कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फस्टाउँदै दुनाटपरी व्यवसाय

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — वीरेन्द्रनगरस्थित रामजानकी दुनाटपरी उद्योगमा कार्यरत ११ महिलालाई अहिले कामको भ्याइनभ्याइ छ । माग बढ्दै गएपछि उद्योगमा कार्यरत महिला बिहानदेखि साँझ अबेरसम्मै व्यस्त हुने गरेका छन् ।

वीरेन्द्रनगर र आसपासका व्यापारिक केन्द्रमा माग बढेपछि दुनाटपरी उद्योग फस्टाउँदै गएको हो ।

मंसिर महिना विभिन्न धार्मिक कार्यको सिजन भएकाले उद्योगमा काम गर्ने महिलाको व्यस्तता बढेको छ ।


उद्योगकी अध्यक्ष नन्दा गुरुङ पनि व्यवस्थापकीय काममा अहिले निकै व्यस्त छिन् । ‘विवाह, व्रतबन्धलगायत विभिन्न धार्मिक संस्कार यो महिना धेरै हुने गरेकाले दुनाटपरीको माग अहिले धेरै छ,’ उनले भनिन्, ‘स्थानीयस्तरमै माग पुर्‍याउन अहिले भ्याइनभ्याइ भइरहेको छ ।’ उनका अनुसार उद्योगमा आर्थिक अवस्था कमजोर भएका महिलाको संख्या धेरै छ । माग बढ्दै गएपछि काम गर्नेको संख्यासमेत बढेको गुरुङको भनाइ छ ।


विभिन्न धार्मिक कार्यमा दुनाटपरीको माग बढ्दै छ । दुनाटपरी उत्पादनबाट आएको रकमले महिला आत्मनिर्भर बन्दै गएका छन् । उद्योगमा दुई पुरुषले समेत रोजगारी पाएका छन् । गाउँमै उद्योग खुलेपछि आसपासका बासिन्दालाई समेत सजिलो भएको छ ।


वीरेन्द्रनगर १२, की अनिता थापाले उद्योगमै एक साताअघि एक हजार दुनाटपरीको अर्डर गरेकी थिइन् । ‘यसअघि विभिन्न कामका लागि चाहिने दुनाटपरी बाहिर जिल्लाबाट मगाउनुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘गाउँमै मेसिनमार्फत दुनाटपरी उत्पादन भएपछि त्यो बाध्यताको अन्त्य भएको छ ।’ उनका अनुसार परम्परागत र हातले निर्माण गरेका भन्दा मेसिनबाट उत्पादित दुनाटपरी आकर्षक र टिकाउ हुने गरेका छन् ।


विपन्न परिवारलाई उद्योगमा काम गर्न थालेपछि घरखर्च कटाएर पनि समूहमा बचत गर्नसमेत सजिलो भएको छ । उद्योगले स्थानीय सामुदायिक वनसँग १० वर्षका लागि सम्झौता गरेर जंगलबाट पात संकलन गर्दै आएको छ । जंगलमा संकलन भएको सालको पातबाट उद्योगले विभिन्न आकारका दुनाटपरी उत्पादन गरिरहेको छ ।


उद्योगले उत्पादन गरेका दुनाटपरी जिल्लाका विभिन्न स्थानका साथै म्याग्दी, कोहलपुर, कालिकोटलगायत ठाउँमा जाने गरेको अध्यक्ष गुरुङले बताइन् । यो सिजनमा स्थानीयस्तरमै मागअनुसार पुर्‍याउन मुस्किल मुस्किल भएको उनले जानकारी दिइन् । दुनाटपरीको माग चाट पसल र होटलहरूमा समेत धेरै छ ।


ग्राहक उद्योगमै आउने गरेकाले बजारको समस्या नभएको उद्योगले जनाएको छ । उद्योगले दैनिक सात हजार थान दुनाटपरी उत्पादन गर्दै आइरहेको छ । २०७१ सालमा उद्योग स्थापना गरिएको हो ।


उद्योगमा काम पाएपछि आफैंले घरखर्च चलाउने गरेको स्थानीय हरिकला रम्तेलले बताइन् । ‘पतिको कमाइले मात्र घर खर्च चलाउन निकै समस्या गरेको थियो,’ उनले भनिन्, ‘अहिले घरखर्च मेरै कमाइले चल्छ, मासिक रूपमा केही रकम बचतसमेत गर्दै आइरहेकी छु ।’


आफै आम्दानी गर्न थालेपछि सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन आएको उनको भनाइ छ । जुम्लाकी कलमदरी बुढाले उद्योगमा काम गरेबापत मासिक ९ हजार रुपैयाँसम्म कमाउँदै आएको बताइन् । ‘आफ्नो खर्चका लागि अरूसँग हात थाप्नु नपर्ने भएको छ,’ उनले भनिन्, ‘आजभोलि आफ्नै कमाइले घर खर्च चलेको छ ।’


सुरुमा उद्योग फस्टाउन धेरै समस्या आएको संस्थाकी सदस्य ज्ञानु अधिकारीले बताइन् । उनका अनुसार अहिले उद्योगले राम्रो मुनाफा गर्दै गएको छ । डिमेगाले भवनसँगै दुईवटा मेसिन उपलब्ध गराएपछि उद्योग फस्टाउँदै गएको उनको भनाइ छ ।

प्रकाशित : मंसिर २७, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?