खैराबाङ भगवती मन्दिरमा नयाँ मूर्ति स्थापना

 आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य
बिप्लब महर्जन

सल्यान — जिल्लाको मुख्य तीर्थस्थल तथा पर्यटकीयस्थलको रुपमा परिचित खैराबाङ् भगवती मन्दिरमा पित्तलको नयाँ भगवतीको मूर्ति स्थापना गरिएको छ । मन्दिरमा मूर्ति भएपनि पहिलेकै मूर्तिको रुवरुप झल्को दिन नयाँ मूर्ति स्थापना गरिएको हो । 

खैराबाङ भगवती मन्दिरमा नयाँ मूर्ति स्थापना

मूर्तिसँगै ठूलाठूला दुईवटा बाघपनि राखिएको छ । मूर्तिलाई गाडीमा राखेर श्रीनगरबाट खलंगा–सेजवालटाकुरा बजार परिक्रमा गराईएको थियो । बजार परिक्रमा गराउने क्रममा मार्के हिवल्चा घुमाउदै खैराबाङ भगवती मन्दिरमा पुर्याइएको थियो । भगवती मन्दिरको मूर्तिको स्थापना शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले गरेका हुन् ।


तीर्थस्थलको लागि जिल्लाकै मुख्य धरोहर मानिने भगवती मन्दिरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न र देश विदेशका पर्यटक भित्र्याउने उद्देश्यका साथ मन्दिरको स्वरुप बदल्दै लगेको मन्दिर संरक्षण समितिका अध्यक्ष छविरमण शर्माले बताए । मन्दिरलाई व्यवस्थित गर्दै लैजान थालेको उनले जानकारी गराए ।


खैराबाङ भुवनेस्वरी धार्मिक विकास समितिले मन्दिरबाट उठेको रकम र चन्दादाताले दिएको रकमबाट मूर्ति र बाघ किनेको अध्यक्ष शर्माले बताए । भगबतीको मूर्तिलाई १ लाख ५ हजार र दुईवटा बाघलाई ४ लाख ५० हजार परेको उनले जानकारी गराए ।


उनले भने,‘मन्दिरमा रहेका पुराना मूर्ति २०३४ सालमा चोरी भएपछि सामान्य मूर्ति राखेर पुजाआजा गरिरहेका थियौ । चोरी भएको मूर्तिको प्रतिमूर्ति बनाएर देवीको मन्दिरमा स्थापना गरेका हौँ । सुरक्षाको व्यवस्था भएमा मन्दिरमा रहेको गहना देवीको अंगअंगमा लगाउने तैयारी गरेका छौँ ।’


यस्तो छ मन्दिरको इतिहास

मन्दिर भएको ठाउँ पहिला गाईबाख्रा चराउने जंगल रहेको र जंगलमा चराउन लगेका पशुचौपाया दैनिक हराउन थालेपछि खोजतलास गर्दा एक तान्त्रिकले त्यहाँ एउटा ठूलो प्वाल छ, त्यहाँ देवी बस्छिन् ।


मन्दिरको आवश्यकता छ भनेपछि मन्दिर बनाएर पूजाआजा गर्न थालिएको जनविश्वास रहेको उनले जानकारी गराए । विस १४८० देखि मन्दिरमा पूजाआजा सुरु गरेको किम्बदन्तीमा उल्लेख छ । भगवती मन्दिरमा मागेको पुरा हुने धार्मिक मान्यता रहेकाले नेपालगन्ज , दाङ, जाजरकोट, सुर्खेत, बर्दिया, रुकुम , रोल्पाबाट मात्र नभई भारतका केही ठाउँबाट भक्तजनहरु आउने गरेका छन् ।

प्रकाशित : मंसिर २६, २०७५ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?