्छन । पैसरी नाचका नाईके ७५ वर्षीय बिष्णुबहादुर बुढाले धेरै वर्षपछि नाच्न पाइएको बताए । आधुनिक बाजा, गीत र नृत्यका कारण पैसरी नाच लोप हुँदै गएको उनको भनाइ छ । पैसरी र लहरे नाच मगरको मुख्य नाच हो । उनका अनुसार मगर भाषामा ‘पै’ को अर्थ काठको कोशीको बिट र ‘सरी’ को अर्थ गोलो हुने भएकाले गोलाकार भएर नाच्ने गरिन्छ ।


यसलाई स्थानीय भाषमा ढिकुरे नाच पनि भनिन्छ । पैसरीका अर्का अगुवा धनवीर ओलीले नयाँ पुस्ताले सिक्न नचाहेका कारण परम्परागत नाच र गीत लोप हुने अवस्थामा पुगेको बताए । उनले युवा पुस्ताले नाच सिक्न चाहेमा जिल्लाका जुनसुकै ठाउँमा गएर पनि सिकाइने बताए ।


गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले मौलिक नाच संरक्षणका लागि स्थानीय सरकारको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको जनाए । ‘संरक्षणका लागि नियमित रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ,’ उनले भने, ‘अभियानमार्फत मौलिक नाच संरक्षणमा सबैलाई जागरुक बनाइनेछ ।’ शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले मौलिक नृत्यको संरक्षण गर्न जिल्लाका १० वटै स्थानीय तहको सक्रियता आवश्यक रहेको जनाए ।

प्रकाशित : मंसिर २४, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?