कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयोनुनले गर्भजाँच नियमित

बिप्लब महर्जन

सल्यान — त्रिवेणी गाउँपालिकाले गर्भवतीलाई आयोडिनयुक्त नुन वितरण गर्न थालेपछि नियमित गर्भजाँच गराउने बढेका छन् । गर्भवतीले स्वास्थ्य संस्थामा प्रत्येक पटकको गर्भजाँच गराउँदा गाउँपालिकाले एक किलो आयोडिनयुक्त नुन दिन थालेको हो । 

महिलाले गर्भजाँच गराउने क्रम बीचैमा छोड्ने गरेकाले आयो नुन वितरण कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार स्वास्थ्य संस्थामार्फत नुन उपलब्ध गराउँदै आइएको छ । अहिले चार पटक गर्भजाँच गर्ने महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको गाउँपालिकाको स्वास्थ्य शाखा इन्चार्ज प्रभातकुमार श्रेष्ठले बताए ।

उनका अनुसार गत वर्षसम्म करिब ४३ प्रतिशत गर्भवती महिलाले मात्रै स्वास्थ्य संस्थामा चार पटक जाँच गराउँदै आएका थिए । अहिले यो दर बढेर ८२ प्रतिशत पुगेको छ ।

गत आवमा दुई सय २० जना महिलाले स्वास्थ्य संस्थामै आएर चार पटकसम्म गर्भजाँच गराएका थिए । गत वर्ष गर्भजाँच गराउन आएकालाई गाउँपालिकाले एक हजार ४० किलो आयोडिन नुन वितरण गरेको उनको भनाइ छ ।

‘विगतका वर्षमा शिक्षित परिवारका महिलाले मात्र चार पटक गर्भजाँच गराएको पाइन्थ्यो,’ उनले भने, ‘भौगोलिक विकटताका कारण गर्भवतीले एक/दुई पटकमात्र गर्भजाँच गराएर छाड्ने गरेको थिए ।’ उनका अनुसार कतिपय महिलाले गर्भजाँचमा बेवास्ता गर्ने गरेका थिए ।

विगतमा अशिक्षा र स्वास्थ्यसम्बन्धी चेतनाको अभावका कारण यहाँका महिलामा नियमित गर्भजाँच नगराउने समस्या थियो । यहाँका अधिकांश गाउँमा ढिकेनुनको प्रयोग बढी छ । आयोडिनयुक्त नुनको प्रयोग बढाउन पनि कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले कार्यक्रम सुरु गरेपछि गाउँमा आयोडिनयुक्त नुनको प्रयोग बढेको त्रिवेणी गाउँपालिका–६, की गीता केसीले बताइन् । आयोडिनको मात्रा कम भएर जन्मिएका बालबालिकामा कुपोषणका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गरेका थिए ।

नवजात शिशु र मातृ मृत्युदर कम गर्न गाउँपालिकाले सुत्केरी प्रोत्साहनस्वरूप पाँच सय रुपैयाँ नगद र न्यानो झोला वितरण कार्यक्रमसमेत लागू गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले एक महिनाभित्रै एम्बुलेन्स सेवा सुरु गर्न पहल थालेको जनाए । गाउँपालिका भित्रका स्थानीयबासीको स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाउन एम्बुलेन्स खरिद गर्न लागेको उनको भनाइ छ ।

उनले गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिंदै सुधारका लागि विभिन्न योजना अगाडि सारिएको जनाए ।

बालबालिका र गर्भवती महिलालाई कुपोषणको समस्या हुन नदिन यो कार्यक्रम लागू गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताए । उनले कार्यक्रम निरन्तर लागू गरिने जानकारी दिए ।

उनका अनुसार यो कार्यक्रम लागू भएपछि सबै गर्भवती महिला स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुन थालेका छन् । उनले गाउँपालिकामा एक वर्षयता नवजात शिशु तथा मातृ मृत्युदर शून्यमा झरेको दाबी गरे ।

प्रकाशित : मंसिर २६, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?