बालुवाले धान्छ जीवन

करिश्मा चौधरी

सुर्खेत — लेकबेंसी नगरपालिका–१, का ६६ वर्षीय वीरबहादुर खड्का बिहानको खाना खाएर दैनिक रातेखोला पुग्छन् । खोलाबाट बालुवा निकाल्छन् । १० वर्षदेखि उनको दैनिकी यसरी नै चलिरहेको छ । उनलाई ५८ वर्षीया पत्नी विर्माले सहयोग गर्छिन् ।

खड्का दम्पती मात्र होइन, लेखफर्साका ५० बढी स्थानीयको दिनचर्या यसरी नै चलिरहेको छ । गाउँ नजिकैको खोलाबाट निकालेको बालुवाले वर्षौदेखि उनीहरूको जीवन धानिएको हो । ‘विगतका १० वर्षमा धेरै परिवर्तन भए,’ वीरबहादुरले भने, ‘तर हाम्रो जीविकोपार्जनमा परिवर्तन आएन, खोलाकै बालुवा निकालेर घरपरिवार चलाइरहेका छौं ।’


खड्का दम्पतीले दिनभरि बालुवा निकाल्दा तीन चार दिनमा एक ट्याक्टर पुग्ने बताए । एक ट्याक्टर बालुवा आठ सयदेखि एक हजार रुपैयाँमा बिक्री हुने गरेको छ । ‘दुईजनाले चार दिन लगाएको कामको निकै थोरै मूल्य पाउँछौँ, हाम्रा लागि अरू विकल्प पनि छैन,’ बिर्माले भनिन्, ‘यो उमेरमा दिनभरि एकनास बालुवा निकाल्नुपर्ने बाध्यता छ ।’


हातपाखुरा चल्ने बेलासम्म पेट पाल्नुपर्ने बाध्यता रहेको बताइन् । यहाँका अधिकांश स्थानीयबासीले रातेखालालाई नै कर्मथलो बनाएका छन् । खोलामा बालबालिकादेखि वृद्धसम्मको दैनिक भीड लाग्छ । एक घरबाट चार जनासम्मले बालुवा निकाल्ने गरेका छन् । गरिबीका कारण बालुवा निकालेर जीविकोपार्जन गरिरहेको उनीहरूको भनाइ छ ।


असोजमा बालुवा संकलन खुलेदेखि असारमा बन्द नहुन्जेलसम्म आफ्नो पेट पाल्ने बाटो रातेखोलाको बालुवा बनेको बताउँछिन् स्थानीय सुनिता टमाटा । सुनिता दिनभरि बालुवा निकाल्नमै व्यस्त हुन्छिन् । एक ट्याक्टर बालुवा जम्मा पार्न उनलाई पाँच दिन लाग्छ ।


टमाटाका पति ज्याला मजदुरी गर्न बाहिर जान्छन् । गाउँमा मजदुरीको काम धेरै नपाइने भएकाले रातेखोलाको बालुवा निकाल्ने काम गरिरहेको उनले बताइन् । ‘सात जनाको परिवार छ, श्रीमान्को कमाइले मात्रै धान्न गाह्रो भएपछि केही खर्च जुटाउन आफैंले पनि बालुवा निकाल्छु,’ उनले भनिन्, ‘बल्लबल्ल जम्मा पारेको बालुवा पनि बेच्न गाह्रो छ ।’


अलिअलि भए पनि छोरीहरूको कापी कलम र नुनतेलको खर्च जुटाउन बालुवा बिक्रीले सजिलो भएको उनको भनाइ छ । अरूको घर बनाउनका लागि बालुवा निकाले पनि आफूहरूलाई सधैं छाक टार्ने चिन्ता हुने उनले गुनासो गरिन् ।


७० वर्षीया मनरूपा टमाटालाई पनि बालुवा ननिकाले घरको जीविका कसरी चलाउने भन्ने चिन्ता छ । यो उमेरमा पनि उनी निकै मेहनती छन् । उनी आफ्नै धुनमा बालुवा निकाल्न व्यस्त हुन्छिन् । ‘बालुवा ननिकाल्नुको विकल्पै छैन,’ उनले भनिन्, ‘काम नगरी खान पनि गाह्रो हुने ।’ उनले बिरामी भएको अवस्थामा बाहेक अरूबेला सधैं बालुवा निकाल्न खोलामा आउने गरेको बताइन् ।

प्रकाशित : मंसिर २६, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?