कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिकमा निजीको पाठ्यपुस्तक

सामुदायिकमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको छ भने शैक्षिक क्षेत्रमा सुधार ल्याएर विद्यालयलाई नमुना बनाइँदै लगिएको छ 
हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–११ स्थित हिमालय माध्यमिक विद्यालयमा आधारभूत तहमा निजीको पाठ्यपुस्तकबाट पठनपाठन भइरहेको छ । विद्यालयमा १ देखि १२ कक्षासम्म पठनपाठन हुन्छ । 

तर, विद्यालय दुई ठाउँमा सञ्चालित छ । चौफामा ६ देखि १२ कक्षा पठनपाठन हुन्छ भने टाटामा १ देखि ५ कक्षासम्म पठनपाठन हुन्छ । टाटास्थित आधारभूत तह (१ देखि ५) मा निजी विद्यालयका कोर्स पढाउन थालेको चार वर्ष भयो ।


जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर निजी विद्यालयमा पढाइने पाठ्यपुस्तक पढाउन थालेको विद्यालयले जनाएको छ ।


हिमालय माविको आधारभूत तहका इन्चार्ज कृष्णबहादुर ओलीले विद्यार्थीको पढाइ सुधार्न अंग्रेजी माध्यम सुरु गरेको बताए ।


सुरुको वर्ष साझा प्रकाशनले सामुदायिक विद्यालयकै लागि छापेका अंग्रेजी पाठ्यपुस्तक पठनपाठन गराइए पनि पछिल्लो वर्षदेखि निजी स्कुलका लागि बनाइएका पाठ्यपुस्तक पढाउन थालेको उनको भनाइ छ ।


निजी स्कुल खुल्न थालेपछि विद्यार्थीको आकर्षण निजीमै देखिएपछि सामुदायिक विद्यालयलाई चुनौती थपिएको थियो ।


आधारभूत तह सञ्चालन गरिएको ठाउँमै दुई निजी स्कुल सञ्चालनमा आएपछि विद्यार्थी ह्वात्तै घटेको प्रधानाध्यापक भीमबहादुर ओलीले बताए । ‘पहिला पनि राम्रै विद्यालयमा गनिने हाम्रो विद्यालय निजी स्कुलका कारण विद्यार्थीविहीन बन्ने स्थितिमा पुग्यो,’ प्रअ ओलीले भने, ‘एक वर्ष अंग्रेजी माध्यममा पढाएपछि अर्को वर्षदेखि बोर्डिङ स्कुलको लागि बनाइएको पाठ्यपुस्तक पढाउन थाल्यौं ।’ विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पाठ्यपुस्तकको व्यवस्था विद्यालय आफैंले गर्छ ।


१ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक खरिदमा तीन लाख रुपैयाँ खर्च हुने गरेको प्रअ ओलीले बताए । विद्यालयमा एक सय ५३ जना विद्यार्थीले पठनपाठन गरिरहेका छन् । १५ जनामा सीमित भएपछि विद्यालयले शैक्षिक अवस्था सुधार्न अंग्रेजी माध्यममा पढाउन सुरु गरेको थियो । अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको वर्ष ७५ जना विद्यार्थी भर्ना भएको उक्त विद्यालयमा अर्को वर्षदेखि एक सय २० बढी विद्यार्थी भर्ना भएका थिए ।


सामुदायिक विद्यालय अंग्रेजी माध्यममा पठनपाठन गरेर शैक्षिक गुणस्तरमा सुधार गर्दै लिएको विद्यालयलाई नमुना बनाउन सुरु गरिएको छ । चौरजहारी नगरपालिका, एकीकृत परियोजनाको सबैका लागि पढाइ कार्यक्रम र विद्यालय लागेर विद्यालयलाई नमुना बनाउन लागिएको हो ।


विद्यालयलाई नमुना बनाउनका लागि नगरपालिकाले सुरुको चरणमा १० लाख आर्थिक सहयोग गरेको छ । सबैका लागि पढाइ कार्यक्रमले विद्यालयको ५ वटै कक्षामा बसाइ व्यवस्थापन, राउण्ड टेबल, शौचालय मर्मत, घेराबार निर्माण, १ देखि ३ कक्षामा बुक कर्नर स्थापनालगायत कार्यमा ६ लाख रुपैयाँ सहयोग गरेको छ ।


बालबालिकाको पढाइ राम्रो भएपछि मात्रै अरू सम्भव हुन्छ भन्ने उद्देश्यले हिमालय माविको आधारभूत तहमा सहयोग गरिएको सबैका लागि पढाइ कार्यक्रमका संयोजक केशवकुमार बिसीले बताए ।

प्रकाशित : मंसिर २५, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?