कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पिली युद्ध पर्यटकीय क्षेत्र : बजेट कार्यान्वयनमा अलमल

तुलाराम पाण्डे

पिली, कालिकोट — सशस्त्र द्वन्द्वको अन्तिम फौजी आक्रमणको निशाना बनेको पिली कोपडाँडालाई सरकारले युद्ध पर्यटकीयस्थल बनाउने घोषणासँगै विनियोजन गरेको डेढ करोड बजेट कार्यान्वयनमा अलमल भएको छ ।

प्रदेश सरकारमार्फत खर्च हुने गरी योजना पुस्तिकामा पिलीमा भ्यु टावर, युद्ध संग्रहालय बनाउन विनियोजन गरेको बजेटबारे स्थानीय तह अनभिज्ञ छ ।


‘बजेट डेढ करोड छ भन्छन्, कहाँ कसरी खर्च हुने हो, केही थाहा छैन,’ खाडाचक्र ७ का वडाध्यक्ष रजबहादुर मल्लले भने, ‘प्रदेश सरकारमार्फत खर्च हुने भन्ने सुनिएको छ, आधिकारिक जानकारी केही आएको छैन ।’ उनले कर्णालीको रारा, चन्दननाथ, सिंजालगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर वडाले होमस्टेको लागि पिली गाउँमा तयारी गरेको जानकारी दिए ।


तत्कालीन शान्तिमन्त्री एवं माओवादी नेता जनार्दन शर्माले दुई वर्षअघि पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउने घोषणा गर्दै संग्रहालयसहितको म्युजिक बनाउने घोषणाअनुसार सरकारले यस वर्ष केही बजेट विनियोजन गरेको छ । घोषणा गरेको दुई वर्षपछि विनियोजन भएको बजेट पनि न्यून भएको पूर्वगाविस उपाध्यक्ष एवं नेकपाका नेता पुत्रबहादुर मल्लले बताए ।


कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकसँग जोडिएको पिलीलाई युद्ध पर्यटकीय गाउँका रूपमा विकास गर्दै समृद्धिका लागि गुरुयोजनासहित बृहत् कार्यक्रमको आवश्यकता रहेको खाडाचक्र नगरप्रमुख जसीप्रसाद पाण्डेले बताए । त्यसका लागि नगरले पनि पिलीको विकासलाई प्राथमिकतामा राख्दै कृषि सडक, खानेपानी, वृक्षरोपणलगायतका काममा सहजीकरण गरिरहेको बताए ।


गत वर्षको असोजमा हेलिकप्टरमा पिली पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउने सरकारमार्फत अभियान पूर्वाधारसहितका काम गर्ने बचन दिएका थिए ।


पिलीलाई युद्ध पर्यटकीय क्षेत्र बनाउन यसअघि पनि दाहा गाउँ परिषद् हुँदै जिल्ला परिषद्बाट सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको पूर्वसंविधानसभा सदस्य तुलाराज विष्टले बताए । उनका अनुसार तत्कालीन दाहा गाविसले ३ पटक गरी ७९ हजार विनियोजन गरी होर्डिङबोर्ड, सेनाले बनाएको स्मारकको मर्मत सुधार गरे पनि हाल जीर्ण भइसकेको छ ।


कर्णाली राजमार्ग निर्माणमा आएको सेनाको कार्य दलमाथि ०६२ साउन ३२ गते माओवादी आक्रमणमा परी ६२ सेनासहित ७५ जनाले राज्य पक्षबाट ज्यान गुमाए भने २६ जना माओवादीले ज्यान गुमाएका थिए । ६० जान अपहरण गरी लगेको पिलीमा दुवै पक्षका गरी घाइते हुनेको संख्या २ सय बढी छ ।


युद्धमा ज्यान गुमाएका तत्कालीन शाही नेपाली सेनाका अधिकृत तथा जवानका परिवार पनि पिलीबारे कर्णाली राजमार्ग हुँदै बुझ्न आउने गरेको स्थानीय देउकला मल्लले बताइन् । उनी आफैं पनि द्वन्द्वपीडित महिला पनि हुन् ।


नयाँ संरचनामा खाडाचक्र नगरपालिका वडा नं. ७ मा पर्ने पिलीलाई युद्ध पर्यटकीय गाउँका रूपमा विकास गर्ने वाचा तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले अढाई वर्षअघि पिली पुगेर प्रतिबद्धता जाहेर गरेका थिए ।


माओवादी युद्धमा चर्चित बनेको पिली कोपडाँडास्थित सहिद स्मारक जीर्ण छ । तत्कालीन शाही नेपाली सेनाको क्याम्प रहेको कोपडाँडाका पूरै घरटहरा भत्किएका छन् । सुरक्षाका लागि खनिएका बंकर अधिकांश पुरिएका छन्, केही भएका पनि पिरे झार उम्रिएर नदेखिने अवस्थामा पुगेका छन् ।


पिलीवासीले कोपडाँडाबाट क्याम्प पुग्ने सिँढीसहितको बाटो, बंकर, टनेल, घरटहराको संरक्षण, भ्यु टावरको निर्माणलगायतका योजना बनाएका छन् । स्थानीयले गाउँलाई सरसफाइउन्मुख गाउँ बनाउन पहल गरेका छन् । ५ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ ।

प्रकाशित : मंसिर २७, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?